गाउँ सहर

कांग्रेस नेतृ मिना पाण्डेकाे निधन, महिला अधिकारका लागि उम्दा

काठमाडाैं । नेपाली कांग्रेसकी नेतृ मिना पाण्डेको निधन भएको छ ।

लामो समयदेखि क्यासरबाट पीडित रहेकी पाण्डेको आज बिहान ७ बजे काठमाडौंमा निधन भएको हो ।

०४८ सालकी सांसद पाण्डे ०५१ मा पुनः निर्वाचित भएपछि महिला, बालबालिका तथा समाजकल्याणमन्त्री भएकी थिइन् । ०६४ को पहिलो संविधानसभामा सदस्य रहेकी पाण्डे ०७४ मा समानुपातिकतर्फबाट सांसद थिइन् ।

सर्लाहीकी पाण्डे नेपालमा महिला अधिकारका लागि आवाज उठाउनेमध्येकी एक हुन् । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघको सभापति भएर काम गरेकी उनी पटक–पटक कांग्रेस केन्द्रीय सदस्य बनेकी थिइन् । उनी पद्मकन्या क्याम्पसको पहिलो स्ववियु सभापति थिइन् ।

उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा महिला मन्त्री थिइन् । २०४८ र २०५१ मा प्रत्यक्ष निर्वाचित भएकी उनी २०७४ सालमा समानुपातिक तर्फबाट सांसद् बनेकी थिइन् ।
लामो समयदेखि स्वासप्रश्वास सम्बन्धि रोगले सताएको थियो ।

काे हुन् मिना पाण्डे ?

मिना पाण्डे २००९ वैशाखमा रामेछापकाे बेथानमा जन्मेकी हुन् । विवाहपश्चात् उनी सर्लाहीलाई कार्यक्षेत्र बनाएर राजनीतिमा सक्रिय थिइन् । राजनीति शास्त्रमा स्नातक गरेकी पाण्डे मन्त्री र सांसद भइन् ।

०३५ सालतिर पद्मकन्या क्याम्पसबाट नेविसंघमा आबद्ध भई राजनीति शुरू गरेकी पाण्डेले पछि काङ्ग्रेसमा रहेर सक्रिय रूपमा राजनीति गर्न थालिन् । उनी विद्यार्थी छँदा नै स्वतन्त्र विद्यार्थी यूनियनको गठन गर्न पाउने अधिकार प्राप्त भयो । त्यसपछि पद्मकन्यामा ०३६ सालको निर्वाचनमा उनको प्यानलले जितेको थियो । 

आफ्नो अध्ययन पूरा गरेर पार्टी राजनीतिमा सक्रिय रूपमा लागेकी उनी २०४८ र २०५१ मा सर्लाही क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निवार्चित भइन् । त्यसैगरी, ०६४ र ०७४ मा समानुपातिकका तर्फबाट गरी पाण्डे ४ पटक सांसद बनिन् । 

राजनीतिक प्रेरणा 

दाजु शिवबहादुर खड्का तथा बुबा काङ्ग्रेसको राजनीतिमा सक्रिय थिए । दाजुहरू र देशभरिका राजनीतिकर्मीले पाएको यातनाले गर्दा उनलाई पञ्चायती व्यवस्थाको विरुद्धमा लाग्न प्रेरित भएकी थिइन् । उनका भाइ रामचन्द्र खड्का पनि रामेछापमा सक्रिय राजनीतिमा छन् ।

०३५ र ०३६ मा विद्यार्थी आन्दोलन भयो । २६ बुँदे विभिन्न किसिमका माग राखेर विद्यार्थीहरू संघर्षमा उत्रिएका थिए । आन्दोलनमा उत्रिने क्रममा म ०३५ चैत्र ३ गते पक्राउ परेकी थिइन् । प्रतिबन्धित राजनीतिमा काम गर्दा थुना, यातना खेपेकी थिइन् । नेपालमा भएका सत्याग्रह, अहिंसात्मक आन्दोलनमा सरिक भइन् । ०३८ मा विद्यार्थी संघको आन्दोलनमा उनलाई वनकालीबाट पक्रेर ७/८ दिन हनुमान् ढोकामा राखिएकाे थियाे । ०५८ मा सुरु भएको प्रतिगमनविरुद्ध दैनिक म्यादी प्रहरी जस्तो गरेर राजनीतिमा सक्रिय रहिन् ।  ०६२/६३ को आन्दोलनपछि सातै दलमा आबद्ध सडक आन्दोलनमा पनि सक्रिय सहभागी रहिन् । 

सभापति देउवालाई भाइटीका लगाउँथिन्

मिनाका दाई शिवबहादुर खड्का शेरबहादुर देउवाका अत्ति मिल्ने साथी हुन् । दाईसँग देउवाको सम्बन्धको कारण देउवा र मिनाबीच पनि दाईबहिनीको सम्बन्ध भएको थियाे । शिवबहादुर र देउवा २०२१ सालमा नख्खु जेलमा सँगै सबेका थिए । त्यो बेला पनि मिनाले आफ्ना दाजु र देउवालाई भाइ टीका लगाएकी थिइन् । त्यो बेलादेखि मिनाले देउवालाई टीका लगाउँदै आएकी थिइन् । 

कांग्रेसले तीन दिन शोक मनाउने

कांग्रेसले पाण्डेप्रति सम्मान प्रकट गर्दै जेठ १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने र जेठ १७ गते केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।

निधन भएको १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राखिने र  १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गरिने निर्णयसमेत गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

गाउँ सहर संवाददाता

तपाईँको मत