राजनीति

सकियो माओवादीको आठौँ महाधिवेशन, केके भए महाधिवेशन अवधिभर ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आइतबार सकिएको छ । गत आइतबार पुस ११ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको आठौं राष्ट्रिय महाधिवेशन ८ दिनमा सकिएको हो ।

निर्वाचनको प्रक्रियामै प्रवेश नगरी माओवादी केन्द्रले नयाँ नेतृत्व चयन गरेको छ । विधानतः २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नुपर्नेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ सय ३६ जनाको मात्रै सूची पेस गरे ।

प्रदेश इन्चार्जहरूको सिफारिसमा समानुपातिक तर्फका विभिन्न क्लस्टरमा सदस्य थपेर महाधिवेशनबाट चयन हुने सदस्यको संख्या २ सय ६९ पुर्‍याइने अध्यक्ष प्रचण्डले बन्दसत्रमा जानकारी गराए । विधानअनुसारका बाँकी केन्द्रीय सदस्यको मनोनयन गर्ने अधिकार बन्दसत्रले केन्द्रीय कमिटीलाई दिएको छ । 

अध्यक्ष प्रचण्डले पेस गरेको सूची पारित भएसँगै अध्यक्ष मण्डलका अध्यक्ष कृष्णबहादुर महराले महाधिवेशन सकिएको घोषणा गरेका छन् ।

प्रचण्डले प्रस्ताव गरेका केन्द्रीय सदस्यले औपचारिकताका लागि मनोनयनपत्र भने भर्नुपर्ने एक नेताले बताए । कमिटीमा नपर्ने नेताका लागि भने मनोनयनको ढोका बन्द भएको छ ।

महाधिवेशनले चयन गर्न बाँकी रहेका ३० केन्द्रीय सदस्य अब बस्ने केन्द्रीय समिति बैठकले मनोनित गर्ने छ । त्यस्तै, विधान अनुसार, मनोनित गर्नुपर्ने १५ प्रतिशत सदस्य पनि केन्द्रीय समितिले मनोनित गर्नेछ । माओवादी विधानले केन्द्रीय कमिटीले पार्टी पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

यस्ताे छ आठौं राष्ट्रिय महाधिवेशनपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जारी गरेकाे प्रेस विज्ञप्ति :

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन आज (१८ पुस २०७८) मा सम्पन्न भएको छ । महाधिवेशन बारे जानकारी गराउन यो प्रेस नोट जारी गरिएको छ ।

१. ११ पुस २०७८ दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिस्ठान भवनमा पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष क. माधवकुमार नेपाल, नेकपा (एमाले)का महासचिव क. शंकर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष क. दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी)का नेता क. सीपी गजुरेल, नेकपा (माले)का महासचिव क. सीपी मैनालीले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

२. १२ पुसमा २०७८ बाट महाधिवेशनको बन्द सत्र सुरु भयो । बन्द सत्रको पहिलो दिन पार्टी अध्यक्ष क. प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा २५ पृष्ठको वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभयो । पार्टी स्थायी कमिटी सदस्य क. देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदा प्रस्तुत गर्नुभयो । वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २५ वटा समूहमा विभाजित गरियो ।

३. १३ पुस २०७८ मा वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामा २५ वटै समूहमा वृहत् छलफल भयो । समूहगत छलफल १४ पुस अपरान्ह १२ बजेसम्म जारी रह्यो ।

४. १४ पुस २०७८ को अपरान्ह १ बजेबाट समूहगत छलफलको प्रस्तुति सुरु भयो । ११ वटा समूह प्रमुखले उक्त दिन आ–आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्नुभयो । बाँकी समूह प्रमुखले १५ पुसमा समूहगत निकर्ष प्रस्तुत गर्नुभयो ।

५. १६ पुस २०७८ मा पार्टीको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका प्रमुखहरुले आयोगको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

६. १६ पुस २०७८ मा पार्टी अध्यक्ष प्रचण्डले महाधिवेशनमा प्रस्तुत ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिनुभयो । उहाँले स्थायी कमिटी सदस्य क. राम कार्कीले राख्नुभएको पुरक प्रस्तावलाई स्वीकार गरेर दस्तावेजमा समावेश गर्ने र केन्द्री सदस्य क. लेखनाथ न्यौपानेले राख्नुभएको भिन्न मतलाई भिन्न मतकै रुपमा स्वीकार गरेको जानकारी गराउनुभयो । समूहगत छलफलमा आएका महत्वपूर्ण सुझावहरुलाई दस्तावेजमा समावेश गर्ने अध्यक्ष क. प्रचण्डको प्रतिबद्धतापछि ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजलाई महाधिवेशनको बन्द सत्र हलले सर्वसम्मतले पारित गर्‍यो।

७. १७ पुस २०७८ मा पार्टी स्थायी कमिटी सदस्य क. देवप्रसाद गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिनुभयो । पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने, ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट महाधिवेशनले केन्द्रीय कमिटी चयन गर्ने, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने, पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन गर्ने सहितको विधानलाई महाधिवेशन हलले सर्वसम्मतले पारित गर्‍यो।

८. १७ पुस २०७८ दिउँसो मतदाता नामावली प्रकाशन गरेर निर्वाचन आयोगले केन्द्रीय कमिटी सदस्यका निर्वाचन प्रक्रिया सुरु गर्‍यो। महाधिवेशन आयोजक कमिटीलाई महाधिवेशनले केन्द्रीय कमिटीको सहमतिको सूची ल्याउने जिम्मेवारी प्रदान गर्‍यो।

९. १८ पुस २०७८ मा महाधिवेशनको बन्द सत्रमा अध्यक्ष मण्डलले पार्टीको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यहरुको नाम प्रस्तुत ग¥यो । तीनवटै आयोगका यसअघिका पदाधिकारी र सदस्यहरुको नामलाई महाधिवेशनले अनुमोदन गरेको हो । पार्टीको केन्द्रीय अनुशासन आयोगको प्रमुखमा क. टंक राई, निर्वाचन आयोग प्रमुखमा क. विष्णुपुकार श्रेष्ठ र लेखा आयोगको प्रमुखमा क. पेशल खतिवडा हुनुहुन्छ ।  

१०. पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव क. श्रीराम ढकालले आठौं राष्ट्रिय महाधिवेशनको आय व्यय प्रस्तुत गर्नुभयो ।

११. बन्द सत्रमा स्थायी कमिटी सदस्य क. गिरिराजमणी पोखरेलले समसामयिक प्रस्ताव प्रस्तुत गर्नुभयो । समसामयिक प्रस्तावलाई महाधिवेशनले सर्वसम्मत पारित गरेको छ ।

१२. पार्टी अध्यक्ष क. प्रचण्डले महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गर्नुभयो । अध्यक्ष क. प्रचण्डले प्रस्तुत गर्नुभएको केन्द्रीय सदस्यहरुको नाम महाधिवेशनले सर्वसम्मतले पारित गर्‍यो।

१३. अध्यक्ष क. प्रचण्डबाट प्रस्तुत केन्द्रीय सदस्यहरुको नामावली बन्द सत्रले सर्वसम्मत पारित गरेपछि निर्वाचन आयोगका प्रमुख क. विष्णुपुकार श्रेष्ठले निर्वाचन आयोगका तर्फबाट हलबाट पारित नामावलीहरु नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।

१४. नवनिर्वाचित केन्द्रीय समितिको तर्फबाट पार्टीका निवर्तमान अध्यक्ष तथा नवनिर्वाचित केन्द्रीय सदस्य क. प्रचण्डले महाधिवेशनलाई संक्षिप्त संबोधन गर्नुभयो । उहाँले विधान बमोजिम पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक जेष्ठ सदस्यको अध्यक्षतामा बस्ने र बैठकले पार्टीको अध्यक्ष र पदाधिकारीहरु चयन गर्ने जानकारी गराउनुभयो ।

१५. अध्यक्ष मण्डलका अध्यक्ष क. कृष्णबहादुर महराले महाधिवेशनको बन्द सत्र सम्पन्न भएको घोषणा गर्नुभयो । यससँगै ११ पुस २०७८ मा सुरु पार्टीको आठौं राष्ट्रिय महाधिवेशन विधिवत रुपमा सम्पन्न भयो ।

१८ पुस, २०७८
प्रचार तथा प्रकाशन उपसमिति
आठौं राष्ट्रिय महाधिवेशन, नेकपा (माओवादी केन्द्र)

गाउँ सहर संवाददाता

तपाईँको मत