गाउँ सहर

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाल बाल संगठनको नक्सालस्थित २८ रोपनी ५ आना १ पैसा जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

अनाथ र सहाराबिहीन बालबालिकाका लागि सरकारले जोहो गरिदिएको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने पूर्वपदाधिकारीदेखि त्यो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने व्यापारिक घरानाका सदस्यसमेतका नाममा पक्राउ पुर्जी जारी गरिएको हो।

बिहीबार काठमाडौं जिल्ला अदालतले बाल संगठनका तत्कालीन पदाधिकारी, सम्झौतामा जोडिएका साक्षी र बाल संगठनबाट जग्गा लिजमा लिएर बृहस्पति स्कुल सञ्चालन गरिरहेको व्यवापारिक घराना विशाल ग्रुपका सदस्यहरुविरुद्ध पक्राउ पुर्जी जारी ग्रेको छ । उनीहरूविरूद्ध बाल संगठनले मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा जाहेरी दिएको थियो।

त्यसकै आधारमा सीआईबीले उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गर्न बिहीबार नै अदालतसमक्ष अनुमति मागेको थियो।

बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह, पूर्वपदाधिकारीहरू तुलसीनारायण सिंह, गणेशभक्त श्रेष्ठ, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

त्यस्तै गोपाल श्रेष्ठ, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ लाई पनि पक्राउ गर्न पुर्जी जारी भएको छ ।

वृहस्पति स्कुलका पूर्वसञ्चालकहरू चिरञ्जीवी तिवारी, प्रविणराज जोशी र मुरारी निधी तिवारीविरुद्ध पक्राउ पुर्जी जारी भएको ।

बालमन्दिरको तर्फबाट आज बिहीबार नै सीआईबीमा जाहेरी परेको थियो । २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो ।

यो जग्गा प्रकरणबारे सीआईबीले यसअघि पनि सूक्ष्म रूपमा अनुसन्धान अघि बढाएको थियो । सीआईबीको अनुसन्धानमा समेत जग्गा दुरुपयोग गरिएको खुले पनि औपचारिक रूपमा जाहेरी नपरेकाले मुद्दा प्रक्रिया अघि बढेको थिएन ।

गाउँ सहर संवाददाता

तपाईँको मत