गाउँ सहर

आज भूकम्प सुरक्षा दिवस, विभिन्न ठाउँमा भूकम्पबाट बच्ने तरिका प्रदर्शन गरिंदै

काठमाडौं । आज भूकम्प सुरक्षा दिवस मनाइँदै छ ।

आज भूकम्पसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेर २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन लागिएकाे हाे ।

सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न दिवस मनाउन लागिएको हो ।

यस वर्ष ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागिएको छ ।

भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र संघसंस्थाले दिवसलाई जागरण फैलाउन दिनका रूपमा मनाउने गर्छन् ।

चन्द्रागिरि नगरपालिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भूकम्प दिवसको औपचारिक समारोह आयोजना हुने गृहमन्त्रालय मातहतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

त्यहाँ भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउने भन्नेबारे प्रदर्शनी गरिनेछ ।

विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार विस १९९० को भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो । ८० हजार घर ध्वस्त भएका थिए । ध्वस्तघरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएको थियो।

यसैगरी विसं २०७२ बैशाख १२ गतेको गोरखाभूकम्पमा परी आठहजार छ सय ७० जनाको निधन भएको थियो भने सातलाख भन्दा वढी आवासमा क्षति पुगेको थियो । हालसालै जाजरकोटमा गएको भूकम्पले पनि मानवीय र भौतिक क्षति गरेको थियो ।तस्बिर-नेष्ट

गाउँ सहर संवाददाता

तपाईँको मत