गाउँ सहर

दिउँसै लाखौंको धनमाल चोरी

काठमाडाैं । बाँकेकाे नेपालगञ्जमा दिउँसै लाखौंको चोरी भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका- १२, मुक्तिपुरका सिमान्त कर्माचार्यको घरमा दिउँसै चोरी भएको हो ।

घरमा कोही नभएको समयमा आइतबार दिउँसो १२ देखि ५ बजेको बीचमा चोरी भएको छ । कर्माचार्यका अनुसार साढे घरमा रहेकाे एघार तोला सुन, ९० हजारको हीरा र ७५ हजार नगद चोरी भएको छ । श्रीमती रविना श्रेष्ठ सुर्खेत माइती गएको र कर्माचार्य कारकादोस्थित मोटरसाइकल वर्कसपमा गएको मौकामा घरमा चोरी भएको थियो ।

बाँके प्रहरीका अनुसार पर्खाल चढी घर पुगेका चोरले मास्टर चावीले ढोका खोलेको देखिन्छ। चोरले ढोकामा कुनै बल प्रयोग गरेको देखिँदैन । भित्रका कोठा खुला नै थियो । दराजको साँचो पनि त्यही थियो । घटनास्थलमा एउटा फलामको रडमात्रै फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।

कर्माचार्यले यो घर किनेका थिए । उक्त घरमा यसअघि पनि चोरी भएको छिमेकीले बताएका छन् ।

बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले घटनाको अनुसन्धान गरेर चोरको खोजी कार्य भइरहेको बताएका छन् । 

गाउँ सहर संवाददाता