साँगा–धुलिखेल सडक विस्तार गरिरहेकाे ठेकेदार कम्पनीले भुक्तानी नपाएपछि निर्माण रोक्ने चेतावनी
- गाउँ सहर संवाददाता
- ९ असोज मंगलबार, २०८० | १६:४८:०० मा प्रकाशित

काभ्रे । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक चार लेनमा विस्तार आयोजनाको साँगा–धुलिखेल सडकखण्डमा कामबापतको रकम भुक्तानी नपाए ठेकेदार कम्पनीले निर्माण रोक्ने चेतावनी दिएको छ।
कुल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किलाेमिटर सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको हो।
सडक विभागका अनुसार ठेक्का रकम रु. चार अर्ब पाँच करोड ६४ लाख छ। साँगा–धुलिखेल सडकखण्डमा सडक विस्तारको काम १५ प्रतिशत सकिएको जनाइएको छ।
निर्माण कम्पनीले सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनासँग गत जेठमै रु. १५ करोड भुक्तानी माग गरेकामा हालसम्म नपाएपछि धुलिखेलमा सरोकारवालासँगको छलफलका क्रममा निर्माण रोक्ने चेतावनी दिइएको हो।
‘दसैँसम्ममा मागअनुसारको रकम भुक्तानी नभए साँगा–धुलिखेल सडकखण्डको काम रोक्नेछौँ,’ कन्स्ट्रक्सनका प्रतिनिधि रवीन्द्र श्रेष्ठले भने।
भक्तपुर सडक डिभिजन कार्यालयका सिनियर डिभिजन इन्जिनियर नारायणप्रसाद लामिछानेले निर्माण कम्पनीबाट रु. १५ करोड माग भएको, तर भुक्तानी ढिला हुने भएको बताए।
उनका अनुसार सूर्यविनायक–धुलिखेलसम्म पुल निर्माणसहित सडक विस्तारका लागि कुल नौ अर्ब लाग्ने र यसमध्ये जम्मा रु. ५४ करोड मात्रै ‘स्रोत सुनिश्चितता’ भएको छ।
‘सुनिश्चित स्रोतमध्ये रु. १५ करोड मात्रै सरकारको हो, निर्माण कम्पनीलाई भुक्तानीको प्रक्रियामा लागिएको छ,’ लामिछानेले भने।
आयोजनाका लागि हाल सरकारसँग रु. एक अर्ब माग गरिएको लामिछानेले बताए। उनका अनुसार साँगा–धुलिखेल सडकखण्डअन्तर्गतका रूख कटान कार्य सुरु गरिएको तथा विद्युतका खम्बा हटाउन विद्युत् प्राधिकरणसँग प्रक्रिया थालिएको छ।
छलफलमा सडक विस्तारको कामलाई निरन्तरता दिन सकिए समयमै काम सम्पन्न हुने अपेक्षा गरिएको थियो। साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि ०७९ फागुनदेखि सो सडकखण्ड विस्तार थालिएको हो।
दोस्रो चरणमा सम्झौता भएको भक्तपुरको सूर्यविनायक–साँगा ७.५ किलाेमिटर सडकखण्ड भने रु. तीन अर्ब ८८ करोड ९३ लाखको छ। यी दुवै सडक खण्डको ०७९ फागुनमा ३६ महिनाभित्र सक्नुपर्ने सम्झौता गरिएको थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस