राजनीति

यस्ता छन् एमालेकाे दशाैँ महाधिवेशनले पारित गरेकाे १७ बुँदे प्रस्ताव

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको छ ।

साथै १७ बुँदे प्रस्ताव पास गरेको छ । नयाँ कमिटीको सपथ ग्रहणका लागि आयोजित समारोहमा उपमहासचिव प्रदीप ज्ञवालीले १७ बुँदे प्रस्ताव पेश गरेका थिए, जसलाई हलले पास गरेको छ ।

यस्तो छ एमालेले पारित गरेकाे १७ बुँदे प्रस्तावः

नेकपा (एमाले) दसौं राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० गते शुरु भएर आज १४ गते सम्पन्न हुँदै छ । मङ्सिर १० गते चितवन, नारायणगढ स्थित नारायणी किनारामा उद्घाटन भएको महाधिवेशनको बन्द सत्र ११– १४ सम्म प्रसिद्ध पर्यटकीय स्थल सौराहामा आयोजना गरिएको थियो । दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह नेपालमा हालसम्मकै सर्वाधिक जनसहभागिता सहित भव्य, ऐतिहासिक र अत्यन्त उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो । उद्घाटन समारोहमा भएको अभूतपूर्व जनसहभागिताबाट पार्टीको आत्मविश्वास उच्च भएको छ । उद्घाटन सत्रमा भएको भव्य उपस्थितिले नेकपा (एमाले) नै देशको प्रमुख शक्ति हो भन्ने पुष्टि भएको छ । यसका लागि हाम्रो पार्टी गौरवान्वित छ । त्यसै गरी तीन दिनसम्म सञ्चालित बन्द सत्र अत्यन्त सौहार्द रह्यो । महाधिवेशनले देहायका प्रस्तावहरु पारित गरेको छ –

१. यो महाधिवेशन राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, सामाजिक–आर्थिक रुपान्तरण तथा समाजवादका लागि सङ्घर्ष गर्दा आफ्नो अमूल्य जीवन अर्पण गर्नु हुने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँहरुका आदर्शबाट निरन्तर प्रेरणा प्राप्त गरिरहने सङ्कल्प गर्दछ ।

२. यो महाधिवेशन पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता तथा जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी तथा प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीप्रति उच्च सम्मानका साथ श्रद्धासुमन अर्पण गर्दछ । पार्टीका पूर्वमहासचिव तुलसीलाल र अग्रणी महिला नेतृ सहाना प्रधान लगायत आन्दोलनका अग्रजहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछ ।

३. यो महाधिवेशन नवौं महाधिवेशन यता दिवंगत हुनुभएका केन्द्रीय सदस्य कमरेडहरु रामनाथ ढकाल, महिम सुब्बा लिम्बु, रवीन्द्र अधिकारी, दिनेशचन्द्र यादव, पशुपति चौलागाईं र योगनारायण यादव तथा पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी, केन्द्रीय निकायका सदस्यहरु– वीरबहादुर ठगुन्ना, जागृत भेटवाल, माणिकलाल गौतम, पूर्वसांसदहरु वीरबहादुर सिंह, कमला सुवेदी, रत्नप्रसाद शर्मा, वीरबहादुर लामा लगायत कमरेडहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

४. यो महाधिवेशन लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानप्रति ऐक्यबद्धता जाहेर गर्दछ र महिला विरुद्ध हुने सबै खाले हिंसाका विरुद्ध अग्रपङ्क्तिमा उभिएर सङ्घर्ष गर्ने दृढता व्यक्त गर्दछ । पार्टी पङ्क्तिलाई महिला हिंसा विरुद्ध सचेत, जागरुक र प्रतिरोधी बनाउँदै नेपाली समाजलाई महिला हिंसाबाट मुक्त बनाउने सङ्कल्प गर्दछ ।

५. वर्तमान सरकार राष्ट्रिय हित, जनसरोकार र लोकतान्त्रिक मूल्यमान्यताप्रति दिनानुदिन गैरजिम्मेवार बन्दै गएको छ । राष्ट्रिय स्वाभिमानमाथि आँच पुग्दा समेत कुनै प्रतिवाद नगर्ने, लोकतान्त्रिक मूल्यमान्यताको उपहास गर्ने र जनताको जीवनलाई झनै कष्टकर बनाउन उद्यत् देखिएको छ । राज्यका तीनवटै अङ्ग विवादित र अकर्मण्य अवस्थामा छन् र जनविश्वास गुमाउँदै गएका छन् । महङ्गी आकासिएको छ । सर्वत्र बेथिति बढेको छ । गठबन्धनमा आबद्ध नेताहरुको स्वार्थपूर्तिका लागि प्रदेशहरुमा मन्त्रालयलाई जथाभावी विभाजन गर्दै सङ्ख्या बढाउने र सरकारी सम्पत्तिको दुरुपयोग गर्ने क्रम बढेको छ । एमाले नेतृत्वका सरकारहरुले अगाडि बढाएका कैयौं राष्ट्रिय र प्रादेशिक विकास आयोजनाहरुलाई राजनीतिक पूर्वाग्रहका कारण रद्द गरिएको छ । यसले विकास र समृद्धिको यात्रा मात्रै अवरुद्ध भएको छैन, जनतामा निराशा समेत बढ्दै गएको छ । यो महाधिवेशन राष्ट्रिय हित र स्वाभिमानमाथि आँच पुग्ने कुनै पनि काम नगर्न, लोकतान्त्रिक मूल्य मान्यताहरुको अपमान नगर्न, विकास आयोजनाहरुको बजेट कटौती नगर्न, मूल्यवृद्धि नियन्त्रण गर्न र जनताको जीवनमाथि थप कष्ट पुर्‍याउने काम नगर्न सरकारको गंभीर ध्यानाकर्षण गर्दछ ।

६. गतः असोजको अन्तिमबाट परेको बेमौसमी बर्खा र त्यसका कारण आएको बाढीपहिरोले जनधनको ठूलो क्षति भएको छ । सयभन्दा बढी नागरिकहरुको ज्यान गएको छ, हजारौं परिवार घरबारविहीन भएका छन् भने सडक लगायत पूर्वाधारमा ठूलो क्षति भएको छ । अरबौं मूल्यबराबरको पाकेको धानबाली सखाप हुँदा हजारौं किसान परिवार मर्माहत भएका छन् । यो महाधिवेशन किसानहरुको उक्त पीडाप्रति सहानुभूति व्यक्त गर्दै सरकारसँग उचित क्षतिपूर्ति, राहत र पुनर्स्थापनाका लागि जोडदार माग गर्दछ ।

७. शान्ति प्रक्रियाका बाँकी कामहरुलाई टुङ्ग्याएर पीडितलाई न्याय र पीडकलाई सजाय दिने दायित्वबाट सरकार पन्छिँदै गएको छ । यसले पीडितहरुमा पीडा थपिँदै जाने, न्याय पाउने आशा समाप्त हुँदै जाने र अन्तर्राष्ट्रिय जगतमा नेपालको छविमाथि प्रतिकूल प्रभाव पर्ने संभावना बढ्दै गएको छ । यो महाधिवेशन सरकार र सत्ता गठबन्धनलाई सङ्क्रमणकालीन न्यायका काममा आलटाल नगर्न र द्वन्द्वका पीडितहरुलाई अविलम्ब परिपूर्णको प्रबन्ध गर्न माग गर्दछ ।

८. राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राख्दै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नु तथा सन्तुलित वाह्य सम्बन्ध सञ्चालन गर्नु संविधानको मर्म र दिशा निर्देश समेत हो । तर वर्तमान सरकार स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन र सन्तुलित वाह्य सम्बन्धका आधारभूत मान्यताको परिपालनामा चुकिरहेको छ । परराष्ट्र नीतिसँग जोडिएका संवेदनशील प्रश्नहरुमा सत्तारुढ गठबन्धनका नेताहरुका परस्पर विरोधी अभिव्यक्ति, छिमेकी लगायत नेपालका महत्वपूर्ण विकास साझेदार मुलुकमा लामो समयसम्म कुटनीतिक नेतृत्वको रिक्तता जस्ता विषय यसका दृष्टान्त हुन् । यो महाधिवेशन परराष्ट्र नीति र छिमेक लगायत वाह्य सम्बन्धमा देखा परेका सरकारका असङ्गत र अपरिपक्व व्यवहारको विरोध गर्दछ ।

९. २०७८ असार २८ को परमादेश सत्ता गठबन्धनका नेताहरुको स्वार्थपूर्तिका लागि न्यायालय र राजनीतिक पक्षबीच भएको ‘सेटिङ’ को परिणाम र राजनीतिक उद्देश्यले निर्देशित फैसला हो भन्ने कुरा सर्वोच्च अदालतभित्र देखा परेका पछिल्ला घटनाक्रमबाट पुष्टि भएको छ । त्यही फैसलाकै सहउत्पादनका रुपमा समस्या झाँगिदै गएर आज हजारौं नागरिकहरु न्याय पाउनबाट मात्र बञ्चित भइरहेका छैनन्, बन्दी प्रत्यक्षीकरण जस्तो सङ्कटकालमा पनि रोक्न नपाइने मौलिक अधिकारको समेत हनन भएको छ । सर्वोच्च अदालत परिसरभित्र हाल देखा परेका बेथिति, अराजकता र जनताको न्याय पाउने हकको हननप्रति महाधिवेशन खेद व्यक्त गर्दछ । निश्चित समूहको स्वार्थपूर्तिका लागि न्यायालयलाई बन्धक नबनाउन खबरदारी गर्दै यो महाधिवेशन न्याय पाउने नागरिकहरुको हकको प्रत्याभूति गर्न एवं न्यायालयलाई भ्रष्टाचार मुक्त, स्वच्छ र सक्षम बनाउन सम्बद्ध सबै पक्षसँग आह्वान गर्दछ ।

१०. हालै सम्पन्न संयुक्त राष्ट्र सङ्घको ७६ औं महासभाबाट नेपाललाई अल्पविकसित अवस्थाबाट विकासशील देशमा स्तरोन्नत गर्ने प्रस्ताव पारित भएको छ । नेकपा (एमाले) नेतृत्वको सरकारले अगाडि बढाएको प्रक्रिया अनुरुप संयुक्त राष्ट्र सङ्घबाट पारित उक्त प्रस्ताव नेपालको सामाजिक–आर्थिक रुपान्तरणको दिशामा महत्वपूर्ण छ र यसले नेपालको आत्मविश्वास बढाउन सहयोग पु¥याउने छ । यो महाधिवेशन नेपाललाई विकासशील देशमा स्तरोन्नतिका लागि आवश्यक पूर्वाधार तयार गर्ने नेकपा (एमाले) नेतृत्वको पूर्ववर्ती सरकारको प्रशंसा गर्दै संयुक्त राष्ट्र सङ्घलाई धन्यवाद ज्ञापन गर्दछ । स्तरोन्नत हुने क्रममा रहेका मुलुकहरुले पाउने सहुलियत र सुविधालाई सुनिश्चित गर्न ध्यानाकर्षण गर्दछ ।

११. यो महाधिवेशन गतः कार्तिक ६ गते सम्पन्न वडा÷शाखा अधिवेशन तथा ९ गते सम्पन्न पालिका/इलाका अधिवेशनमा कमरेडहरुले देखाउनु भएको उच्चस्तरको एकता, हार्दिकता र समझदारीको उच्च मूल्याङ्कन गर्दै नेतृत्वमा निर्वाचित सबै कमरेडहरुलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछ । हाम्रो पार्टीका आधारभूत संरचनामा रहेका उक्त कमिटीहरुको कामलाई थप सुदृढ, व्यवस्थित बनाउँदै सबै खाले चुनौतीको सामना गर्ने गरी पार्टी कामलाई प्रभावकारी बनाउन यो महाधिवेशन आह्वान गर्दछ ।

१२. यो महाधिवेशन संविधानको मर्म र कानुनको व्यवस्था अनुसार आफ्ना प्रत्येक निर्वाचित कमिटीहरुमा न्यूनतम एक तिहाइ महिला सहभागिता सुनिश्चित गर्ने नेपालको पहिलो पार्टी हुन सकेकोमा गर्व गर्दछ । दसौं राष्ट्रिय महाधिवेशनबाट हामीले दुई पदाधिकारीसहित एक तिहाईभन्दा बढी महिलाका साथै श्रमिक, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र लगायतको समावेशी प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटी निर्वाचित गरेका छौं । पार्टी संरचनाहरुलाई थप समावेशी बनाउँदै पार्टीलाई श्रमिक वर्ग, महिला, युवा, दलित लगायत समाजका आधारभूत वर्गमा अझ बढी आधारित बनाउँदै लैजाने सङ्कल्प गर्दछ ।

१३. यो महाधिवेशन पार्टीका सबै तहका कमिटीहरुलाई आगामी निर्वाचनको तयारीमा लाग्न, आफ्ना कार्यक्षेत्रहरुमा पार्टीको विजय सुनिश्चित गर्न र यसका लागि आवश्यक सङ्गठनात्मक व्यवस्थापनलाई तत्काल तीव्रता दिन आह्वान गर्दछ ।

