समाज

प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्कने, सर्वोच्चको मूल गेटमा बारको धर्ना

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना सुरु गरेको छ । 

बुधबार संघीय संसद सचिवालयले गत १ फागुनमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको बताएसँगै उनी आजै सर्वोच्च फर्कने तयारी गरेका छन् । त्यसपछि बार एशोसिएशनको आकस्मिक बैठक बसेर बार पदाधिकारीहरुले अदालतको मूल गेटमा धर्ना दिएका हुन् । महाभियोग निष्क्रिय पार्ने निर्णय गैरकानुनी भएको बारको निष्कर्ष छ ।

धर्नामा नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत सहभागी छन् । यसअघि पनि जबराले आफू सर्वाेच्च जान लागेकाे भनेपछि बारले विराेध जनाएकाे थियाे । सर्वोच्चमा अहिले सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत