गाउँ सहर

सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ।

काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो।

अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार जिल्ला अदालतका ३० फाँटमध्ये आज २१ वटा फाँटमात्रै इजलास बस्ने छ।

९ जना न्यायाधीश अनुपस्थित रहेकाले ती फाँटहरूमा इजलास बस्ने छैन। ६ जना न्यायाधीश सरूवा भएर आउनै बाँकी रहेको र ३ जना न्यायाधीश बिदामा रहेको सूचना अधिकारी दाहालले जानकारी दिए।  

काठमाडौं जिल्ला अदालतमा गोला प्रथाबाट इजलास तोकिन्छ।

असोज महिनामा मात्रै सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ तेस्रो पटक स्थगित भएको हो। यसअघि असोज १ र ७ गते पनि न्यायाधीश अभाव भन्दै जिल्ला अदालत काठमाडौंले मुद्दाको सुनुवाइ स्थगित गरेको थियो।

जिल्ला अदालत काठमाडौंमा अन्तिम बहसका लागि पेशी चढेकै ७ महिना बढी भयो। त्यसपछि एक दर्जन न्यायाधीशको इजलासमा परे पनि यो मुद्दाको बहस सुनेर फैसला सुनाउन आँट भने कसैले पनि गरेका छैनन्।

सर्वोच्च अदालतले मुद्दालाई चाँडै टुंगो लगाउनु भनेपनि काठमाडौं जिल्ला अदालत यसबारे उदासिन देखिएको छ।

यसरी सन्दीपविरूद्धको मुद्दामा अन्तिम बहस सुरू हुने भनेर पेशी चढेको ८ महिना हुनै लाग्दासमेत सुनुवाइ हुन सकेको छैन।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

गाउँ सहर संवाददाता

तपाईँको मत