सापकोटाविरुद्ध अनुसन्धान गर्न सर्वोच्चको आदेशपछि माओवादीमा तरङ्ग
- २२ जेठ बिहीबार, २०८२ | १०:१९:०० मा प्रकाशित

काठमाडाैं । सर्वोच्च अदालतले पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध अपहरण तथा ज्यान कसुरमा अनुसन्धान गर्न सरकारलाई आदेश दिएपछि माओवादीभित्र तरङ्ग छाएकाे छ । सापकोटाविरुद्ध २०६२ मा काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ ।
अहिले माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बैठक बसेको हो ।
बैठकमा संसद्को काम कारबाही, टीआरसी र अग्नि सापकोटाविरुद्ध सर्वोच्चको आदेश लगायतका विषयमा छलफल हुने प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
बुधबार सर्वोच्चको संवैधानिक इजलासले द्वन्द्वकालीन घटनामा सापकोटाविरुद्ध परेका उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सापकोटा विरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्चले बदर गरेको थियो ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान तथा न्यायाधीशहरू कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासले सापकोटाविरुद्ध विभिन्न मितिमा परेका ३ रिटमाथि अन्तिम सुनुवाइ गर्दै ज्यान मुद्दामा अनुसन्धान गर्न भनेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिँदै अर्जुनकी पत्नी पूर्णमाया लामाले घटनाको अनुसन्धान गर्न ताकेता गरे पनि द्वन्द्वकालीन मुद्दा संक्रमणकालीन न्याय अन्तर्गत हेरिने भन्दै प्रहरीले दर्ता गर्न अस्वीकार गरेको थियो । प्रहरीको निर्णयविरुद्ध पूर्णमायाले २ फागुन २०६४ मा सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
सर्वोच्चले साउन २०६५ मा क्षेत्राधिकारभन्दा बाहिर गएर निर्णय भएको भन्दै जाहेरी दरपीठ गर्ने प्रहरीको निर्णय खारेज गरेको थियो । त्यही आदेशलाई देखाउँदै पूर्णमाया प्रहरी कार्यालयमा धर्ना बस्न थालेपछि २६ साउन २०६५ मा सापकोटालगायत ६ जनाविरुद्ध जाहेरी दर्ता भएको थियो । मुद्दा दर्ता भएसँगै सापकोटाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । संक्रमणकालीन न्याय कि फौजदारी कानुनअनुसार अघि बढाउने भन्ने विषयमा सार्वजनिक विवाद हुँदै आएको थियो ।
प्रतिकृया दिनुहोस