गाउँ सहर

याे वर्ष विदेसिएका १६ लाख ३ हजार ८३६ मध्ये वैदेशिक रोजगारीमा जानेकाे संख्या ८ लाख ४१५

काठमाडौँ । सन् २०२३ को १२ महिनामा १६ लाख भन्दा धेरै नेपाली विदेसिएका छन् । यो संख्या काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जानेको हो ।

अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीसहित विभिन्न प्रयोजनका लागि सन् २०२३ को १२ महिनाको अवधिमा १६ लाख ३ हजार ८३६ जना विदेसिएका हुन् । जसमा महिलाको सङ्ख्या ४ लाख ३२ हजार ५८४ जना रहेको छ भने पुरुषको सङ्ख्या ११ लाख ७१ हजार १८६ जना रहेको छ ।

तथ्यांकको अनुसार यो रोजगारी, घुमघाम, परिवारका सदस्यसँग भेटघाट, अध्ययन, स्थायी बसोबास, अस्थायी बसोबास, तालिम, खेलकुद, साँस्कृतिक कार्यक्रम लगायतका प्रयोजनका लागि नेपालबाट बाहिरिएकाहरुको संख्यात्मक विवरण हो । 

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार भिसाको प्रकृति अनुसार विदेशिनेहरुको तथ्यांक सार्वजनिक गरिएको हो । उनले बसोबासका लागि अष्ट्रेलिया, जापान, अमेरिकालगायत देश जानेहरुको संख्या धेरै रहेको बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीका लागि ७ लाख २३ हजार ७८९ जना पुरुष र ८४ हजार ६०४ जना महिला गरी कुल ८ लाख ८ हजार ४१५ जना गएका छन् ।

यस्तै, पारिवारिक प्रयोजनका लागि १ लाख ६७ हजार ४८५ जना विदेसिएका छन् । जसमा पुरुष ७० हजार ८०८ र महिला ९६ हजार ६७३ जना रहेका छन् । वैदेशिक अध्ययनका लागि एक वर्षको अवधिमा १ लाख ८ हजार ५४२ जना विदेसिँदा पुरुष ५९ हजार ९७८ र महिला ४८ हजार ५६२ जना रहेको विभागको भनाइ छ । 

यसै गरी अस्थायी आवासीय भ्रमणमा ९२ हजार ३४९ जना विदेसिँदा पुरुषको सङ्ख्या ५१ हजार ८७६ र महिलाको सङ्ख्या ४० हजार ४६८ जना रहेका छन् । स्थायी आवासीयतर्फ पुरुष ३६ हजार ६६३ र महिला ३४ हजार २५१ गरी कुल ७० हजार ९१५ जना विमानस्थल हुँदै बाहिरिएको विभागले सोमबार जारी गरेको तथ्याङ्कमा उल्लेख छ । 

तथ्याङ्कको अनुसार कन्फ्रेन्स, सेमिनार र तालिममा २४ हजार २६३ जना, डिपेन्डेन्टमा २० हजार ६१३ जना र उपचारमा समेत १९ हजार जना भन्दा बढी बाहिरिएका छन् । विभागका अनुसार उपचारका लागि पुरुष १० हजार ६९५ जना र महिला ८ हजार ८०९ जना गरी कुल १९ हजार ५०९ जना विभिन्न देशमा उपचारका लागि गएका हुन् । 

यसै गरी व्यापारका लागि १८ हजार ९६४, अफिसियल भिजिटका लागि १६ हजार १११, वैदेशिक रोजगारीकै लागि तर वर्क पर्मिट लिन नपर्नेहरू पनि ८ हजार ८६ जना त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

यस्तै युएन मिसनमा ६ हजार ५८, खेलकुद गतिविधिमा ३ हजार ६५३, कन्सर्ट तथा कार्यक्रममा ३ हजार ६५३ र अन्य ३२ हजार भन्दा धेरै विदेसिएको तथ्याङ्कमा उल्लेख छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत