गाउँ सहर

नेपालमा ६२ प्रतिशत परिवार कृषक, हलोको प्रयाेग गर्ने सङ्ख्यामा गिरावट

काठमाडौं । नेपालमा ४१ लाख बढी कृषक परिवार रहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय कृषिगणना २०७८ का अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ परिवार कृषक रहेका छन् ।

उनीहरुले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषि कार्य गरेका छन् । अघिल्लो दशकमा भन्दा कृषक परिवार बढेको देखिएको छ । २०६८ को कृषि गणनाअनुसार नेपालमा ३८ लाख ३१ हजार ९३ परिवार कृषक रहेका थिए ।

त्यसैगरी नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । यो भने अघिल्लो गणनाभन्दा घटेको पाइएको छ । अघिल्लो गणनामा ७१ प्रतिशत कृषक परिवार थिए ।

राँगा र भैंसीको संख्या २९ लाख २३ हजार

राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार नेपालमा राँगा र भैंसीको कुल संख्या २९ लाख २३ हजार छ ।

यसअघि २०६८ को गणनामा यस्तो संख्या ३१ लाख ७४ हजार थियो । केन्द्रीय तथ्यांक कार्यालयकाअनुसार १० वर्षमा राँगा र भैंसीको संख्या २ लाख ५१ हजारले घटेको हो ।

विवरणअनुसार राँगा र भैंसी पाल्ने कृषक परिवार संख्यामा पनि ठूलो गिरावट आएको छ । २०६८ सालमा राँगा र भैंसी पाल्ने किसान परिवारको संख्या १६ लाख ६९ हजा रहेकामा नयाँ गणनामा यस्तो परिवार संख्या १४ लाख १७ हजारमा सिमित भएको छ । जुन २ लाख ५२ हजार परिवारले कम हो । 

गाई-गोरू पाल्ने कृषकको संख्यामा ठूलो गिरावट

 कृषि गणना २०७८ को नतिजाअनुसार पछिल्लो १० वर्षमा गाई र गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट आएको छ ।

तथ्यांक अनुसार हाल १७ लाख ८ हजार घर परिवारले गाई-गोरु पालन गरिरहेका छन् । जुन अघिल्लो गणनाको तुलनामा ५ लाख ७३ हजार परिवारले कम हो । २०६८ मा २२ लख ८१ हजार परिवार गाई-गोरु पालनमा थिए । नयाँ तथ्यांकअनुसार नेपालमा एउटा परिवारसँग गाई र गोरुको संख्या करिब ३ वटा छ ।

कार्यालयकाअनुसार नेपालमा १८ लाख ७७१ हजारले गाई र गोरुको संख्या घटेको छ । नयाँ तथ्यांकअनुसार नेपालभर अहिले गाई र गोरुको कुल संख्या ४५ लाख ५९ हजार छ । जुन गत २०६८ सालमा देशभर गाई र गोरुको संख्या ६४ लाख ३० हजार थियो ।

कृषिका लागि ट्याक्टर प्रयोग गर्नेको सङ्ख्या दोब्बर, हलोको सङ्ख्यामा गिरावट

कृषिगणना २०७८ ले नेपालमा कृषिकार्यको लागि ट्याक्टर प्रयोग गर्नेको सङ्ख्या दोब्बर भएको देखाएको छ । कृषिगणना २०६८ ले ८ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यको लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषिगणना २०७८ ले यो सङ्ख्या झण्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको हो ।

यसैगरी सन्दर्भ अवधिमा ४,७१,२६० कृषक परिवारले कृषिकार्यकालागि पावरट्रिलर प्रयोग गरेको र १,१७,९९१ वटा पावरट्रिलर सञ्चालनमा रहेको देखिन्छ । यी दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको सङ्ख्यामा उल्लेखनीय रूपमा गिरावट आएर ८५६, २८३ बाट ५०९.८२५ वटा हुन पुगेको देखिन्छ । त्यस्तै कृषिगणना २०७८ ले ४२,००८ कृषक परिवारले ४८,७६३ वटा पोखरीमा माछापालन गरेको देखाएको छ । यसरी माछापालन गरिएका पोखरीहरूको कूल क्षेत्रफल १०,३८३ हेक्टर रहेको समेत यो गणनाले औँल्याएको छ । अघिल्लो कृषिगणना २०६८ ले यस्ता कृषक परिवारको सङ्ख्या १७,१९१, पोखरीको सङ्ख्या २१,२७७ र पोखरीको जम्मा क्षेत्रफल २,५१९.७ हेक्टर देखाएको थियो ।

यो गणनाको प्राप्त नतिजाले १७,५५४ कृषक परिवारले च्याउखेती गरेको देखाएको छ । गणनाको प्राप्त नतिजाअनुसार १,९६,८५४ कृषक परिवारले ५, १०,४१४ वटा घारमा मौरीपालन गरेको पाइएको छ । अघिल्लो कृषिगणना २०६८ को नतिजाअनुसार मौरीपालन गर्ने कृषक परिवारको सङ्ख्या १२४,१५० पाइएको थियो ।

यो गणनाको प्राप्त नतिजाले १०,३७५ कृषक परिवारले ५९७.७ हेक्टर जग्गामा पुष्पखेती / नर्सरीखेती गरेको देखाएको छ । कृषिगणना २०७८ अनुसार ४,८३,२०८ (११.७ प्रतिशत) कृषक परिवारले कृषि प्रयोजनको लागि ऋण लिएको बताएका छन् भने २०६८ को गणनामा यसप्रकारको ऋण लिएको भनी उल्लेख गर्ने कृषक परिवारहरू ८,३५,९२१ (२१.८ प्रतिशत) रहेको देखिएको थियो।

गाउँ सहर संवाददाता

तपाईँको मत