स्वास्थ्य

नौ जिल्लामा आजबाट खोप अभियान सुरु हुँदै 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ ।

स्वास्थ्य सेवा विभागले आजदेखि नौ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जनाएको छ । 

सरकारले दादुरा रुवेलाको महामारी फैलन नदिन बिहीबारबाट असारको पहिलो हप्तासम्म नौ जिल्लामा दादुरा रुवेला विरुद्धको खोप अभियान सुरु गर्ने भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कन्चनपुर र बाजुरा गरी नौ जिल्लाबाट दादुरा रुबेला विरुद्धको खोप अभियान सुरु गर्न लागेको हो । 

नौ जिल्लाका ६ महिनादेखि  १५ वर्ष उमेर मुनिका १५ लाख  बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको भण्डारीले जानकारी दिए । 

समुदायमा रोग विरुद्ध रोगप्रतिरोधात्मक क्षमता बढाई भविष्यमा हुन सक्ने दादुरा रुबेलाको महामारी रोक्न खोप अभियान सुरु गर्न लागिएको हो ।   

नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र खोप केन्द्रबारे जानकारी लिई आफ्ना बालबालिकालाई खोप लगाउन मन्त्रालयको अनुरोध छ ।  यो विरुद्धको खोप सुरक्षित भएकोले ढुक्का भएर लगाउन भण्डारीको सुझाव छ । 

दादुरा के हो ?

सरुवारोग विशेषज्ञ डा.जनक कोइरालाका अनुसार दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । दादुरा रोग कोभिड-१९ भन्दा पनि तीव्र गतिमा फैलिने र यसको मृत्युदर पनि उच्च रहेको छ । एक जना दादुरा संक्रमितले १८ जनालाई रोग सार्ने सम्भावना हुन्छ । यो रोग विशेष गरी पाँच वर्ष मुनिका बालबालिकााई धेरै लाग्ने गर्छ । 

उनका अनुसार दादुरा भाइरस मानिसबाट मानिसमा मात्र सर्दछ । यो भाइरस सङ्क्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्धि हुने र श्वास नली एवम् भित्री अङ्गमा सङ्क्रमण गर्दछ । दादुरा रोग सङ्क्रमण भएको व्यक्तिले खोक्दा हाछ्यु गर्दा निस्कने छिट्टा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।

डा. कोइरालाका अनुसार ज्वरो आउनु र शरीरमा राता बिमिरा देखा पर्नु दादुरा रोगका प्रमुख लक्षण हुन् । यसको साथै रुघाखोकीको लक्षणहरूमा नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने जस्ता लक्षण देखिने डा. कोइराला बताउँछन् । चिकित्सकका अनुसार रोगीको सम्पर्कमा आएको १० देखि १२ दिन पछि मात्र दादुराको लक्षण देखा पर्दछ । दादुरा सङ्क्रमित व्यक्तिलाई डाबर र बिमिरा देखा पर्नुभन्दा ४ दिन अगाडि देखि र डाबर देखा परेको ४ दिन पछिसम्म अर्को व्यक्तिमा सर्न सक्दछ ।

दादुरा रोग लागेपछि यसको उपचार छैन र  सङ्क्रमण फैलिन नदिन रोग लागेका व्यक्तिहरूलाई छुट्टै राख्नुपर्छ ।

साथै बिरामीलाई भिटामिन ‘ए’ अनिवार्य रूपमा खुवाउन चिकित्सकको आग्रह छ । दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुराविरुद्धको खोप लगाउनु हो । यो रोगबाट बचाउन सरकारले राष्ट्रिय खोप अभियान अन्तर्गत नौ देखि १५ महिनासम्मका बालबालिकालाई खोप अभियान सञ्चालन गर्दै आएको छ । बालबालिकालाई अनिवार्य रूपमा दादुरा खोप लगाउन चिकित्सकको सुझाव। दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विभिन्न अध्ययनले देखाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत