पूर्वाधार

काभ्रेबाट हेटौँडा जोड्ने छोटो दूरीको सडक निर्माण सुरू

काभ्रे । काभ्रेबाट बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने छोटो दूरीको सडक निर्माण सुरु भएको छ। 

वाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, खानेपानी उर्जा तथा सिँचाईमन्त्री तीर्थ लामा, पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य रत्न ढकालले शनिबार एक समारोहबीच उक्त सडक संयुक्त रुपमा शिलान्यास गरेका हुन् । बीपी राजमार्गको कटुञ्जेदेखि खार्पाचोक लेखपानी–सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकुले–तालढुंगा हुँदै हेटौंडा जोड्ने प्रादेशिक सडकअर्न्तगतको १५ किलोमिटर कालोपत्र र स्तरोन्नति हुनेछ । उक्त सडक निर्माणका लागि सिद्ध बाबा–ग्रीन तारा जेभीसँग यही मंसिर २५ गते ५१ करोड ४४ लाख रुपैयाँ ठेक्का सम्झौता भएको हो ।

बागमती प्रदेश सरकारले उक्त सडक आयोजनाका लागि गत आर्थिक वर्षमा ९४ करोड ६९ लाख सुनिश्चित गरेको थियो । चालु आवमा रु सात करोड विनियोजन गरी निर्माण सुरु भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

उक्त कार्यालयमार्फत पहिलो चरणमा १५ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान भइसकेको छ। सडक खस्नबाट रोक्न पर्खाल लगाउने, स्ल्याब, कलभर्ट निर्माण तथा ह्युमपाइप बिछ्याउनेलगायत संरचना निर्माण हुनेगरी रु ५१ करोड ४४ लाख लागतमा निर्माण व्यवसायी सिद्ध बाबा–ग्रिन ताराले ठेक्का सम्झौता गरेको छ ।

बागमती प्रदेश सरकारले छ हजार किलोमिटर सडकलाई प्रादेशिक सडकमा सूचीकृत गरेर प्राथमिकताका आधारमा कालोपत्र गर्दै जाने बताइएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत