गाउँ सहर

अर्बौं ऋण लगानीमा निर्माण पोखरा विमानस्थलमा एक वर्षमा पाँच वटा मात्रै अन्तर्राष्ट्रिय उडान

काठमाडौं । अर्बौं ऋण लगानीमा निर्माण भएर सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन् । वार्षिक १० लाख हवाई यात्रुले सेवा लिन सक्ने गरी गत २०७९ पुस १७ गते सो विमानस्थल सञ्चालनमा आएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालय, पोखराले एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय उडान भएको जानकारी दिएको छ । गत असार ६ गते चीनको छेन्दुबाट आएको सिचवान एयरलाइन्सले पोखरामा पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान गरेको थियो । उक्त उडानमार्फत असार ८ र ९ गते पोखरामा आयोजना भएको नेपाल–चीन फ्रेन्डसिप ड्र्यागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी, पर्यटक र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलसमेत गरी ९६ जना पोखरा अवतरण गरेका थिए । 

त्यसपछि भदौ २३ गते भुटानको ड्रुक एयरले पोखरामा दोस्रो अन्तर्राष्ट्रिय चार्टर उडान गरेको थियो । भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अवतरण गरेको उक्त जहाजमा सात जना चालकदल सदस्य र तीन जना पर्यटक पोखरा अवतरण गरेका थिए । उक्त विमान भुटान फर्किंदा पोखराबाट ४२ यात्रु थिम्पु उडेका थिए ।

त्यस्तै जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्प प्रभावितका लागि चीन सरकारले पठाएको राहत सामग्री बोकेर गत कात्तिक २२ गते चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो जहाज चीनको छेन्दुबाट पोखरा अवतरण गरेका थिए । 

उड्डयन कार्यालयका अनुसार पोखरामा गत मङ्सिर ७ गते चौथो पटक अन्तर्राष्ट्रिय चार्टर उडान भएको थियो । मङ्सिर ९ गते पोखरामा आयोजित माउन्टेन क्रस कन्ट्री कम्पिटिसन रेस प्रतियोगितामा भाग लिन चीनको कुनमिङबाट हिमालयन एयरलाइन्सले पोखरामा चार्टर उडान गरेको थियो । उक्त उडानबाट १०४ जना यात्रु पोखरा अवतरण गरेका थिए । सञ्चालनको एक वर्षको अवधिमा पोखराबाट एउटा पनि व्यावसायिक उडान हुन सकेको छैन । 

गौतम बुद्धबाट भित्रिए साढे पन्ध्र हजार 

२०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्व विमानस्थलबाट पछिल्लो १९ महिनामा चार सय चार्टर तथा व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएका छन् । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार जजिरा एयरवेज, नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सको उडानबाट भैरहवामा १५ हजार ५२६ जना हवाई यात्रु भित्रिएका छन् भने विमानस्थल भएर २० हजार १५५ जनाले अन्तर्राष्ट्रिय उडान सेवा लिएका छन् । 

भैरहवामा जजिरा एयरवेजले २५२ उडान तथा अवतरण, हिमालयन एयरलाइन्सले ६८ चार्टर उडान र नेपाल वायु सेवा निगमले ३१ र व्यक्तिगत रूपमा विभिन्न देशबाट ४९ उडान अवतरण भएका छन् । 

  

गाउँ सहर संवाददाता

तपाईँको मत