१४. राष्ट्रिय राजनीति चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको यस समयमा हाम्रो पार्टीको काँधमा अत्यन्त ठूलो जिम्मेवारी छ भन्ने कुराप्रति नेकपा (एमाले) संवेदनशील र सजग छ । महाधिवेशन मुलुकको सबैभन्दा ठूलो, सर्वाधिक लोकप्रिय पार्टी र प्रमुख प्रतिपक्षको नाताले राष्ट्रिय हितको रक्षा र राष्ट्रियतालाई सुदृढ गर्न, संविधानको रक्षा र यसको सही कार्यान्वयन गर्न, संवैधानिक र लोकतान्त्रिक प्रक्रिया पथविचलित हुन नपाओस् भन्ने सुनिश्चित गर्न र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्न आगामी दिनमा अझ बढी प्रभावकारी भूमिका खेल्ने सङ्कल्प गर्दछ । जनताको जनादेशसहित छिटै राज्यको नेतृत्वदायी भूमिकामा स्थापित हुने र उक्त जनादेशलाई सामाजिक–आर्थिक रुपान्तरण र समृद्धिका लागि समर्पित गर्ने विश्वास व्यक्त गर्दछ । पार्टीलाई अग्रगामी रुपान्तरणको नेतृत्वदायी तथा निर्णायक शक्तिका रुपमा स्थापित गर्नका लागि वैचारिक रुपमा अझ सुस्पष्ट, सङ्गठनात्मक रुपमा थप व्यवस्थित र सुदृढ, भावनात्मक रुपमा अझ आत्मीय तथा अनुशासित पार्टीका रुपमा स्थापित गर्ने सङ्कल्प गर्दछ ।

१५. दक्षिणपन्थी अवसरवाद कम्युनिष्ट आन्दोलनको मुख्य चुनौतीका रुपमा देखा परेको छ । जनताको अभिमतलाई लगेर प्रतिक्रियावादका पाउमा चढाउने, राजनीतिक स्थायित्वलाई भत्काउने, जनविरोधी शक्तिसँग साँठगाँठ गर्र्ने र व्यक्तिगत ÷ गुटगत स्वार्थका लागि कम्युनिष्ट आन्दोलनको भविष्यमाथि नै प्रहार गर्ने यस अवसरवादलाई वैचारिक-राजनीतिक रुपमा परास्त गर्नु जरुरी छ । त्यसरी नै, पार्टीभित्रका सामान्य र स्वाभाविक मतान्तरहरुलाई कटुतापूर्ण स्वरुप दिने, पार्टीमा स्थायी गुट निर्माण गर्ने र व्यक्तिगत स्वार्थका लागि पार्टीका विधि, पद्धति र वृहत्तर हितलाई लत्याउने सङ्गठनात्मक अराजकता सुदृढ पार्टी निर्माणको मुख्य वाधक हो । यिनलाई पराजित गर्दै जबजको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु अहिलेको हाम्रो मुख्य दायित्व हो । दसौं राष्ट्रिय महाधिवेशन विधान महाधिवेशनबाट पारित ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नाराको मर्मलाई आत्मसात गर्दै बलियो पार्टी निर्माण र समृद्ध राष्ट्र निर्माणको अभिभारालाई सँगसँगै अगाडि बढाउने सङ्कल्प गर्दछ ।

१६. केही व्यक्तिहरुका निहित स्वार्थ र दुराशयका कारण राजनीतिक स्थायित्वलाई भत्काएर मुलुकलाई पुनः अस्थिरतातिर धकेल्ने प्रयाश भइरहेको छ । तसर्थ यो महाधिवेशन राजनीतिक स्थायित्व र बलियो राष्ट्रिय शक्ति निर्माणका लागि छरिएर रहनु भएका सबै सच्चा वामपन्थी, लोकतान्त्रिक तथा देशभक्त कार्यकर्ताहरुलाई सबै खाले भ्रम, अन्यौल र द्विविधाबाट मुक्त भएर नेकपा (एमाले) मा आबद्ध हुन आह्वान गर्दछ ।

१७. महाधिवेशनको उद्घाटन समारोहमा अभूतपूर्व सङ्ख्यामा सहभागी भएर हामीलाई उच्च मनोबल प्रदान गर्नु हुने सबै दाजुभाइ दिदीबहिनीहरुमा दसौं राष्ट्रिय महाधिवेशन हार्दिक आभार व्यक्त गर्दछ । कार्यक्रममा उपस्थित भएर हामीलाई शुभकामना दिनु हुने स्वदेशी तथा विदेशी अतिथिहरु, शुभकामना सन्देश पठाउनु हुने मित्र पार्टीहरु, चितवन जिल्ला कमिटी सहित चितवनका सबै कमरेडहरु, महाधिवेशनलाई व्यापक रुपमा प्रसार–प्रसार गरिदिनु हुने सञ्चारमाध्यमहरु, अहोरात्र खट्नु हुने स्वयंसेवक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु, कलाकार तथा संस्कृतिकर्मीहरु, विद्युतीय मतदान मेशिन उपलव्ध गराउनु हुने मित्रहरु, हामीलाई न्यानो आतिथ्य दिनु हुने सौराहा र चितवनका अन्य सहरका पर्यटन/होटल व्यवसायीहरु एवं पार्टीलाई विभिन्न ढङ्गले सहयोग गर्नु हुने सबै महानुभावहरुप्रति हार्दिक आभार र कृतज्ञता ज्ञापन गर्दछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत