ब्लग

भारत तिर्थयात्रा स्मरणः सबैले सिक्नु पर्ने पक्षहरू

काठमाडाैँबाट यो स्तम्भकार आफ्नी धर्मपत्नी सहित भारतका विभिन्न तिर्थस्थल जसलाई चारधाम पनि भन्ने गरिन्छ तर्फ लाग्ने क्रममा  मिति २०८०।०५।२६ गते कलंकीबाट  विरगंज तर्फ लाग्यो । हामी १९ जनाको टोलीलाई तिर्थाटनको लागी एसि बसको व्यवस्था गरिएको थियो जसले भारतका विभिन्न सहर हुँदै तिर्थाटन करिब २० देखि २२ दिनमा पुरा गराई पुन काठमाडाैँ फर्काउने प्रतिवद्धता समेत थियो ।

हामीलाई लागेको थियो हाम्रा लगेजहरु धेरै ठाउँमा बसबाट झार्न नपरोस र कुनै कठिनाई पनि नहोस । तर उक्त बस त विरगंज सम्म मात्र जाने रहेछ । बसले हामीलाई बस्ने व्यवस्था गरिएको लजमा पुर्यायो र हाम्रा सबै लगेजहरु झार्नु पर्ने भयो । उक्त रात सोहि होटलमा बास बसी हामी मिति २०८०।०५।२७ गते रक्सौल तर्फ टेम्पोमा लागियो । रक्सौलमा एक बनारसबाट आएको सानो एसि बस हामीलाई कुरीरहेको थियो । उक्त बसको सिट सानो भएको कारण बस्न त्यति आरामदायि भएन । रक्सौलमा भारतीय पुलिसले राम्रो संग नै परिचय पत्र सहित चेक गर्दो रहेछ । उक्त भाद्र २७ गतेको बेलुका ६ बजे हामी विहारको छपरा जिल्ला स्थित हरिहर क्षेत्र पुग्यौं ।

विडम्वना उक्त क्षेत्रमा हामीलाई घुमाउने जिम्मा लिएको ट्राभल्सले जुन होटलमा लैजान्छ सोहि ठाउँमा बस्नु पर्ने वाध्यता हुँदो रहेछ र म अलि बढि रकम तिरेर राम्रो ठाउँमा बस्न  जान्छु भने पनि असंभव हुँदो रहेछ । उक्त होटलको बसाई अत्यन्त दुःखपूर्ण रह्यो । रातभरि सांग्ला, कमिला, माउसुलि जस्ता किराहरु वेडमा आई टोकेको हुंदा एकातर्फ रातभरि सुत्ने स्थिती भएन भने अर्कोतर्फ वेड पनि महिनौँ धोइपखाली नगरेको देखियो । सुत्ने खाट भनेको त माछा राख्ने वक्स मिलाएर वेड वनाएको पो रहेछ । तर शुल्क तिर्दा अचम्म लाग्यो कोठाको चर्को शुल्क । स्पष्ट थाहा त भएन तर ट्राभल्स विभिन्न यात्रुहरु लैजाने होटलबाट राम्रै कमिसन पाउँदछ भन्ने कुरा भने सुनियो । उक्त हरिहर  क्षेत्रस्थित  मिति २०८० भाद्र २७ को साँझको मन्दिरको आरती र भाद्र २८ को विहान कालीघाट स्थित गंगा नदी जसलाई नेपालबाट गएको नारायणी पनि भनिन्छ मा स्नान गरि पित्रृ तर्पण समेत गरियो । जसको होटलमा सो रात बास बसियो सोही होटल संचालक पंडित जसलाई पंडा पनि भन्ने गरिँदो रहेछ उसले पितृ तर्पणमा राम्रै रकम को अफर गर्दै थियो । हरेक ठाउँमा वार्गेनिग गरे पनि स्तभ्भकारको केही लाग्दो रहेनछ । उनिहरुकै दवदवा र स्तम्भकार लगायत भ्रमण टोलिका सदस्यहरु धेरै ठाउँमा कमीसनमा बेचिँदा रहेछन यस्तै रह्यो हरेक दिनको दिनचर्या ।

मिति २०८०।०५।२८ को विहान हामी हरिहर क्षेत्रबाट भारतकै विहार स्थित पटना नजिक पुन पुनमा पुग्यौं । उक्त ठाउमा पितृकार्य संपन्न र भोजन ग्रहण हामी गया तर्फ लाग्याैँ । वेलुका साँझमा वोधगयामा बास बसी हामीले २०८०।०५।२९ गतेका दिन विहान पितृ कार्य संपन्न गरियो । ततपश्चात हामी बनारस तर्फ लाग्याैँ र साँझमा बनारसमा बस बसियो । मिति २०८०।०५।३० गते बनारस स्थित कासीमा रहेको भागिरथी नदी जसलाई सिन्धियाघाट पनि भन्दो रहेछ उक्त ठाउमा पितृकार्य समाप्त गरियो । नुहाउने नदीको किनार र नेपालीले पितृकार्य गर्ने भन्ने ठाउँ लेखिएको थियो उक्त ठाउँ फोहोरले हेर्न लायक थियो । प्रशिद्ध तिर्थस्थलमा समेत फोहोर, ढलको उचित व्यवस्थाको अभाव र जथाभावी दिशा र पिशाव गर्ने प्रवृतिले स्तम्भकारलाई भारतको सफाई बारे राम्रै पाठ सिकायो । पितृकार्य पश्चात हाम्रो टोलि वनारसको प्रशिद्ध विश्वनाथ मन्दिरको दर्शन गर्न लाग्यो । त्यसो त भारतका तिर्थस्थलमा जति मठमन्दिर घुमियो र दर्शन गरियो उक्त ठाउमा निकै अव्यवस्थाको कारण मन्दिरको मुर्ति सम्म पुग्न हम्मेहम्मे पर्यो । वृद्ध र अशक्त हरुले त दर्शन गर्न सक्ने अवस्था नै थिएन ।

बनारसबाट हामी भाद्र ३० गते अलाहवाद तर्फ लाग्याैँ र बाटोमा पर्ने उत्तरप्रदेश स्थित मिर्जापुर जिल्लामा पर्ने प्रशिद्ध विन्ध्यावासिनी मन्दिरको समेत दर्शन गर्ने अवसर मिल्यो । उक्त दिनहामी अलाहवाद पुगि बास बसियो र मिति २०८० भाद्र ३१ गतेका दिन प्रयागराज स्थित त्रिवेणी घाट (गंगा, यमुना र सरस्वतिको संगम स्थल ) मा ३० मिनेट लगाई डुंगाामा पुगियो र डुंगा जोडेर बनाईएको उक्त स्थान जुन नदीमा नै थियो । उक्त स्थानमा पूजा र पितृ तर्पण समेत गरियो । उक्त स्थानमा नुहाउने क्रममा नदीमा खस्ने संभावना तिव्र हुने हुंदा निकै होसियारी अपनाउनु पर्ने रहेछ । उक्त दिन नै हामी त्यस स्थानबाट लखनउ, आग्रा हुंदै व्रिन्दावन र मथुरा तर्फ लागियो र साझ सोही ठाउँमा पुगि वास वसियो । भ्रमणको सातौँ दिन अर्थात मिति २०८०।०६।०१ को दिन भरि जसो भ्रमण टोलि वृन्दावन स्थित वाकेविहारी मन्दिर, श्री गोविन्द देव जि मन्दिर, श्री रंगनाथ मन्दिर लगायत यमुना नदीमा स्नान सहित दर्शन गरियो र पितृलाई सामान्य तर्पण समेत भयो । उक्त दिनमा नै मथुरा र गोकुल समेतको भ्रमण गरि विभिन्न देवि देवतासमेतको दर्शन गरियो र साझमा वृन्दावन स्थित प्रशिद्ध प्रेम मन्दिर जहां मानिस को निकै भिड हुँदो रहेछ उक्त ठाउँमा समेत दर्शन सहित भ्रमण गरियो । उक्त ठाउ निकै मनमोहक थियो । वृन्दावन, मथुरा लगायतका क्षेत्रमा राधे राधे र जय श्री कृष्ण को उच्चारण अधिकांश मानिसले गरेको पाईयो जसलाई रोचक तथ्यको रुपमा लिन सकिन्छ । उक्त क्षेत्रको भ्रमणमा भारतीय पण्डाको विगविगी र हामीलाई खरिद विक्री गरिएको देख्दा स्तम्भकार लगायत सबै तिर्थयात्री मर्माहत बनेका थियौं  । रोचक पक्ष त मन्दिरको मुर्तिलाई पर्दाले छोप्ने अनि रकमको वार्गेनिंग गरेर मात्र खोल्ने जुन प्रविृति भारतीय पण्डामा देखियो त्यसले सवैमा खिन्नता देखियो ।

२ दिन वृन्दावनमा रही तिर्थयात्रीको टोलि  मिति २०८०।०६।०२ को दिन विहान कुरुक्षेत्र तर्फ लाग्यो र कुरुक्षेत्रमा पुगि विभिन्न महाभारत युद्धका नजिरहरुको अवलोकन र मन्दिर हरुको दर्शन पश्चात उक्त दिन नै टोलि हरिद्वार तर्फ लाग्यो र साँझमा हरिद्धारमा बास बसियो । उक्त दिन सांझमा हरकिपुरी घाट स्थित भागिरथि नदिको किनारमा आरतिको अवलोकन गरियो । मिति २०८०।०६।०३ को विहान भागिरथि नदिको किनारमा पितृकार्य संपन्न गरियो । जति ठाउँमा पितृ कार्य गरियो अचम्म के रहेछ भने एक जना पंडितले पितृ कार्य गर्ने त्यहि बीचमा रवाफ सहित एक जना पंडा आउने रहेछ र सबै चढाएको सबै पैसाको अलावा थप रकम तिर्थयात्रीसंग जो पितृकार्यमा संलग्न छ संग उठाई भाग्दो रहेछ । यसको अलावा श्राद्ध गराउने पंडितलाइ पुन थप दक्षिणा दिने कार्य त छँदै थियो र उक्त दिन नै केवलकार चढि मन्सा देविको दर्शन गरियो जहां निकै मानिसहरुले भिडभाड सहित दर्शन गर्दा रहेछन् ।

त्यस पश्चात मिति २०८०।०६।०४ गतेको विहान हाम्रो टोलि भारतको उत्तराखण्ड स्थित ऋषिकेश तर्फ लागियो । उक्त स्थानमा रहेका लक्ष्मणझुला, भरतमन्दिर लगायतका मठ मन्दिरहरुको दर्शन गरियो । त्यस ठाउँबाट सोही दिन जानकी चट्टी, हनुमान चट्टी हुंदै प्रशिद्ध तिर्थस्थल यमुनत्रि तर्फ लागियो । निकै विकट र पहाडि रोड ऋषिकेश बाट २१६ कि.मि रहेछ । उक्त दिन यमुनत्रि जानेक्रममा उत्तरकासिको दर्शन गर्दै  जानकी चटटी हुँदै हनुमान चट्टीमा बास बसी मिति २०८०।०६।०५ विहान उक्त ठाउँबाट करिब ६ कि.मि.को पहाडि पैदल यात्रा गर्दै यमुनत्रीको दर्शन गरियो । यमुनत्रीलाई कालिन्दा नदी पनि भनिँदो रहेछ । उक्त ठाउँमा निकै पोल्ने तातो पानीमा नुहाउने अवसर प्राप्त भयो । उक्त ठाउँमा जान घोडा, मानिसले बाेक्ने लगायतका सुविधाहरु देखिन्छ । उक्त दिन नै गंगोत्रिको लागि प्रस्थान गरियो ।

मिति २०८०।०६।०६ मा विहान गंगोत्रि जाने क्रममा उत्तरकासी स्थित जय कांसी विश्व नाथ मन्दिरको दर्शन गरियो । उत्तरकासिबाट करिब ९९ कि.मि अर्थात यमुनत्री बाट गंगोत्री २२७ कि.मि पहाडि अति विकट रुट थियो । यसठाउँमा भागिरथी नदिको स्नान गंगोत्रीको दर्शन पश्चात हामी केदारनाथ तर्फलाग्यो । जसको दुरी ४०८ कि.मि थियो ।  १३ औ दिन अर्थात २०८०।०६।०७ गते हाम्रो टोलि गुप्तकासी, रुद्रप्रयाग, र विश्वको १२औं उच्च स्थानमा रहेको भारतको टेहरि वांध हुंदै केदारनाथ तर्फ लागियो । भागिरथी नदीमा वांध वाधी टेहरि नहरको निर्माण गरिएको थियो ।  जसको ४४ कि. मि. लम्वाई छ । हाम्रो टोलि आश्विन ७ गते वेलुका सोनप्रयागमा वास वस्न पुग्यो ।

मिति २०८०।०६।८ गते केदार नाथको लागि पैदल यात्रा गरि प्रस्थान गरियो । सोन प्रयाग बाट गौरिकुण्डको दुरी ५.२ कि.मी रहेको छ । गौरीकुण्ड जान जिपको व्यवस्था छ । गौरिकुण्ड बाट केदार नाथको दुरी १६ कि.मि छ जुन पैदलयात्रा, घोडा, हेलिकप्टर आदि बाट जान सकिन्छ । हाम्रो टोलीले  सक्ने पैदल यात्रा नसक्ने घोडाबाट जाने निधो गर्यो । कतिपय साथीहरु पैदल यात्रा गरि ७ घण्टा ३० मिनेट मा १६ कि.मि. को विकट पैदल दुरी पार गरे भने घोडामा जाने साथीहरु ४.३० घण्टामा केदारनाथ मन्दिर सम्म पुग्नुु भयो । सोहि दिनको करिब १२ देखि १ बजे सम्म सबै साथीहरु केदार नाथ पुगीसक्नु भएको थियो ततपश्चात् मन्दाकिनी नदीमा स्नान गरि पित्रृ तर्पण दिई करिब ३ देखि ४ घण्टाको लाईन वसि अपरान्ह ३ देखि ४ बजे सम्ममा सबै साथीहरुले केदारनाथ मन्दिरको दर्शन गरिसक्नु भएको थियो । याहां पनि जो बलियो उसैले दर्शन गर्न सक्ने अवस्था थियो । लाईनको व्यवस्थापन अस्त व्यस्त देखियो । यस ठाउँमा विगत ९ वर्ष अघि वाढि आई धेरै तिर्थयात्री नेपालका समेत बगाएको घटना अझै ताजा छ । केदारनाथ मन्दिरलाई भने एक ढुंगाले बचाएको देखियो जसलाई भिमसेन भनेर पूजा गर्ने चलन छ । सोही दिन गौरिकुण्डमा राती फर्कि भोलि पल्ट मिति २०८०।०६।०९ गते हाम्रो टोलि वद्रीनाथ तर्फ मोडियो ।

केदारनाथ बाट वद्रीनाथको दुरी २८१ कि.मी. रहेछ । मिति २०८०।०६।१० गते भ्रमण टोली वद्रीनाथ पुगी पित्री कार्यमा संलग्न हुनेहरुले  व्रम्हकपाली गरि अल्कानन्द नदीमा स्थान लगायत तातोपानीमा स्नान गरि अन्तिम पित्रृकार्य संपन्न गरि निकै भिडभाडका साथ बल प्रयोग गरि वद्रि नारायणको दर्शन गर्ने मौका मिल्यो । सोही दिन बीचमा बास बसी भ्रमण टोलि मिति २०८०।०६।११ गते काठमाण्डौको लागि प्रस्थान गर्यो । नैनितालवाट केहि कि. मि. को दुरीमा बास बसी पिलीभित हुँदै मिति २०८०।०६।१२ गते वेलुका सुनौलि स्थित भैरहवामा पुगियो । मिति २०८०।०६।१३ विहान भैरहवाबाट लोकल बसमा चढि निकै कठिनका साथ देवघाट हुँदै साँझ काठमाण्डौ पुगियो ।

यसरी निकै रफ्तारका साथ १९ दिनको भ्रमण संपन्न गरियो । यस भ्रमणको सकारात्मक पक्ष भनेको सबै भ्रमण टोलीका सदस्य निकै सहयोगी भएको कारण भ्रमण अवधिभर यात्रा रमाइलो र सुखमय भयो । सबै तिर्थस्थलहरूमा राम्रो संग दर्शन गर्ने पाईयो । रमणीय र ऐतिहासिक स्थलहरुको भ्रमण गर्ने अवसर पाउनु आफैँमा सुखद पक्ष हो । यस भ्रमणको नकारात्मक पक्ष भनेको ट्राभल एजेन्सीले जुन सेवा र शर्तमा भ्रमण गराउने वचन दिएको थियो सो अनुरुपको व्यवहार गरेको पाईएन । भ्रमणटोलीलाई राम्रोसंग गाईड गर्ने व्यक्तिको अभाव, होटलमा बस्ने प्रवन्ध राम्रो नभएको र पटक पटक सवारी साधन प्रयोग गर्दा विशेष गरि भैरहवाबाट काठमाण्डौ आउँदाको लोकल बसको अवस्था र दुखदायी यात्रालाई जिवन्त भुल्न सकिँदैन । फेरि हरेक जसो ठाउँहरुमा बास बस्ने होटल र तिर्थ यात्रामा प्रयोग भएको बस विसौनीको दुरी टाढा भएको हुंदा आफ्नै खर्चमा होटल सम्म लगेज र यात्री जानु पर्दाको कठिनाई कहालि लाग्दो थियो । साथै खाने कुरामा समेत राम्रोसंग ट्राभल्स एजेन्सीले हेरचाह गरेको पाईएन ।

तसर्थ यसरी तिर्थ यात्रामा जानु अघि हरेकले ट्राभल्स गराउँछु भन्ने कम्पनी कस्तो हो राम्रो सँग बुझेर मात्र भ्रमण गर्नुपर्ने हुन्छ एकातर्फ भने अर्कोतर्फ भ्रमण गर्नु अधि उक्त कम्पनीसंग लिखित संझौता नै गर्नुपर्ने अवस्था देखियो किनकी भनाई र गराईमा तादम्यता देखिएन जसले यात्रुलाई निकै कष्ट भयो । त्यस्तै विभिन्न पित्रि कार्यमा संलग्न हुंदा सबैको एकमतले पण्डाहरुले भने अनूरुप नगरी आफनो क्षमता अनुसार एक निश्चित रकम दक्षिणाको रुपमा दिनु पर्ने हुन्छ अन्यक्षा भारतका पण्डाहरुले ठग्न पाए भने तिर्थयात्रीलाई वेखर्चि नै बनाउने गरि दक्षिणा रकमको अफर गर्ने गरेका प्रति स्तम्भकार लगायतको टोली भुक्तभोगि छ ।

तपाईँको मत