अर्थतन्त्र

चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा रु ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनि ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रु २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रु २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो ।

कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण रु ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण रु ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रहेको छ ।

चालु आवको चार महिनामा सरकारले आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा रु ६५ अर्ब ४५ करोड ८३ लाख र बाह्य ऋणको साँवाब्याज भुक्तानीमा रु १६ अर्ब १८ करोड ६१ लाख बराबर भुक्तानी गरेको देखिएको छ । 

यही अवधिको ऋण प्राप्तिको अवस्था हेर्दा साउनदेखि कात्तिक मसान्तसम्ममा रु ९७ अर्ब ३१ करोड बराबर आन्तरिक ऋण र रु १५ अर्ब ८५ करोड ३० बाह्य ऋण गरी कूल एक खर्ब १३ अर्ब १६ करोड ३० लाख बराबर ऋण उठाइएको छ ।

चालु आवको पहिलो चौमासिक अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा गरेको खर्च करिब तीन गुणाले बढी छ । गत कात्तिक मसान्तसम्ममा सरकारले रु २९ अर्ब ९८ करोड ९४ लाख बराबर पुँजीगत खर्च गरेको छ । यही अवधिमा सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा भने रु ८१ अर्ब ६४ करोड ४४ लाख बराबर खर्च गरेको छ । रासस

 

गाउँ सहर संवाददाता

तपाईँको मत