राजनीति

स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता

काठमाडाैं । वैशाख ३० मा हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ ।

निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ-आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । यी दुई दिन अर्थात आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र भोलि पनि बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न सकिने आयोगले जनाएकाे छ ।

निर्धारित दुई दिनभित्र कुनै दल वा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्न आएमा दर्ता गरिदिने व्यवस्था मिलाउन पनि आयोगले मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालयहरूलाई आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विगतको स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम १ दिन रहेको र १ दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको, केही स्थानीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नु परेकोले आयोगको भनाइ छ ।

यसैगरी, १३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने प्रवक्ता पौडेलले बताए ।

१५ वैशाखमा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

आयोगले मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचार संहिताले तोके बमोजिमको आचरण पालना गरिदिन अपिल गरेको छ ।

‘यदि आचार संहिता विपरीत कार्य भए गरेको पाइएमा आयोगले कानून बमोजिम कारवाही हुने र यसबाट उम्मेदवारको उम्मेदवारी प्रक्रियामा नै गम्भीर असर पर्न सक्ने हुँदा समयमा नै सचेत रहन उम्मेदवार हुन चाहने सबै मतदातामा जानकारी गराइएको छ,’ आयोगले प्रेस विज्ञप्तिमा छ ।

७५३ वटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा छन् । मतदान केन्द्रमा प्रयोग हुने सामग्र पठाउने कार्य निरन्तर भइरहेको आयोगले जनाएको छ ।

यसपालि चुनावमा सत्तागठबन्धनका पाँच दल र नेकपा एमालेसहित बनेको अर्को गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत