गाउँ सहर

आज राति १२ बजे देखि माैन अवधिः निर्वाचन आयोगको १० बुँदे निर्देशन, के-के छन् ?

काठमाडाैँ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्वाचन प्रचार प्रसार गर्न पाइने अवधि, मौन अवधि तथा मतदानको दिनमा समेत निर्वाचन सम्बन्धी प्रचलित कानून तथा आचारसंहिताका व्यवस्थालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने र गराउने सम्बन्धमा नेपाल सरकार, गृह मन्त्रालय मार्फत स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई देहायबमोजिम निर्देशन दिइएको आयोगले बताएकाे छ ।

(क) निर्वाचन आचारसंहिता, २०७८ को दफा १२ को खण्ड (ड) मा उम्मेदवारको कार्यालयमा तुल (कपडा) मा बनाइएको ३ह३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह बाहेक दलको प्रचार प्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने व्यवस्था रहेकोमा सो बमोजिम उम्मेदवारको कार्यालयमा तथा प्रचार प्रसारको लागि जुलुस र आमसभा गर्दा सोहीबमोजिमको सम्बन्धित दलको एउटा झण्डा र दल वा उम्मेदवारको एउटा चुनाव चिन्हसम्म प्रयोग गर्न सकिने भएकोले सो भन्दा बढी वा फरक साइजको झण्डा वा अन्य प्रचार सामग्री प्रयोग भएको अवस्थामा त्यस्ता झण्डा तथा सामग्रीहरू जफत गर्ने,

(ख) सम्बन्धित निर्वाचन अधिकृतले अनुमति दिएको सवारी साधनमा माथि उल्लेख भएबमोजिमको दलको र निर्वाचन चिन्ह अङ्कित एक एक वटा झण्डा प्रयोग गर्न पाइने भएकोले सो बाहेक अन्य सवारी साधनमा झण्डा, चिन्ह वा प्रचार सामग्री प्रयोग भएको पाइएमा त्यस्तो सामग्री जफत गर्ने,

(ग) सम्बन्धित उम्मेदवारको लागि अनुमति दिएको सवारी साधन बाहेक निर्वाचन प्रचार प्रसारमा अन्य सवारी साधन प्रयोग भएको वा सवारी साधन प्रयोग गरी -याली गरिएको पाइएमा त्यस्तो सवारी साधन कब्जामा लिई मतदान कार्य सम्पन्न भए पछि मात्र फिर्ता दिने,

(घ) निर्वाचन प्रचार प्रसारको उद्देश्यले गरिने आमसभा, कोणसभामा बाहेक साउण्ड सिस्टम, लाउड स्पिकर जस्ता श्रव्य सामग्री बजाउन र श्रब्य दृष्य सामग्री प्रदर्शन गर्न तत्काल रोक लगाउने,

(ब) आचारसंहिता विपरीत हुने गरी बाटोमा झण्डा, चिन्ह तथा सवारी साधनको प्रयोग भएको अवस्थामा ट्राफिक प्रहरीले समेत माथि उल्लेख भएबमोजिमको कारबाही सम्बन्धित स्थानीय प्रशासन र निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउने ,

(च) सार्वजनिक स्थलमा कुनै दल वा उम्मेदवारको प्रचार प्रसार गर्ने उद्देश्यले आचारसंहिता को प्रक्रिया विपरीतका सामग्रीहरू राखेको अवस्थामा सम्बन्धित स्थानका सम्बन्धित
उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको मानी निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ तथा निर्वाचन कसूर तथा सजाय ऐन, २०७३ अनुसार कारवाही अगाडि बढाउने,

(छ) मौन अवधि (संवत् २०७९ साल वैशाख २७ गते राति १२ बजे देखि मतदान सम्पन्न नभएसम्म) मा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने भएकोले सो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिहरूको सम्बन्धमा निगरानी राख्ने र त्यस्ता गतिविधि भएको पाइएमा तत्काल नियन्त्रणमा लिने,

(ज) मतदानको दिन मतदातालाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्नु पर्ने भएकोले मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउने,

(झ) मतदान कार्य समाप्त हुनासाथ मतपेटिका सुरक्षित तवरले निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन आवश्यक सम्पूर्ण व्यवस्था मिलाउने ।

गाउँ सहर संवाददाता

तपाईँको मत