दिगोविकास

यस्ताे छ अहिले देशकाे अर्थतन्त्रकाे अवस्था (पूर्णपाठ)

काठमाडौं । चालू आर्थिक वर्षको कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात महंगी ५.३८ प्रतिशतमा झरेको छ ।

बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक महिनामा महंगी ५.३८ प्रतिशतमा झरेको हो । जुन अघिल्लो असोज महिनामा मात्रै ७.५० प्रतिशत थियो । भने, अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भई ४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो ।

कार्तिकमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७३५ र ८७ हजार ४२८ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ । त्यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको छ ।

कार्तिक महिनासम्म घ्यू तथा तेल र तरकारी उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ ।

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । आयात ३.८ प्रतिशतले घटेको, निर्यात ७७ प्रतिशतले घटेको र कुल वस्तु व्यापार घाटा ३.३ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २६.४ प्रतिशतले र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको छ ।

शोधनान्तर स्थिति रु.१४७ अर्ब ११ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति १,६९६ अर्ब ७८ करोड र अमेरिकी डलरमा १२ अर्ब ७५ करोड रहेको छ । नेपाल सरकारको खर्च रु. ३५५ अर्ब ६३ करोड र राजस्व परिचालन रु.२७६ अर्ब ६४ करोड रहेको छ ।

विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.४ प्रतिशत रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत