गाउँ सहर

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय, पृथ्वीजयन्ती र ‘जनयुद्ध दिवस’ को बिदा थप

काठमाडौं । सरकारले आगामी वर्ष २०८० सालको सार्वजनिक बिदा पुनरावलोकन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सार्वजनिक बिदा निर्धारण गर्नका लागि भाद्र भित्र बिदाको पुनरावलोकन गर्ने निर्णय भएको जानकारी दिइन् ।

उनले पुस २७ गते पृथ्वीजयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप गरी वर्षका सबै बिदा क्यालेन्डरमा उल्लेख गर्न अनुमति दिने र २०८० साल भाद्रभित्र सार्वजनिक विदाको पुनरावलोकन गरिने बताइन् ।

यस्ता छन् फागुन ४ गतेमा बसको मन्त्रिपरिषद् बैठकका निर्णयहरु 

१. संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ फिर्ता लिने ।

२. लगानी (इन्भेष्टमेन्ट) कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा शर्त नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृति दिने ।

३. मण्डनदेउपुर-६, बेथानचोक-२, लिखु ४, रघुगंगा- २, तातोपानी- ४, रिब्दीकोट-३, रुरुक्षेत्र ४ र अपिहिमाल ४ गरी जम्मा ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने ।

४. बर्ड फ्लु रोग नियन्त्रणका क्रममा आ.व. २०७८/७९ मा प्रचलित कानून बमोजिम नष्ट गरिएका वस्तुहरूको लागि राहत प्रदान गर्ने ।

५. मिति २०७९ फागुन १० गतेदेखि १८ गतेसम्म सञ्चालन हुने Towards the Design of Effective Regulatory Arrangements for WASH in South Asia विषयक कार्यक्रममा सहभागिताको लागि सचिव श्री मणिराम गेलाललाई भ्रमण गर्न स्वीकृति प्रदान गर्ने ।

६.संबत् २०८० सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने ।

७. २०७९ फागुन १५ देखि १८ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ५२ औं सत्रमा माननीय परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिने।

८. तत्कालीन जिल्ला पञ्चायत सचिवालय जिल्ला पशु सेवा शाखा कार्यालय गोरखाका नाममा रहेको जिल्ला गोरखा साविक सिर्दिवास गा.वि.स. वडा नं. ८ को ४-६-२-२ रोपनी जग्गा चुमनुब्री गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने ।

९. ललितपुर जिल्ला साविक लुभु वडा नं. ३क को २-२-०-० रोपनी सरकारी जग्गा लुभु प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणार्थ महालक्ष्मी नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिने।

१०. मोरङ जिल्ला साविक लेटाङ गा.वि.स. वडा नं. १ को ०-४-१६ विघा सार्वजनिक जग्गा ३० वर्षका लागि प्रहरी चौकी बुधवारे लेटाङलाई प्रयोग गर्न स्वीकृति दिने ।

११. काठमाडौं जिल्ला साविक थानकोट गा.वि.स. वडा नं. २ को २३-०- ०-० रोपनी सरकारी जग्गा चन्द्रागिरी नगरपालिकालाई १५ (पन्ध्र) शैंयाको आधारभूत अस्पताल निर्माणार्थ उपयोग गर्न स्वीकृति दिने।

१२. २०७९ फाल्गुण २८ देखि चैत्र ४ सम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा हुने Study Tour Program on Transport Sector Management" विषयक कार्यक्रममा सचिव श्री केशव कुमार शर्मालाई सहभागी हुन स्वीकृति दिने ।

१३. नेपाल इन्जिनियरिङ्ग परिषद् अध्यक्ष पदमा ई. डा. पदम बहादुर शाही, उपाध्यक्ष पदमा ई. डा. विकास अधिकारी र सदस्यमा ई. डा. रेश्मा श्रेष्ठलाई मनोनयन गर्ने ।

१४. मिति २०७९ फागुन ११ देखि १२ सम्म स्विट्जरल्याण्डमा हुने 5th |Global Ministerial Summit on Patient Safety विषयक सम्मेलनमा माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीलाई सहभागी हुन स्वीकृति दिने ।

१५. स्वास्थ्य सेवाका विभिन्न समूहका अधिकृतहरूलाई स्वास्थ्य सेवाका एघारौं तहमा बढुवा नियुक्ति गरी पदस्थापन गर्ने। 

गाउँ सहर संवाददाता

तपाईँको मत