दृष्‍टिकोण

विस्तृत गाइडलाइनको अभावकाबीच बैंकिङ्ग शिक्षा

बैंकिङ्ग शिक्षा भनेको बैंक तथा वित्तीय संस्थाहरुको नीति नियम, यसको अर्थ, महत्व, आवस्यकता, बैंकिङ्ग बैंकले दिने सेवा, बैंकिङ्ग वस्तुको मूल्य, सेवा लिँदा तिर्नुपर्ने शुल्क र अन्य यससंग सम्बन्धित विविध कुराहरुको बारेमा सर्वसाधारण सेवाग्राही र ग्राहकलाई दिने जानकारी मात्र नभै बैंक तथा वित्तीय संस्थाले दिने सेवाको तरिका, ग्राहकसंग गर्ने व्यवहार, कर्मचारीले बैंकमा पालना गर्नुपर्ने अनुशासन लगायतका कुरा पर्दछ यसले कुनैपनि व्यक्तिसंग भएका आर्थिक तथा वित्तीय स्रोत तथा साधनको, वित्तीय क्षेत्रमा उत्पादित वस्तुको बारेमा प्रभावकारी एव मित्तव्ययी उपयोग गर्ने विधि र ज्ञान दिन्छ । सीमित स्रोत र साधनको उच्चतम उपयोगबारे ग्राहक तथा सर्वसाधारणलाई जानकारी दिने र आर्थिक उन्नति गर्ने ज्ञान, सीप र कला प्रदान गर्दछ । वित्तीय साक्षरताको लागि विभिन्न बैंक तथा वित्तीय संस्थाले सामान्य बुकलेट प्रकाशन गरेको यदाकदा देखिन्छ ता पनि विस्तृत गाइडलाइन बनाउनेतर्फ अपेक्षित सफलता मिल्न सकेको भने देखिँदैन ।

बैंकिङ्ग कार्यक्रमहरुमा नियमित सबै बैंकरहरुबाट सुन्न सकिन्छ बैंकिङ्ग साक्षरता, बैंकिङ्ग शिक्षाको र यसको उपादेयताको चर्को भाषण र आवाज तर यो शिक्षा कसरी प्रदान गर्ने, कसलाई, कतिबेला कहां प्रदान गर्ने भन्ने बारेमा स्पष्ट गाइडलाइनको अभाव देखिन्छ । केन्द्रीय बैंकले बैंकिङ्ग शिक्षाको बारेमा थप पहल कदमीको साथै गाइडलाइन तयार गर्नेतर्फ समेत सिघ्र कदम चाल्नु पर्ने देखिन्छ ।  यस सम्बन्धी विस्तृत म्यानुयल नभए पनि नेपाल राष्ट्र बैंकको इ.प्रा.निर्देशन नं. २१-०७५ मा भनिएको छ आफूले प्रदान गर्ने वित्तीय सेवा, सबै प्रकारका खाता एवं कर्जा र वित्तीय उपकरण सम्बन्धी जानकारीको संक्षिप्त विवरण/पुस्तिका तयार गरी ग्राहक एवं सर्वसाधारणलाई उपलब्ध हुने व्यवस्था मिलाउनु पर्नेछ । तर वित्तीय शिक्षा सम्बन्धी पुस्तिका ग्राहक तथा सर्वसाधरणको पहुंचमा देखिँदैन । वार्षिक कार्यक्रममा व्यानर लिएर हिँड्दैमा र केहि यस सम्बन्धी सीमित गोष्ठि गर्दैमा वित्तीय शिक्षाको प्रवर्द्धन हुँदैन यसको लागि त देशको विभिन्न क्षेत्रको गाउँघर, टोलमा गई बैंकिङ्ग सेवा र यसको प्रयोग बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिनु पर्दछ ।

बैंकिङ्ग क्षेत्रको वार्षिकउत्सव र यस्तै राष्ट्रिय स्तरका कार्यक्रममा चर्को रुपमा यसतर्फ आवाज उठाएको बाहेक नियमित रुपमा बैंक सम्बन्धी जानकारी दिने पुस्तिका प्रकाशन, कार्यलय भित्र इकाई गठन वा डेस्क खडा भएको विरलै पाईन्छ । कसैले बैंकको बारेमा रिशेप्सनमा सोध्यो भने जवाफ त आउला वा नआउला तर बैंक तथा यसको वस्तु तथा सेवाको बारेमा मात्र जानकारी दिने भनेर कहि कतै फरक डेस्कको व्यवस्थाको अभाव हुनुले बैंकिङ्ग शिक्षामा काम भन्दा कुरा धेरै भएको र सम्बन्धित निकायको यसतर्फ अपेक्षित ध्यान दिन नसकेको भन्नुमा अन्त्युक्ति नहोला । बैंक तथा वित्तीय संस्थाको विधमान कानुन, कार्यविधि, परिपत्र र म्यानुयलको सहजता एव सरलताको बारेमा ग्राहक लगायतलाई बुझाउन र कर्मचारी आफैँले अक्षरंस पालनामा कतै चुकेको हो कि भन्ने एकातर्फ  देखिन्छ अर्कोतर्फ हाइपो कर्जा, ओडि, हायरपर्चेज, गाडि लोन आदि बारे ग्राहकलाई विस्तृत ज्ञानको समेत अभाव देखिन्छ ।

वित्तीय शिक्षाको विकास र प्रवर्द्धन आजको आवश्यकता भएको हुंदा प्राइमरी, हाइस्कुल र कलेजमा समेत यससम्बन्धी पाठ्यक्रमको व्यवस्था गर्नु पर्ने देखिन्छ । त्यसो त कलेज लेभलमा बैंकिङ्ग र बीमा भन्ने पुस्तकको व्यवस्था छ ता पनि पर्याप्त आधुनिक बैंकिङ्ग सम्बन्धी सूचना नभएको हुंदा वित्तीय साक्षरता वा शिक्षा भन्ने नामकरण नै गरी पाठ्यक्रम लागु गर्नु पर्ने देखिन्छ ।  हुनत नेपालमा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त र सहकारी, हुलाक वचत लगायत शेयर मार्केट लगायतको प्रोडक्ट संस्था पिच्छे नै फरक हुन सक्ने भएता पनि साझा रुपमा हेर्दा शेयर मार्केट र बीमा कम्पनीवाहेक बैंक तथा वित्तीय संस्था र यसले दिने सेवा तथा वस्तु एकै प्रकारको भएको हुंदा बैंकिङ्ग कारोबार लगायतको विस्तृत रुपमा ज्ञान हुने पाठ्यक्रम नै तयार गरी लागु गर्न र बैंकिङ्ग क्षेत्रले साक्षरता सम्बन्धी गाइडलाइन बनाउन ढिला भै सकेको हुंदा सम्बन्धित निकायको यसतर्फ ध्यान जानुपर्ने देखिन्छ । यस्तो व्यवस्थाले मात्र महिला, वालवालिका के  युवा के प्रौढ समेतलाई भविष्यमा खर्च र वचतको जानकारी दिने वित्तीय योजना र वचत गर्ने बानीबारे ज्ञान दिन संभव हुन्छ । वित्तीय शिक्षा दिगो बैंकिङ्गको लागि, तरलता व्यवस्थापनको लागि, आन्तरिक संचालन जोखिम कम गर्न, साईवर अपराधबाट बच्न, ग्राहक सम्वन्ध स्थापित गर्न, ग्राहक संरक्षण गर्न, कर्जा व्यवस्थापन लगायतमा अपरिहार्य देखिन्छ ।

बैंकिङ्ग क्षेत्रमा केही नयाँ शव्दको प्रयोग र केहि सामाजिक उत्तरदायित्व सम्वन्धी कार्य गरेर सेलिव्रेटी बन्नु भन्दा देशमा उद्धमशिलताको विकास गर्ने, बैंकिङ्ग शिक्षाको प्रचुर मात्रामा प्रचार प्रसार गर्ने, नोटको जतन कसरी गर्ने भन्ने बारेमा थप शिक्षा प्रचार गर्ने, बैंक के हो र यसबाट के कस्ता सुविधाहरु पाईन्छ लगायतका बारेमा विभिन्न संचार माध्यम, फेसवुक, ट्विटर आदिको माध्यमबाट गहन र सुक्ष्म जानकारी दिन सकेमा मात्र सच्चा सेलिव्रेटी बैंकर बन्न सकिने कुरामा कसैको दुइमत नहोला । तर नेपालमा समाजिक संजालमा फेशन सो, बैंकका प्रोडक्ट सो, हाम्रो बैंकले यस्तो कार्य गर्यो, मैले यस्तो कार्य गरें भन्दै विभिन्न विचारहरु प्रस्तुत गर्नेहरुको पछिल्ला दिनमा लर्को लाग्ने गरेको छ जुन अधिकांश जनसंख्या र ग्राहकले बुझ्न कठिनाई भै रहेको देखिन्छ ।

वित्तीय शिक्षाको लागि शहर, गाउँघरमा प्रदुषण नहुने गरी पोष्टर, पम्प्लेट, टेलिभिजनमार्फत सन्देश दिने,  टेलिफिल्म बनाउने, विभिन्न  बैंकिङ्ग प्रोडक्टको बारेमा ग्रामीण क्षेत्रमा घरदैलो कार्यक्रम मार्फत गाउँ गाउँमा गएर बैंक तथा वित्तीय संस्था र यसको वस्तु तथा सेवा वारेमा सर्वसाधरण सबैलाई जानकारी दिने गर्नु पर्दछ ।  दिगो फराकिलो र समावेशी आर्थिक विकासको लागी बैंकिङ्ग शिक्षा मेरुदण्ड भएको हुंदा घुम्ती बैंकिङ्ग, बैंक तथा वित्तीय संस्थाले दिने सेवा र शुल्क, बैंकसंग कारोबार गर्दा के फाईदा हुन्छ, बैंकबाट कर्जा कसरी पाईन्छ, बैंकमा खाता खोल्ने सरल विधि, ग्राहक पहिचान विवरणलाई सहज र सरल बनाउने, मोवाईल बैंकिङ्ग कसरी चलाउने, एविविएस भनेको के हो, एटिएम कार्डले रकम कसरी निकाल्ने, कुन सेवा लिँदा कहां सम्पर्क गर्ने,  बैंकमा खाता नहुंदा र कारोबार नगर्दा के वेफाइदा छ भन्ने बारेमा अहिलेसम्म पनि धेरै व्यक्तिमा द्विधा भएको हुंदा यस सम्वन्धी गाइडलाइनको आधारमा विस्तृत डायरी प्रकाशन गर्ने र सबै साक्षर ग्राहकलाई एवं सर्वसाधरण समेतलाई बैंकर्स एसोसिएशनको पहलमा वितरण गर्न सकेको खण्डमा अधिकांसमा बैंक तथा वित्तीय संस्थाको जानकारी हुने देखिन्छ ।

बैंकर्स एसोसिएसन शेयर होल्डरको हित गर्ने, कसरी नाफा मात्र गर्ने, कसरी आफ्नो हित गर्ने र कसरी नियमनकारी निकाय र सरकारसंग वार्गेनिंग गर्ने भन्ने लगायतमा मात्र पछि लागेको हो कि भन्नेतर्फ सर्वसाधरणको जिज्ञासा बढेको छ । केन्द्रीय बैंक र बैंकर्स एसोसिएशनले यसतर्फ आफ्नो दायित्वलाई थप विस्तार गर्दै बैंकिङ्ग शिक्षा सर्वसाधरणमा कसरी दिने, कसरी बैंकिङ्ग सुरक्षा र ग्राहकको हितमा काम गर्ने, कसरी छिटो छरितो र गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने, नयाँ प्रविधिको विकास कसरी गर्ने, ग्राहकका चाहना अनुसारका वस्तु तथा सेवाको विकास कसरी गर्ने, कसरी बैंकिङ्ग समावेशीता र विस्तारलाई अगाडि बढाउने, कसरी बढि भन्दा बढि बैंक तथा वित्तीय संस्थाप्रति जनविश्वास बढाउने भन्ने कार्यमा लाग्न सकेको खण्डमा मात्र दिगो आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाले खेलेको भूमिका अझ सुदृढ भई बैंकप्रति जनविश्वास बढ्ने कुरामा कसैको विमति नरहला ।

लेखक बैंक तथा वित्तीय संस्था सम्बन्धी विज्ञ हुन् ।

तपाईँको मत