गाउँ सहर

नवराज विक हत्या प्रकरणमा २४ जनालाई जन्मकैद, प्रेमिका र आमालाई २ वर्ष कैद तथा जरिवाना

काठमाडाैं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा २०७७ जेठ १० गते जाजरकोटका नवराज बिकसहित छजनाको ज्यान जाने गरी भएको हत्याकाण्डको फैसला भएको छ । 

उक्त घटनामा संलग्न भएको भन्दै मङ्गलबार रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले उक्त घटनामा मुद्दा दर्ता भएका ३४ मध्ये २४ जनालाई जन्मकैदको फैसला गरेको हो । 

अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार पूर्पक्षका लागि थुनामा रहेका २३ जना र तारेकमा रिहा भएका एक जनासमेत गरेर २४ जनालाई जन्मकैदको फैसला भएको हो । 

सूचना अधिकारी कोइरालाका अनुसार तत्कालीन वडा अध्यक्षसमेत रहेका डम्बर बहादुर मल्ल, डिल्लीबहादुर ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भनिने सविन पुन, तिलक चन्द, ईन्द्रबहादुर भनिने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, बिनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नबिन कुमार घर्तीमगर, बिराज पुन मगर, भिमबहादुर पुन, रमित पुन मगर, बिष्णु मल्ल र तीनजना नाम परिवर्तित  छन् । नाम परिवर्तित तीनजना घटनामा मृतक नवराजकी प्रेमिका भनिएकी किशोरीका बुवा, दाइ र भाइ छन् । 

जन्मकैद फैसला भएका २४ जनामध्ये मल्ल ठकुरी थरका सबैजनालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवानासमेत भएको छ । त्यसैगरी, नवराजकी प्रेमिका भनिएकी किशोरी र निजको आमालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना भएको छ । 

आठ जनालाई सफाइ

तारेकमा रहेका अन्य आठजनालाई उक्त मुद्दामा सफाइ दिइएको छ । सफाइ पाउनेहरुमा तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भिमबहादुर बुढा, ईन्द्र बहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्द छन् । 

यसैगरी, पीडितका परिवारहरुलाई प्रतिवादीका तर्फबाट जनही ४० हजार जरिवाना दामासाहि तरिकाले उपलब्ध गराउने फैसला भएको छ । 

आइतबार सुरु भएको पेशी सुनुवाई पछि तीन दिन लगाएर भएको बहस सकिएसँगै फैसला भएको हो । जाहेरीवालाको तर्फबाट सरकारी वकिलसहित १५ जना र प्रतिवादीको तर्फबाट ६ जना कानून व्यवसायीले बहस गर्नुभएको थियो । 

रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनारमा तीन वर्षअघि छजना युवाले ज्यान गुमाएका थिए । जाजरकोटका नवराज र रुकुम पश्चिमको सोतीगाउँकी मल्ल परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो । प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए ।

त्यही क्रममा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु बिक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार, गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको ज्यान गएको थियो । छ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।   

यसरी भएको थियो घटना

जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीया नवराज विक र चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीबीच २०७५ सालमा जाजरकोटकै कुदुमा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पहिलोपटक भेट भएको थियो। उनीहरूबीचको त्यो भेट प्रेम सम्बन्धमा परिणत भयो र करिब दुई वर्षसम्म चल्यो।

मानव अधिकारका विषयमा काम गर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले स्थलगत रूपमा तयार पारेको प्रतिवेदनअनुसार सोतीकी ती युवती घटना हुनुअघि रानागाउँस्थित नवराजकै घरमा केही दिन बसेकी थिइन्।

२०७६ पुसमा खलंगामा लागेको रमाइलो मेलामा आएकी उनी चार दिनसम्म नवराजको घरमा बसेकी थिइन्। त्यसैबेला नवराज र युवतीबीचको वार्तालाप सुनेर नवराजकी आमाले उनीहरूबीच प्रेम सम्बन्ध छ भन्ने थाहा पाइन्।

