राजनीति

राप्रपाको महाधिवेशन नेपाली प्रजातान्त्रिक अभ्यासमा कोशेढुंगा : लावती

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले राप्रपाको महाधिवेशन नेपाली प्रजातान्त्रिक अभ्यासको इतिहासमा कोशेढुंगा साबित भएको बताएका छन् ।

‘राप्रपाको भर्खरै सम्पन्न महाधिवेशनले नेपाली समाजमा नयाँ आशाको संचार गरेको छ । राप्रपाको आन्तरिक विकासक्रममा मात्र नभएर सम्पूर्ण समाज र राजनीतिक प्रक्रियामा सकारात्मक प्रभाव पारेको छ । त्यसकारण राप्रपाप्रति समग्र देश र जनताको असाधारणा चासो र आकर्षण बढेको छ,’ केन्द्रीय सदस्य लावतीले मंगलबार भने ।

‘शान्तिपूर्ण प्रजातान्त्रिक पद्धतिबाट प्राप्त नतिजाले नेतृत्व पुस्तान्तरण गर्‍याे, नयाँ युवा नेतृत्व स्थापित गर्‍याे । आदिवासी जनजाति समुदायका व्यक्तिलाई पार्टीको नेतृत्वमा स्थापित गर्‍याे  । यी सब कारणबाट राप्रपा जिम्मेवार र भरपर्दो राजनीतिक दलको रुपमा जनताको मन र मष्तिष्कमा स्थापित भएको हो,’ उनले भने ।

समावेशी नयाँ नेपालको ललीपप देखाएर अरु दल र नेताहरुले जनतालाई यतिका लामो समय झुक्याए पनि राप्रपाले प्रजातान्त्रिक परिवर्तन व्यवहारमा उतारेको लावतीले बताए ।

राप्रपा पाँचथर जिल्ला कार्य समितिले नेता लावती केन्द्रीय सदस्य निर्वाचित भएको उपलक्ष्यमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो विचार प्रस्तुत गरेका हुन् ।

सम्बोधन कै क्रममा पूर्व केन्द्रीय सदस्य मानदेव केरुङले राप्रपा अब राष्ट्रिय राजनीतिमा अग्रणी भूमिकामा स्थापित हुने उद्घोष गरे । राप्रपाका नेता राजकुमार जोशीले, महाधिवेशनको कार्यादेश बमोजिम राजसंस्था र हिन्दुराष्ट्र प्रति कुनै संझौता नहुने बताए । जिल्ला अध्यक्ष जगत थापाले पार्टी विधिसम्मत रुपमा पार्टी संचालन हुने बताए ।

कार्यक्रमलाई ओमराज थाम्सुहाङ, कमल कुमार राई, देवी तुम्बापो, प्रयागराज सुवेदी, पदमदेव केरुङ, ओम बजगाई, मदन पोखरेल, सविता राउत, चन्दन आचार्य लगायतले सम्बोधन गर्दै राप्रपाको नीति, सिद्धान्तमा तलमाथि नगर्ने र एकतामा आँच आउन नदिने बताएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत