गाउँ सहर

डेंगु र काेराेनासँगै दशैँ सुरूः १० दिन यसरी मनाइन्छ, सावधानी अपनाउँ

काठमाडौँ । आजबाट नवरात्रि आरम्भ भएको छ, घरघरमा जमरा राखिँदैछ । घट कलशको स्थापना गरी देवी-देवतालाई आवाहन गरिँदैछ । शहरबाट गाउँ जाने अनि गाउँबाट शहर आउनेको भिड बढेको छ ।

हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा विजया दशमी का नामले पनि चिनिन्छ । हिन्दु चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले दशैँ पनि अङ्ग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्य देखि अक्टोबर महिनाको मध्य बिचमा पर्छ ।

दशैँ आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ, जुन आज हाे । दशैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दसौँ दिनलाई दशमी वा दशैँ भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ ।

ब्रह्मवैवर्त पुराण अनुसार वर्णन गरिएका नव दिग्दुर्गाहरू यी हुन्ः प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी-उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका-जल, थल र आकाश । पहिलो दिन शैलपुत्री दोस्रो दिन ब्रह्चारिणी, यसैगरी चन्द्रघन्टा, कुस्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ ।

घटस्थापना

झिसमिसे बिहानी मै ब्रम्हमुहुर्तमा आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई  पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँ घरमा चलिआएको अन्न छरिन्छ । जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।

नौ रात्रिसम्म पूजा गरेर दशौं दिन विहान टीका जमरा प्रसाद ग्रहण गरिन्छ । जौका जमरालाई महौषधि भनिएको छ । निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिने र जमराबाट शीतलता प्राप्त हुने र विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जाने बिस्वास छ । बचेका अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुने कुरा वनौषधिविज्ञहरूको भनाइ छ ।

माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यस स्थानको नजिकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश) को वरिपरि नौ वटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पूजा-आजा गरिन्छ । प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा,आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती(चण्डी), स्त्रोत्र रत्नावली, कालीका स्तोत्र, दुर्गा कवच आदि पाठ पनि पढिन्छ ।

दशैँको दोस्रो दिन

नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणीको पूजन गर्ने गरिन्छ । यिनले तपको आचरण गर्ने भएका कारण ब्रह्चारिणी भनिएको हो । पूर्वकालमा फल–फूल पात खाएर घोर तपश्या गरेर शिव भगवानलाई पतिरुपमा वरण गरेकी थिइन् । ब्रह्चारिणी  शक्तिको पूजाले तेज, ब्रह्मज्ञान, सत्चरित्रको वरदान तथा जल तत्वको सन्तुलन शरीरमा हुने भएका कारण रक्त सम्बन्धी बिकार पैदा नहुने कुराको वर्णन पाईन्छ । पूजा पछि चीनी मिश्री र पञ्चामृत प्रशाद चढाउनाले तथा दान गर्नाले दिर्घायु हुने मानिन्छ ।

दशैँको तेस्रो दिन

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा नामले दूर्गा माताको पूजा गरिन्छ । देवीको मस्तकमा चन्द्राकार घण्ट सुसोभित भएका कारण उनलाई चन्द्रघण्टा भनिएको हो । यिनलाई वीर रसको अपूर्व शक्ति मानिएको छ । चन्द्रघण्टा देवीको रुपको पूजाले मनुष्यले राक्षसी तथा भुत प्रेत शक्तिबाट उन्मुक्ति पाउने विश्वास छ । तेस्रो शक्तिको पूजा आरधनाले शरीरमा तेजको सन्तुलन र सूर्यको तेजबाट प्रज्ञावान हुने मनिन्छ । आजपनि पूजापछि दूधबाट बनेको पदार्थ प्रशाद लगाउनाले सम्पूर्ण दुख नासहुने मानिन्छ ।

दशैँकाे चाैथाे दिन

नवरात्रको चौथो दिन भगवतीको कूष्माण्डा नामले आरधना गर्ने गरिन्छ । भगवती दूर्गाको कूष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ती भएको भनिएको छ । माताको निवास सूर्य मण्लमा रहेको छ भने सेतो कुभिण्डोको जस्तो रुपभएका कारण यिनलाई कूष्माण्डा भनिएको हो । पूजनपछि मालपूवाको प्रशाद चढाउँने र बाँढेर खानाले बुद्धि दिमाग तिब्र हुने बताइन्छ ।

दशैँकाे पाँचाै दिन

पाँचाै दिन स्कन्दमाताको पूजा गर्ने गरिन्छ । स्कन्दमाता देवताहरुका सेनापति कार्तिकेय कुमारकी माता भएका कारण स्कन्दमाता भनिएको हो । स्कन्दमाताको पूजा ले बच्चाहरुको संरक्षण हुने, तथा न्यालयमा विजय प्राप्तिमा सहयोग हुने मानिन्छ । यिनको पाँचौ दिन पूजा गर्नाले काम, क्रोध, लोभ मोह शान्त हुने मानिन्छ । स्कन्दमाताको पूजाले आकाश तत्वको सन्तुलन हुन्छ । यसदिन देवीलाई केराको भोग लगाउने तथा प्रशाद बाँढेर खानाले बुद्धि विकास हुने विश्वास छ ।

दशैँकाे छैटौँ दिन

छैटौँ दिन कात्यायनी माताको पूजा गर्ने गरिन्छ ।

महासप्तमी

नवरात्रिको सातौं दिनलाई फूलपाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दशौं दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरूको महत्व अधिक रहेको पाइन्छ । नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दशैं घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ । वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ ।

यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालीका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पूजिन्छ । अर्का यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ। किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् ।

महाअष्टमी

नवरात्रिको आठौं दिनमा महाकाली -भद्रकाली) को विशेष पूजा-आजा गरिन्छ । देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी-शक्ति) का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ । पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ । मांसाशनं ये कुर्वन्ति तैः कार्यं पशुहिंसंनम् | महिषाsजवराहाणां वलिर्दानं विशिष्यते || (देवीभागवत नवरात्रप्रकरण) यी दिनहरूमा मानिसहरू आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् । काठमाडौंको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ । यसै दिन दशैँघर (हनुमानढोका) को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ ।

देवी देवताहरूलाई अर्पण गरेको मांसभक्षण गर्नुलाई दोषी मानिन्न । अभ्यर्च्य पितृदेवानां खादन्मांसं न दोषभाक्|| (मनुस्मृति) महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । धेरैले यसै दिनदेखि खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विसर्जन गर्छन् । वैदिककाल साधना, सिद्धि, सामर्थ्य, शक्ति र सौर्यताको संगम हो । वेदमा आयुधको बारेमा प्रशस्त चर्चाहरू पाइन्छन् । भगवान् शिवको हातमा रहेको त्रिशुल, बज्र आयुध नै हुन् । अहिंसाको सन्दर्भमा जति व्याख्या भएको छ, त्योभन्दा धेरै आयुधको चर्चा र युद्धले पनि स्थान पाएको छ । हामी खस जाति देवताको पूजा गर्दा आयुधको पूजा गर्छौँ । हिमालका देवता शिवजी, रुद्र सबै आयुधधारी नै छन् । नवदुर्गा भगवतीका १८ वटै हातहरूमा आयुध (हतियार) हरू छन् । भगवतीको सम्मानस्वरूप आयुध पूजा गर्नु शास्त्रसम्मत नै छ । हिन्दु धर्मावलम्बीहरू अहिंसावादी हुन् तर वैरीले जब राष्ट्र, समाज, संस्कृति सिद्धयाउन आँटे भने हतियारको पूजामात्र नभएर उठाउन पनि तयार छन् । त्यस्तै देशका विभिन्न दुर्गा मन्दिरहरूमा धुमधाम पुजाआजाका साथै राङ्गा, बोकाको बलि पनि चढाइन्छ ।

महानवमी

नवरात्रिको नवौँ दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा-आजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ ।

बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दशैँको हो । कामको प्रतिक बोको, क्रोधको प्रतिक राँगो, लोभको प्रतिक भेडो, मद, मात्सर्यको प्रतिक कुखुरो र हाँसलाई मानिन्छ ।

यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले । त्यस्तै देशका विभिन्न दुर्गा भगवती मन्दिरहरूमा बोका तथा रांगा बलि चढाउने प्रचलन रहेको छ ।

विजयादशमी

याे दिन नेपालमा मान्यजनहरुको हात बाट टिका लगाई सकेपछि मिठामिठा भोजनहरु गरेर पिङ्ग खेल्ने चलन रहेको छ। दशैँमा लिङ्गे/राेटे पिङ्ग चढ्नुपर्छ, भूइँ छाड्नुपर्छ भन्ने मान्यता छ । वर्षदिनमा भएपनि याे चाडले नजिक तथा टाढा रहेका परिवारजनलाई जाेड्ने गर्दछ । यो चलन नेपालमा पिता पूर्खाकाल देखि अहिले सम्म चलि आएको छ । नेपालमा दशैँका दिन देवी भगवतीको पूजा आरधना गरि पुराण लगाई पनि मनाइन्छ । देवी भगवतीले सबै दुःख हरेर खुसियाली ल्याउने पौराणिक मान्यता भएकाले पनि पुराण लगाएर देवी भगवतीको पूजा आरधना गरिन्छ ।  

टिका ग्रहण स्थानअनुसार काेजाग्रत पूर्णिमासम्म लगाइन्छ ।

तपाईंकाे दशैँ शुभ रहाेस्, शुभकामना । डेंगु र काेराेनाबाट सावधान !

गाउँ सहर संवाददाता

तपाईँको मत