राजनीति

विपक्षी गठबन्धन बलियाे बनाउने कसरतमा कांग्रेस, सरकारसँग असन्तुष्ट दलहरूसँग छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । कांग्रेसले आज एकीकृत समाजवादी, जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीसँग छलफल गर्दैछ ।

बैठकमा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपति निर्वाचको विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन माघ २३ गते हुँदै छ । यस्तै निर्वाचन आयोगले फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको छ । दुई निर्वाचनका लागि प्रतिपक्षी दलहरू कसरी अघि बढ्ने भनेर कांग्रेसले तयारी गर्न बैठक बोलाएको हो ।

बिहीवार बसेको कांग्रेस संसदीय कार्यसमितिको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता साझेदार दल र विपक्षी मोर्चाबीच छलफल गरेर उम्मेदवारी टुङ्गो लगाउने निर्णय गरेको थियो । यस्तै २५ गते लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपचुनाव हुँदैछ । उपचुनावको लागि विपक्षी मोर्चाबाट कांग्रेसले उम्मेदवार खडा गरेको छ । उपचुनावको लागि एमालेका कुमार दसौदी, नेपाली कांग्रेसका माधव प्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका गजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएका छन् ।

विपक्षी दलहरुबीच आज हुने बैठकमा राष्ट्रिय सभाको उपचुनावको तयारी र राष्ट्रिय सभा उपाध्यक्षमा पनि साझा उम्मेदवारको विषयमा कुरा हुने कांग्रेसले जनाएको छ । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि भएको सभामुख र उपसभामुख चुनावमा कांग्रेस, एकीकृत समाजवादी, लोसपा र जनमोर्चा एक ठाउँ थिए ।

विपक्षी मोर्चालाई राष्ट्रपतिको चुनावसम्म लैजाने र राजनीतिक परिस्थिति हेरेर राष्ट्रपतिमा उम्मेदवार अगाडि सार्ने कांग्रेसको रणनीति छ । सत्ता गठबन्धनभित्र राष्ट्रपति एमालेलाई दिने सहमति भए पनि पछिल्लोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमा साझा उम्मेदवार हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

राष्ट्रपति निर्वाचनमा भने कांग्रेसले वर्तमान गठबन्धन भत्काएर गोप्य मतदानको फाइदा उठाउँदै राष्ट्रपति निर्वाचनमा आफू सफल हुने तयारी गरिरहेको छ । त्यसकारण सरकारमा नभएका दलहरूसहित सरकारलाई समर्थन दिएको जसपा, नागरिक उन्मुक्ति पार्टीलाई पनि कांग्रेसले विश्वासमा राख्न खोजिरहेको छ । त्यसैको प्रयासमा शनिबारका लागि बैठक बोलाइएको कांग्रेस नेताहरू बताउँछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत