गाउँ सहर

‘लिटिल बुद्ध’ भनी प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जन यसरी परे पक्राउ

काठमाडौं । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

कडायतले भने, “विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट आज साँझ ७ बजे पक्राउ गरेको हो ।” बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो । 

पछिल्लो समय सीआईबीले बम्जनको खोजीका लागि छुट्टै टिम परिचान गरेको थियो । त्यही टोलीले केही शंकास्पद मानिस र उनीसँग नजिकका मानिसको निगरानी गर्‍यो ।

सीआईबी स्रोतका अनुसार उनी एक हप्ता अघिमात्रै काठमाडौंको बूढानीलकण्ठ छिरेको सूचना प्रहरीले पाएको थियो । त्यही सूचनाको आधारमा सीआईबीको टोलीले बूढानीलकण्ठ क्षेत्रको शंकास्पद क्षेत्र नै निगरानीमा राख्यो ।

मंगलबार साँझ भने सीआईबीको टोलीले उनी बसेको आशंका गरेको घरमा छापा मारेर नियन्त्रणमा लिएको हो । सीआईबीको टोलीले छापा मारेको चाल पाउना साथ घरको झ्यालबाट हाम फालेर भाग्ने प्रयास गरेका थिए । त्यही बेला उनी पक्राउ परेका हुन् ।

कुनै बेला ‘लिटिल बुद्ध’ भनी प्रचारित बम्जन पाँच वर्षदेखि गुमनाम थिए ।

उनी सम्पर्कविहीन भएपछि उनको खोजीमा सीआईबीको टोली ४ असार २०७७ मा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको थियो । तर, त्यो बेलासमेत प्रहरी रित्तो हात फर्किन बाध्य भयो ।

बम्जनले सिन्धुलीको कमलामाई नगरपालिका– ८, पैरेनीस्थित २० रोपनीभन्दा बढी क्षेत्रफलभित्र सुविधासम्पन्न आश्रम बनाएका थिए । आश्रमभित्र आफ्ना लागि छुट्टै दरबार समेत निर्माण गरेका थिए ।

बम्जनको आश्रममा छिरेका प्रहरी अधिकारीका अनुसार, उनले आफ्ना लागि आश्रमभित्र स्वीमिङ पूल, जिमखानादेखि अन्य धेरै निजी सुविधा सम्पन्न हल निर्माण गरेका थिए । आश्रमका चारै नाकामा उनले निजी सुरक्षा चेक पोस्टसमेत राखेका थिए । 

बम्जनमाथि पहिलोपटक सर्लाही अदालतले २०७६ माघमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता उनी फरार भएर बसेका थिए ।

पक्राउ गर्न नसकेपछि प्रहरीले २१ असार २०७७ मा उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सर्लाही जिल्ला वकिल कार्यालय हुँदै जिल्ला अदालत टेकाइसकेको छ ।

यसअघि उनको खोजीमा सीआईबीको टोली ४ असार २०७७ मा तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको थियो । बम्जनले सिन्धुलीको कमलामाई नगरपालिका–८, पैरेनीस्थित २० रोपनीभन्दा बढी क्षेत्रफलभित्र सुविधासम्पन्न आश्रम बनाएका छन् ।

उनीमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ । त्यही आरोपको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी दिएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत