गाउँ सहर

अध्यागमन घेर्न पुगे वैदेशिक रोजगारी व्यवसायी

काठमाडौँ । वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई रोकेको भन्दै मेनपावर व्यवसायीले अध्यागमन विभाग घेराउ गरेका छन्।  नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले विभाग घेराउ गर्दै प्रदशन गरेका हुन् । उनीहरूले अध्यागमन विभागका महानिर्देशकको राजीनामा समेत माग गरेका छन् । 

२–३ सयको हाराहारीमा रहेका व्यवसायीहरूले विभाग कार्यालयमा विरोध प्रदशन गर्नुका नाराबाजी गरेका हुन् । संघका महासचिव मेघनाथ भुर्तेलले विना कारण श्रमिकलाई रोक्ने डिजीले राजीनामा दिनुपर्ने बताए।  वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११७ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले रोक लगाएको थियो ।

कागजात शंकाष्पद रहेको कारण देखाउँदै अध्यागमनले रोकेको थियो । तर, व्यवसायीहरूले भने भिसा, श्रम स्वीकृत, हवाई टिकट लगायतका सबै कागजात हुँदा पनि अध्यागमनले रोकेको आरोप लगाउँदै आएका छन् । 

वैदेशिक रोजगार ऎन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरि सस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेकाहरूलाई अध्यागमनले रोक्दै आएको महासचिव भुर्तेलले बताए ।  बिनाकारण कामदारहरु फर्काइरहेकोले व्यवसाय गर्न समस्या भएको उनको भनाई छ । अध्यागमन कार्यालयका महानिर्देशकले ज्यादती गर्दै आएको भन्दै उनको राजीनामा माग गरिएको बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत