खेल

टस जितेर अफगानिस्तानविरूद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । नेपालले एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग टस जितेको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न चाहन्छ ।

आजको खेलमा यदि पराजित भएमा नेपालको सेमिफाइनल सम्भावना अंक गणीतिय बाँकी हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उता अफगानिस्तानले भारतसँग ७ विकेटले हारेको थियो । दुबै टोली पहिलो जितको सोचमा हुनेछन् ।

नेपालले हारेपनि पहिलो खेलमा युवा ब्याटर उत्तमथापा मगरले ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । दीपेश कँडेलले २९ रन जोडेका थिए । नेपालका प्रमुख ब्याटर देव खनाल शून्य र गुलशन झा १ रनमा आउट भएका थिए । देव र गुलशन सिनियर टोलीबाट खेलि सकेका खेलाडी हुन् । गुलशनले पछिल्लो एक वर्षदेखी नेपाली टोलीबाट निरन्तर खेलेका छन् ।

यी दुई खेलाडीबाट आजको खेलमा नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ । ओपनर अर्जुन कुमालले २१ रन बनाउँदै राम्रो सम्भावना देखाएका थिए । अर्जुनको भूमिका एक एन्डबाट विकेट बचाएर ठूलो इनिङ खेल्नुपर्ने हुन्छ ।

भारतविरुद्ध ४३ रन बनाएका जम्शिद जद्रान, अक्रम मोहम्मदजाई र विकेटकिपर नुमान शाह अघा प्रमुख ब्याटर हुन् । बसिर अहमद अफगान वाहिदुल्लाह जद्रान र खलिल अहमद प्रमुख बलर हुन् ।

नेपालले अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ । पहिलो खेलमा हारपछि शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न बाँकी दुबै खेलमा जित हात पार्नुपर्ने हुन्छ । समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह बी मा युएई, जापान, बंगलादेश र श्रीलंका छन् । आजको अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले २०१५ देखी २०१८ सम्म अफगानिस्तानसँग ५ खेल खेलेको थियो । पाँचैं खेलमा नेपाली युवा टोली पराजित भएको थियो । पछिल्लो समय अफगानिस्तान नेपालमाथि हाबी हुँदै आएको छ । नेपालले दशकपछि अफगानिस्तानलाई हराउन सकेको छैन ।

गाउँ सहर संवाददाता

तपाईँको मत