गाउँ सहर

एमालेको १० औँ महाधिवेशनको मतदानमा ७२ वटा विद्युतीय मेसिनकाे प्रयोग, मत परिणाम मंगलबार बिहान आउने 

काठमाडाैं ।  एमालेको महाधिवेशनको मतदानमा ७२ वटा विद्युतीय मेसिन प्रयोग हुने भएको छ ।

मतदान गराउने जिम्मा पाएको रामलक्ष्णम इनोभेसन्सका रामप्रसाद रिमालले कतिपय नाममा सर्वसम्मत भएकाले ७२ मेसिन मात्र प्रयोग गर्न लागिएको जानकारी दिएका छन् ।

उनले भने 'हामीले १ सय मेसिन चितवन ल्याएका थियौँ', '७२ वटा प्रयोग गर्ने भएका छौं ।'

महाधिवेशनमा २२८७ प्रतिनिधि सहभागी भएका छन् । आज राति ९ बजेदेखि बिहान ३ बजेसम्म मतदान हुने नेकपा एमालेको निर्वाचन आयोगले प्रकाशित गरेको कार्यतालिकामा उल्लेख गरिएकाे छ । 

रिमालले मतदानका लागि ६ घण्टाको समय पर्याप्त हुने बताएका छन् ।

रिमालले भने, 'एक जनालाई मत खसाल्न १५ मिनेट लाग्ने हाम्रो अनुमान छ', 'धेरै उम्मेदवार र सबै पदमा निर्वाचन भएको भए आधा घण्टा लाग्न सक्थ्यो । उम्मेदवारी कम परेकाले छिटो हुने आकलन गरेका छौं ।'

मतदान सम्पन्न भएको ३ घण्टामा मतपरिणाम आउनेछ । 'हामीले प्रत्येक मेसिनमा खसेको मतलाई राखेर एउटा टेबल बनाउँछौं र जोड्छौं, 'यो प्रक्रिया सम्पन्न गर्न २ घण्टा लाग्छ ' उनले भने ।

उनका अनुसार तर निर्वाचनको प्रक्रियामा अन्य विधिवत् काम गर्नुपर्ने भएकाले ३ घण्टा लाग्ने छ ।

रिमालले भने, 'निर्वाचनमा मत जोड्दा प्रतिनिधि राख्नेदेखि मुचुल्का उठाउने लगायतका काम हुन्छन्', 'त्यसमा एक घण्टा समय लाग्छ ।'

एमालेको निर्वाचन कार्यक्रम अनुसार मंगलबार बिहानै मतपरिणाम आउने देखिन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत