राजनीति

एनसेलमा अर्बौं घोटाला भएको अनुमान लगाउन सकिन्छ, छानबिन हुनुपर्छ : गगन थापा

ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले एनसेल घोटला छानविन गर्न माग गरेका छन्। नेपाली कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले हालै एनसेलमा अर्बौं घोटला भएको समाचार आएको भन्दै यसबारे छानविन हुनुपर्ने माग गरे।

थापाले एनसेलमा अर्बौं घोटाला भएको छ भन्ने अनुमान लगाउन सकिने बताएका छन्।

कांग्रेस ओखलढुंगाको सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै थापाले कानुनको दुरूपयोग भएको पाइएमा दण्डित गरिनुपर्ने बताए।

‘हरेक दिन कुनै न कुनै काण्डबारे सुनिन्छ। केही समयअगाडि सुनको काण्डबारे सुनियो, हिजोआज कुनै पत्रपत्रिका हेर्नुभयो भने एनसेलको अर्बौं रुपैयाँ घोटालाको काण्ड सुन्नुहुन्छ,’ महामन्त्री थापाले भने, ‘प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौं रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिन्छ।’

कांग्रेस सम्मिलित सरकारले एनसेललगायतमा कानुनको दुरूपयोग भएको छ कि छैन हेर्नुपर्ने उनले बताए।

‘जतिसुकै ठूलो मानिस यसमा संलग्न भएको होस्, यदि कुनै ठूलै नेताको सम्पत्ति कहीँकतै चोर बाटोबाट लगेर त्यो कालो धन नेपालमा फेरि लगानीको नाममा फर्काउने प्रयास भएको छ भने पनि जो-सुकै होस्, त्यसले दण्ड पाउँछ भन्ने विश्वास कांग्रेसले दिलाउन सक्नुपर्छ।’

मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो।

उनले सरकारमा कांग्रेस भएजस्तो नभएको भन्दै अनियमितता र भ्रष्टाचार बढेको बताए। थापाले एनसेल घोटलामा ठूलै व्यक्तिहरू संलग्न भएको भन्दै छानविन गर्नुपर्नेमा जोड दिए।

उनले अहिले कोही सिंहदरवार जलाउने र कोही राजतन्त्र ल्याउने भन्न थालेको भन्दै त्यस्ता अराजकहरूबाट यो व्यवस्था बचाउन र सुशासन कायम गर्न कांग्रेसले नेतृत्व गर्नुपर्ने बेला आएको बताए। 

नेता कार्यकर्ताहरूलाई उनले अलमलमा नपर्न सुझाव दिँदै संघ, प्रदेश र स्थानीयमा जताततै कांग्रेस सरकारमा भए पनि भएजस्तो नभएकाले नागरिकको अवस्था परिवर्तन नभएको बताए। 

त्यस्तै नेता शेखर कोइरालाले सरकारको स्वामित्वमा आउन लागेको एनसेल बेचबिखनमा राज्यकै संलग्नता भएको बताउँदै आफूहरूले गम्भीररूपमा लिएको बताए। उनले राजनीतिज्ञ, कर्मचारी र व्यापारी मिलेर एनसेल घोटला भएको दाबी गरे। सदन र सडकबाट यो विषयलाई जनता समक्ष लैजाने कोइरालाले बताए। 

गाउँ सहर संवाददाता

तपाईँको मत