त्यसपछि नवराज पनि युवतीको घरमा गएका थिए। युवतीकी आमाले नवराजलाई खाना खुवाएर जात नमिल्ने भएकाले घरमा आउजाउ नगर्न भनेकी थिइन्।

घटना हुनुको दुई महिनाअघि २०७६ चैत १७ गते नवराज दोस्रोपटक युवतीको घर सोती गएका थिए। त्यतिबेला तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवतीका दाइ विनोद मल्ल र परिवारको अरू सदस्यले कुटपिट गरी इलाका प्रहरी कार्यालय चौरजहारीमा बुझाएका थिए।

चौरजहारी प्रहरीले नवराजको परिवारलाई बुझ्न आउनु भनेपछि आमाले बुझेर नवराजलाई घर ल्याएकी थिइन्।

नवराजको घर जाजरकोट खलंगाको रानागाउँदेखि युवतीको घर सोती गाउँ पुग्न पैदल लगभग २ घण्टा ४५ मिनेट समय लाग्छ।

स्थलगत अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार नवराजसहित ६ जनाको मृत्यु हुनेगरी घटना भएको दिन २०७७ जेठ १० गते नवराजकी प्रेमिकाले नै अन्यत्रै विवाह गरिदिन लागेकोले लिन आउनू भनेअनुसार उनी सोती गाउँ गए। त्यसबेला उनले १८ जना साथीहरू पनि सँगै लिएका थिए।

करिब साढे ५ बजे सोती पुगेका समूहमध्येका नवराजलाई देखेपछि युवतीकी आमाले ‘तँ डुम फेरि आइस्, तँलाई कुटाइ नपुगेको हो’ भनेर गाली गर्न थालिन्।

त्यसलगत्तै नवराज र सँगै गएका साथीहरू भागे। उनीहरूले फर्किने बाटोमा रहेको स्थानीय बालकुमारी विश्वकर्माको घरको धारामा पानी पिए। पानी पिउन लाग्दा केही स्थानीयले ‘काफल खाएर जाऊ’ भनेर अल्मल्याउन खोजेका थिए। नवराज र उनका साथीहरू नअल्मलिएर सरासर बाटो लागे।

उनीहरू फर्किएर मध्यपहाडी लोकमार्गको माथिल्लो भागमा रहेको ठूलो ढुंगामा बसिरहेका बेला हतियारसहित ठूलो जत्था आएर  घेरा हालेर एक्कासि आक्रमण गरे।

आक्रमण सुरू भएको आधा घण्टापछि घटनास्थल पुगेको प्रहरीले १२ जनालाई घाइते अवस्थामा उद्धार गरेको थियो।

युवतीतर्फका स्थानीयको आक्रमणबाट नवराज विक, भेरी नगरपालिका–४ कै १७ वर्षीय गणेश बुढामगर, २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको मृत्यु भयो। उनीहरूको शव फरकफरक दिन, फरक स्थानमा भेरी नदीमा फेला परेको थियो।

आक्रमणबाट घाइते भएकाहरूलाई प्रहरीले चौरजहारीमा रहेको मिसन अस्पतालमा पुर्‍यायो। त्यहाँ उपचारपछि १२ जना घर फर्किए।

घटना भएको तीन दिनमा २०७७ जेठ १३ गते पीडित परिवारले २० जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले तत्कालीन वडाध्यक्ष मल्लसहित २० जनालाई पक्राउ गर्‍यो। बाँकी १४ जनालाई पक्राउ परेकाहरूको बयानका आधारमा पक्राउ गरिएको थियो।

सरकारी वकिल कार्यालयमार्फत ३४ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो। उनीहरूमध्ये थुनछेक बहसका क्रममा नाबालक नवराजकी प्रेमिका र भाइसहित ११ जनालाई साधारण तारेखमा छाडिएको थियो।

गाउँ सहर संवाददाता

तपाईँको मत