वातावरण

'नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोग्नुपरेको छ, अन्यायपूर्ण अवस्थाको अन्त्य हुनुपर्छ'

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु उत्सर्जनमा शून्य योगदान रहेका मुलुकहरूले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोग्नुपरेको बताएका छन् । संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले जलवायु परिवर्तनमा कुनै संलग्नता नरहेका मुलुक र जनतामाथि अन्याय भइरहेको बताएका छन् । 

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई शनिबार यूएईमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालको शून्य योगदान हुँदा पनि यसको गम्भीर असर भोग्नुपरेको भन्दै अन्यायपूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताएका हुन् ।

‘जलवायु परिवर्तनमा नेपालको शून्य योगदान हुँदा पनि यसको विनाशकारी असर नेपालीहरुले भोगिरहनुपरेको छ, जलवायु परिवर्तनको गम्भीर असर जस्तै बाढी, पहिरो, डढेलो, हिमताल विस्फोट हाम्रा जनताहरुले भोगिरहेका छन्’ उनले भने, ‘यो अत्यन्तै अन्यायपूर्ण भयो, यसको अन्त्य हुनुपर्छ ।’

जलवायु परिवर्तनको गम्भीर असर जस्तै बाढी, पहिरो, डढेलो, हिमताल विस्फोट जस्ता समस्याहरू नेपालका जनताहरूले भोग्नुपरेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनले भोग्नुपरेको असरका लागि आर्थिक र प्राविधिक सहायता आवश्यक रहेको धारणा राखे ।

पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसकेको र यसले हिमालमा ठूलो असर पर्ने र सङ्कट देखा परेको उनले बताए । सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोष सहयोग समतामूलक रूपमा हुनुपर्ने, प्रक्रिया सहज र पारदर्शी हुनुपर्ने तथा नेपालजस्ता मुलुकले लाभ लिन पाउनुपर्नेमा जोड दिए ।

नेपाल पेरिस सम्झौताप्रति पूर्ण प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री दाहालले बताए । उनले सन् २०४५ सम्ममा हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताए । जलविद्युत क्षमतालाई स्वच्छ ऊर्जा उत्पादन गर्न प्रयोग गर्ने र ४५ प्रतिशत जंगलले ढाकेको जमिन कायम राख्न योजनाबद्ध रूपमा अगाडि बढेको उनको भनाइ थियो ।

मङ्सिर १४ गतेदेखि सुरु भएको कोप-२८ सम्मेलन मङ्सिर २६ गतेसम्म चल्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत