गाउँ सहर

एक करोड २५ लाखको आम्दानी स्राेत देखाउन नसकेपछि डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक करोड २५ लाख बढी भ्रष्टाचार गरेको आरोपमा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत (अधिकृत दशौं तह) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले डिभिजन वन अधिकृत दीर्घ नारायण कोइरालाले एक करोड २५ लाख ९६ हजार ३५३ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको जानकारी दिए ।

कोइरालाले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति (२०४६ जेठ २ गते) देखि २०७८ फागुन १२ सम्ममा गरेको आम्दानी तथा खर्चको विवरण केलाउँदा एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रुपैयाँ बढी देखिएको आयोगको अनुसन्धानले देखाएको छ ।

आयोगले उनको सम्पत्ति विवरणको विश्लेषण गर्दा पारिश्रमिक बचत, भत्ता बचत रकम, घर जग्गा बिक्री, जीवन बिमा परिपक्व भई प्राप्त गरेको रकम, ग्यास स्टोरबाट भएको आम्दानी, शेयर बिक्रीबाट प्राप्त रकम, कृषि आय र निजको छोरीको बचत रकमसमेत गरी ८१ लाख ८६ हजार नौ सय ९५६ रुपैयाँ ३१ पैसा कमाएको देखिन्छ ।

सोही अवधिमा उनको व्यय (खर्च तथा लगानी) तर्फ घर निर्माण, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, अध्ययन खर्च, बिमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सवारी खरिदमा भएको खर्च, शेयर खरिद तथा लगानी, ग्यास स्टोरमा गरेको लगानी रकम, सामाजिक व्यवहार खर्च, विद्युतीय उपकरण खरिदबापतको रकम र बैङ्क मौज्दातसमेत गरी जम्मा दुई करोड सात लाख ८३ हजार तीन सय ४९ रुपैंया  ८५ पैसा खर्च तथा लगानी भएको आयोगको अनुसन्धानले देखाएको छ ।

वैध आम्दानीको अनुपातमा उनले सिर्जना गरेको सम्पत्ति एवं खर्च तथा लगानी दुई करोड सात लाख ८३ हजार तीन सय ४९ रुपैयाँ ८५ पैसा देखिएपछि आयभन्दा बढी रकमको स्रोत नखुलेको आयोगको अनुसन्धानले देखाएको छ । सम्पत्ति स्रोत नखुलेको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएको र सार्वजनिक पद धारण गरेका कोइरालाले साबिक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं हाल कायम रहेको भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २०(१) बमोजिम गैर कानुनी रूपमा सम्पत्ति आर्जन सम्बन्धी कसुर गरेको भन्दै आयोगले उनी विरुद्ध एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रूपैँया पचपन्न पैसा बराबरको बिगो जरिवाना र कैद सजायको मागदावी गरेको छ ।

त्यस्तै आयोगले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढिबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्ति समेतबाट साबिक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम बिगो जफत/असुल उपरको मागदावी गरेको आयोगका सह प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

उनका अनुसार कोइरालाले सार्वजनिक सेवाको पदमा रहेर भ्रष्टाचारजन्य कार्य गरी गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता पौडेल कोइरालासमेतको नाममा जग्गा खरिद, निजको नाममा दर्ता कायम रहेको जग्गामा घर निर्माण तथा बैङ्क खातामा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको श्रोत नखुलेको सम्पत्ति बिगो जफत गर्न मागदावी लिएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत