मल किन्दा एक अर्बभन्दा बढि भ्रष्टाचार, कृषि सामग्रीका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध मुद्दा
- गाउँ सहर संवाददाता
- १८ पौष आइतबार, २०७८ | १८:१८:०० मा प्रकाशित
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि सामग्री केन्द्रका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा १० जनासहित दुई कम्पनीलाई समेत विपक्षी बनाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
गुणस्तरहीन रासायनिक मल (डीएपी) आयातमा एक अर्ब भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।
अख्तियारले कृषि सामग्री केन्द्रका प्रवन्ध सञ्चालका नेत्रबहादुर भण्डारी, प्रवन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पष्करदीप बुढासमेतले कृषि सामग्री कम्पनीलाई हानि नोक्सानी पुर्याएको र आफूलाई लाभ हुने कार्य गरेको पुष्टि भएको दाबी गरेको छ । उनीहरूविरुद्ध एक अर्ब ५३ लाख २२ हजार ४०६ रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।
खरिदमा नेपाल सरकारले तोकेको गुणस्तरको मल आयात नभएको, सार्वजनिक खरिद ऐन विपरीत कृषि सामग्री कम्पनीले प्रतिस्पर्धा प्रमाणपत्रसमेत अध्यावधिक नगरेको नेपाल इन्भाइरोमेन्ट एन्ड साइन्टिफिक सर्भिस प्रालिलाई गुणस्तर प्रतिवेदन तयार पार्न लगाएको अख्तियारको आरोप छ ।
सोही गुणस्तर प्रतिवेदन भण्सार नाका र कृषि सामग्री कम्पनी लिमिटेडमा पेस गरेर आपूर्तिकर्तालाई कूल रकमको ९० प्रतिशत भुक्तानी दिएको पनि अख्तियारले ठहर गरेको छ । जसमा गुणस्तर प्रतिवेदन तयार पारेको नेपाल इन्भाइरोमेन्ट एन्ड साइन्टिफिक सर्भिसका प्रबन्ध निर्देशक सलिल देवकोटा सोही संस्थाका ल्याव निर्देशक सुनिलबाबु खत्री र सोही संस्थामा कार्यरत सिनियर सर्भेयर महेन्द्रकुमार डागा र प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरी कम्पनी र प्रयोगशालाबीच सम्झौता गर्ने मनोज आचार्यलाई पनि विपक्षी बनाई मुद्दा चलाइएको छ ।
आपूर्तिकर्ता कम्पनी जोसी विज हाउसलाई पनि विपक्षी बनाइएको अख्तियारले जनाएको छ । जोसी विज हाउसका विनित जोसीलाई मुद्दामा तानिएको छ ।
यस्ताे छ प्रेस विज्ञप्ति :
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि सामाग्री कम्पनी लिमिटेडले Contract No 89/077/078 बाट खरिद गरेको डि.ए.पि. मल नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कृषि सामाग्री कम्पनी लिमिटेडका कर्मचारीहरु र आपूर्तिकर्तासमेतको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त मल भनी रासायनिक मल (नियन्त्रण) आदेश,२०५५, एवं सार्वजनिक खरिद ऐन,२०६३ तथा नियमावली,२०६४ विपरित कृषि सामाग्री कम्पनी लिमिटेडले विना प्रतिस्पर्धा प्रमाणपत्र अद्यावधिक नगरेको संस्था Nepal Environmental and Scientific Services (P) Ltd.लाई मलको गुणस्तर परीक्षण प्रतिवेदन दिन लगाएको देखिन्छ । सो ठेक्कावाट प्राप्त मलको नमुना परीक्षण गराउदाँ डि.ए.पि.मलको स्पेशिफिकेशन अनुसार Moisture 1.5% (Maximum) हुनुपर्नेमा 12.4%, Total Nitrogen 18% (Minimum) हुनुपर्नेमा 14.2%, Ammoniacal nitrogen 17% (Minimum) हुनु पर्नेमा 13.6%, Total phosphorus (as P2O5) 46 % (Minimum) हुनुपर्नेमा 45.1% , Water soluble phosphates (as P2O5) 41% (Minimum) हुनुपर्नेमा 33.1% रहेको भन्ने नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्राप्त परीक्षण प्रतिवेदनबाट उक्त मल तोकिएको स्पेशिफिकेशन भन्दा कम गुणस्तरको रहेको देखिंएबाट कम्पनीले तयार गरेको स्पेशिफिकेशन बमोजिम नै गुणस्तर भएको भनी गलत परीक्षण प्रतिवेदन वनाई भन्सार नाका तथा कृषि सामाग्री कम्पनी लिमिटेड प्रधान कार्यालयमा पेश गरे गराएको देखिनुका साथै सोही प्रतिवेदनसमेतका आधारमा आपूर्तिकर्तालाई कूल रकमको ९०% ले हुन आउने रकम रु. १,००,५३,२२,४०६।७२ (एक अर्व त्रिपन्न लाख वाइस हजार चार सय छ रुपैया वहत्तर पैसा ) भुक्तानीसमेत भई उक्त सरकारी रकम हानिनोक्सानी भएको पुष्टी हुन आएकोले देहाय बमोजिमका आरोपितहरु तथा संस्थालाई देहायबमोजिम सजायको मागदाबी लिइएको छ ।
क) कम्पनी र आपूर्तिकर्ता वीच भएको ठेक्का सम्झौताको स्पेशिफिकेशनको गुणस्तर भन्दा कम गुणस्तरको आपूर्ति भएको डिएपि मललाई सर्भेयरको सूचिमा अद्यावधिकसमेत नभएको स्वतन्त्र सर्भेयरसंग विना प्रतिस्पर्धा प्रचलित खरिद कानून एंव रासायनिक मल (नियन्त्रण) आदेश, २०५५ का प्रावधान विपरित गैरकानूनी रुपमा गुणस्तर परिक्षण लगायतका कार्यहरु गर्ने गरी जिम्मा दिई उक्त आयातित मल कम्पनीको स्वीकृत स्पेशिफिकेशन वमोजिम नै गुणस्तरको रहेको भन्ने गलत प्रतिवेदन तयार गरी/गर्न लगाई सोही प्रतिवेदनलाई आधार देखाई आपूर्ति भएको कम गुणस्तरको मल स्वीकार गरी आपूर्तिकर्तालाई आयात भएको मलको ९०% भुक्तानीसमेत दिने निर्णय तथा भुक्तानी एवं कानुन विपरित सर्वेयर नियुक्ती प्रक्रियामा संलग्न कम्पनीका प्रवन्ध सञ्चालक नेत्र वहादुर भण्डारी, प्रवन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप-प्रबन्धक पुष्कर दिप बुढासमेतले कृषि सामाग्री कम्पनी लिमिटेडलाई हानिनोक्सानी र आफूसमेतलाई गैरकानूनी लाभ लिने मनसाय लिई कार्य गरेको पुष्टि हुन आएको साथै उक्त ठेक्कावाट आपूर्ति गरिएको डिएपि मलको ९०% वापत हुन आउने रु. १,००,५३,२२,४०६।७२ भुक्तानी दिने निर्णयमा संलग्न भई भुक्तानीसमेत गरेको देखिन आएकाले नेत्र बहादुर भण्डारी, विष्णुप्रसाद पोखरेल, दुर्गाप्रसाद पाण्डे र पुष्कर दिप बुढा उपर रु.१,००,५३,२२,४०६।७२ (एक अर्व त्रिपन्न लाख वाइस हजार चार सय छ रुपैया वहत्तर पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) तथा ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम विगो असुलउपर हुन तथा प्रबन्ध संचालक श्री नेत्र बहादुर भण्डारी कृषि सामग्री कम्पनी लिमिटेडको प्रमुख पदाधिकारीसेमत रहेको देखिँदा ऐ. ऐनको दफा २४ बमोजिम थप सजाय हुनसमेतको मागदावी लिइएको छ ।
ख) गलत प्रतिवेदन तयार गर्ने गराउने कार्यमा संलग्न Nepal Environmental and Scientific Services (P) Ltd. का प्रबन्ध निर्देशक सलिल देवकोटा उक्त संस्थाको मूख्य ब्यक्ति रहेको, सोही संस्थामा ल्याव निर्देशकको जिम्मेवारीमा रही परीक्षण प्रतिवेदनको पूर्ण जवाफदेही बहन गर्नुपर्ने सुनिलबाबु खत्री, तथा आफू प्रयोगशाला परीक्षण कार्यमा संलग्न नरहेको अवस्थामा समेत परीक्षण प्रतिवेदन प्रमाणित गरी भन्सार कार्यालय तथा कम्पनी कार्यालयमा प्रतिवेदन गर्ने सो संस्थामा कार्यरत सिनियर सर्भेयर महेन्द्र कुमार डागा र प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरी तथा कम्पनी र Nepal Environmental and Scientific Services (P) Ltd. वीच संस्थाका तर्फवाट सम्झौता गर्ने मनोज आचार्यसमेतको उक्त कसुरमा संलग्नता देखिंदा Nepal Environmental and Scientific Services (P) Ltd. तथा सलिल देवकोटा, सुनिलबाबु खत्री, महेन्द्र कुमार डागा, भोलानाथ चौधरी र मनोज आचार्यउपर बिगो रु.१,००,५३,२२,४०६।७२ (एक अर्व त्रिपन्न लाख वाइस हजार चार सय छ रुपैया वहत्तर पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ उपदफा (४) को कसुरमा निजहरुलाई सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिमको सजाय हुन मागदावी लिइएको छ ।
ग) कम्पनी र आपूर्तिकर्ता वीच भएको ठेक्का सम्झौताको स्पेशिफिकेशनको गुणस्तर भन्दा कम गुणस्तरको डिएपि मल आपूर्ति गरेको तथ्य नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्राप्त प्रयोगशाला प्रतिवेदनबाट प्रमाणित हुन आएकोले कृषि सामाग्री कम्पनी लिमिटेडलाई हानिनोक्सानी र आफूसमेतलाई गैरकानूनी लाभ लिने मनसायले कम्पनीको स्वीकृत स्पेशिफिकेशनको गुणस्तर भन्दा कम गुणस्तरको डिएपि मल आपूर्ति गर्ने आपूर्तिकर्ता Joshi Biz House (P) Ltd. Kathmandu, Nepal का तर्फवाट कम्पनीलाई डिएपि मल आपूर्ति गरी सोको ९०% ले हुन आउने रकम रु. १,००,५३,२२,४०६।७२ (एक अर्व त्रिपन्न लाख वाइस हजार चार सय छ रुपैया वहत्तर पैसा) भुक्तानी लिई ठेक्का सम्झौता बमोजिमको शर्त उल्लंघन गरेको देखिँदा Joshi Biz House (P) Ltd. Kathmandu, Nepal तथा प्रतिवादी विनित जोशीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ उपदफा (४) बमोजिमको कसुर गरेको हुँदा Joshi Biz House (P) Ltd. Kathmandu, Nepal तथा उक्त प्रा.लि.का कार्यकारी निर्देशक विनित जोशीउपर रु.१,००,५३,२२,४०६।७२ रकम बराबरको विगो कायम गरी निज प्रतिवादी विनित जोशी तथा उक्त प्रा.लि.लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ उपदफा (४) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन. २०४८ को दफा १८ र ३५ बमोजिम एवं भ्रष्टाचार निवारण ऐन. २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत काठमाण्डौमा अरोपपत्र दायर गरिएको छ ।
प्रवक्ता
नारायण प्रसाद रिसाल
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस