गाउँ सहर

२०६२ जेठ ६ गतेकाे फोहोर फाल्ने सम्झौताले नधानेकाे काठमाडाैँ, चुराे कुराेमा पुगियाे/पुगिएन ?

काठमाडाैँ । बञ्चरे डाँडाको डम्पिङ साइट तयार नहुँदासम्म सिसडोलमा अस्थायी रूपले फोहोर फाल्ने सम्झौता २०६२ जेठ ६ गते भएकाे थियो । अहिले साइट निर्माण अन्तिम चरणमा पुगेको छ, तर फोहोरको समस्या सुल्झिने छाँटकाँट देखिएकाे छैन । दुई खण्डमध्ये पहिलो खण्डको काम पूरा भएको र दोस्रो खण्डको ८० प्रतिशत सकिएको छ । असार मसान्तसम्म सबै काम पूरा हुने बताइएकाे छ ।

काठमाडौँमा उत्पादित फोहोरको सबैभन्दा धेरै हिस्सा जैविक मात्राकाे छ । महानगरपालिकाको वातावरण महाशाखाका अनुसार जैविक फोहोरले ७०.८७ प्रतिशत हिस्सा ओगटेको छ । यस्तै, प्लास्टिक ९.१८ प्रतिशत, पेपर ८.५१, रबर ०.५४, कपडा/वस्त्र ३.०२, धातु ०.९२, सिसा/काँच २.५० प्रतिशत, छाला ०.१२ र काम नलाग्ने/निस्क्रिय फोहोरको मात्रा ४.३३ छ ।

काठमाडौँ महानगरपालिकाबाट दैनिक ५१६ टन, कीर्तिपुरबाट ६, कागेश्वरी मनहराबाट २०, चन्द्रागिरीबाट ३०, गोकर्णेश्वरबाट ५५, टोखा, बूढानिलकण्ठ र तार्केश्वर नगरापलिबाट ३५/३५ टन फोहोर उत्पादन हुन्छ । दक्षिणकालीबाट १५, नागार्जुनबाट ३५ र शंखरापुरबाट ८ टन फोहोर उत्पादन हुने तथ्यांक छ । यस्तै, ललितपुरबाट १३० टन, गोदावारीबाट २५ टन, महालक्ष्मीबाट ३०, मध्यपुर थिमीबाट ३०, चाँगुनारायणबाट १५ र सूर्यविनायकबाट २५ टन फोहोर उत्पादन हुने गरेकाे छ ।

उपत्यकाभित्र दैनिक उत्सर्जन हुने फोहोरमैलाको अन्तिम विसर्जन स्थलसम्म ढुवानी गर्ने सडक पासाङल्हामु राजमार्ग अन्तर्गत पर्ने तारकेश्वर नगरपालिकाको मुड्खु तीनपिप्ले सडक खण्डमा सडक कालोपत्रे हुनुपर्ने माग राखेर त्यहाँका स्थानीयले चैत १८ गते देखि सडक अवरोध गरेर फोहोर ढुवानी रोकिदिएका थिए । महानगरपालिका,स्थानीवासी र सरोकारवाला निकायहरुको उपस्थितिमा समन्वय गरेर उक्त सडक चैत २७ गतेदेखि सञ्चालनमा आएको थियो । जस अनुसार बिहान २ बजेदेखि बिहान ८ बजे फोहोर विसर्जन गर्ने गरिएको छ ।

काठमाडौँ उपत्यकाबाट दैनिक १२ सय टन ल्यान्डफिल साइटमा विसर्जन हुन्छ । तीमध्ये काठमाडौँ महानगरपालिकाबाट मात्रै ५४५ टन विसर्जन हुने गरेको छ । यसबीचका समस्या वर्णन गरिसाध्ये छैन । माग पूरा नभएकाेले विभिन्न माग राखेर स्थानीयकाे अवराेध पटकपटक हुने गरेकाे छ । एकीकृत फोहोरमैला व्यवस्थापनको प्रक्रिया अहिलेसम्म टुंगो नलाग्दा यहाँको फोहोर व्यवस्थित र प्रविधिमैत्री ढंगबाट व्यवस्थापनमा अन्योलमा परेको छ ।

हाल सिसडोलमा जे आन्दोलन भइरहेको छ त्यो कुनै बेला मूलपानीमा पनि भएकै हो । तत्कालीन समयमा काठमाडौंकै मूलपानीमा फोहोर डम्पिङ गरिन्थ्यो र स्थानीयको आन्दोलनपछि मूलपानीबाट फोहोर सिसडोल लान सुरु गरियो । तर, दीर्घकालीन उपाय नसोच्ने तथा टालटुले नीति लिने महानगरको नेतृत्वले समस्यालाई सधैं निरन्तरता दिइ नै रह्यो । समस्याको दीर्घकालीन समाधान गर्न कुनै सोच पनि रहेन, जसका कारण फेरि एकपटक काठमाडौँ अस्तव्यस्त भएको छ । 

त्यसैले काठमाडौँ उपत्यकाको फोहोर विसर्जनका लागि तत्काल दीर्घकालीन समाधानको खोजी गर्न नसके आगामी दिनमा समस्या थप गिजोलिने देखिन्छ । यसअघि पनि पटक–पटक सिसडोलवासीले सडक अवरुद्ध गर्दै ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध गरेका थिए । संघीय सरकार तथा काठमाडौँ महानगरपालिकाबीचको समन्वयमा दीर्घकालीन रणनीति नबनाउने हो भने उपत्यकाको फोहोरले यसका बासिन्दाका स्वास्थ्यमा मात्र नभएर आर्थिक गतिविधिमा पनि समस्या ल्याउने तथा पर्यटकको आकर्षणको रूपमा रहेको प्राचीन कान्तिपुरी नगरीको आकर्षण घट्दै जाने देखिन्छ ।

महानगरले चालू आर्थिक वर्षमा झन्डै ६ करोड रुपैयाँ फोहोर व्यवस्थापनमा खर्चिने बताए तापनि काठमाडौँको जनसंख्याको वृद्धिदर तथा यहाँबाट उत्सर्जन हुने फोहोरको व्यवस्थापनमा काठमाडौं महानगरिपालिका चुकेकै हो । बेलाबेलामा फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्टको जडान गर्ने तथा फोहोरबाट मोहोर कमाउने नारा पनि सुनिन्छ । तर, काठमाडौँवासीका लागि इन्सिनरेटर जडान गरेर उच्चस्तरीय प्रविधिबाट फोहोरको व्यवस्थापन, फोहोरलाई प्रांगारिक मलमा परिणत गरी नजिकका कृषिप्रधान जिल्लाहरूमा बिक्री गर्ने, प्लास्टिकजन्य फोहोरलाई महानगरभित्रको कालोपत्रे गर्दा आस्फल्टसँग मिसाएर प्रयोग गरिनेजस्ता कुरा व्यवहारमा नदेखिँदा स्थानीय सरकारमाथि नागरिकको विश्वास हराउने देखिन्छ । त्यसैले फोहोर प्रशोधन गर्न सकिने तथा निजी क्षेत्रको सहकार्यमा दीर्घकालीन उपाय खोज्नु आजको आवश्यकता हो ।

नत्र ३०० टनकाे क्षणिक सम्झाैतामा दैनिक १२०० टनकाे फाेहाेरमा गरिएकाे घटिया राजनीति र केहिकाे ठेक्कामा चलेकाे कुप्रथा अन्त्य नहुने निश्चित छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत