गाउँ सहर

धेरै दिनसम्म राखेर बासी मासु नखानुहाेस्, दशैं बिग्रिएला

काठमाडौँ । दशैंको बेला हरेकजसो घरमा मासु तथा मासुका परिकारहरु बन्ने गर्छन् । दशैंका बेलामा मासु बढि प्रयोग गर्ने पनि गरिन्छ । दशैंलाई मासु र मदिराको चाडको रुपमा पनि लिइन्छ । दशैंको विशेषता हो, मासु खाने । मासु विनाको दशैं कतिका लागि खल्लो हुनसक्छ । दशैँमा खसी काट्नै पर्ने मान्यता स्थापित भएकाले पनि दशैँमा प्राय सबै नेपालीको घरमा मासुको भण्डार हुन्छ ।

वर्षदिनको दशैं भन्दै खाइने विभिन्न किसिमका मासुजन्य भोजनले पछि स्वास्थ्यमा अनेकौं किसिमका रोगहरु निम्तिने निश्चित छ । मासुको बढी उपभोग हुने दसैँका बेला मासु खाँदा के कस्ता सावधानी पुर्याउनुपर्ने हुन्छ ।

मासुका लागि निरोगी पशु चौपाया बध गर्नुपर्छ । सामान्यतः नाकबाट सिँगान बगाएको, झोक्राएको, निन्याउरो, खुट्टा टेकेर उभिन नसकेको, टाउको झुकेको, आँखा चम्किलो नभएको, आँखामा कचेरा आएका पशु रोगी हुने हुँदा त्यस्ता पशुको मासु खानु हुँदैन। कतिपय रोग पशुचौपायाबाट मानिसमा सर्ने पनि हुन्छन् । क्षयरोग, बोकाको अण्डकोष सुनिने ब्रुसेलोसिस, टेपवर्मजस्ता रोग पशु चौपायाबाट मानिसमा सर्नेहुँदा निरोगी पशु छानेर मात्र मासु खान चिकित्सकहरुको सुझाव छ ।

यदि मासु पनि खानुहुन्छ भने शाकाहारीका तुलनामा बढि ख्याल गर्नुपर्ने हुन्छ । चिकित्सकहरुका अनुसार मासु मानिसको शरिरलाई अत्यावश्यक खानेकुरा होइन । तर हामी प्रायः पौष्टिक आहार परिपूर्तिका लागि मासु खाने गर्छौं । तर यो आवश्यकता भन्दा बढि भयो भने यसले अनेकौं किसिमका रोग निम्तिने गर्छ । कुनै रोगहरु यस्ता हुन्छन् की एकै वर्षको दशैंमा खाएको मासुले गरेको असर जीवनभर खेपिरहनुपर्ने पनि हुन सक्छ । त्यसैले यस्तो अवस्थामा ध्यान पुर्याउनुपर्ने हुन्छ ।

  1. धेरै दिनसम्म राखेर बासी मासु प्रयोग गर्नु हुँदैन । अन्य खाद्य पदार्थको तुलनमा मासुमा छिटो बाहिरी संक्रमण हुने भएकाले आज पकाएको मासु आज नै खानुपर्छ वा आश्यकता अनुसार मात्र मासु पकाउने खाने गर्नुपर्छ ।
  2. मासुमा मुटु, कलेजो, मिर्गौला, आखा, रगत खानु स्वास्थ्यको लागि राम्रो होइन ।
  3. आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउन सक्ने हुँदा यस्ता मासु नखान सुझाव छ । क्यान्सर लाग्ने मुख्य तत्व कार्सिनोजेनिक यस्ता मासुबाट उत्पादन भई दीर्घकालीन रुपमा मानिसमा पाठेघरको मुख, स्तन र फोक्सोको क्यान्सर हुने चिकित्सक बताउँछन् ।
  4. धुवाँमा सेकाएका सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर रसायन मिसाई बनाइएका परिकारले क्यान्सर निम्त्याउन सक्ने चिकित्सकहरुको भनाई छ ।
  5. खानपिनमा सामान्य ध्यान नदिँदा दशैंंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामी हुन सक्छ त्यसकारण बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछाको मासु खाने पनि गर्न सकिन्छ ।
  6. मासु र मदिराविनाको चाडबाड खल्लो हुने समेत भन्ने गरिन्छ । तर मदिरा अत्याधिक सेवनले निकै असर गर्छ । दशैंमा चिल्लो, बोसोयुक्त लगायत खानेकुराहरु खाइएको हुन्छ । यस्तोमा हाम्रो मृगौलालाई काम गर्न गाह्रो भइरहेको हुन्छ । त्यसमाथि हामीले मदिरा सेवन गर्नाले मृगौलामाथि थप भार पर्न जान्छ । यसले मृगौलामा अनेकौं किसिमका रोगहरु निम्तिने गर्छन् । त्यसैले क्षणिक रमाइलोका लागि दीर्घकालीन रोग निम्ताउनु भन्दा समयमै ख्याल गर्नु राम्रो हुने चिकित्सकहरु सुझाउँछन् ।
  7. हरियो–कालो फिक्का देखिने दुर्गन्ध आउने मासु खरिद नगर्ने र नखाने, छाला भएको मासु प्रयोग नगर्ने ।
  8. मासु प्रयोग हुनेबेला मानिसले सूर्ती, चुरोट, रक्सी, मासु एकैसाथ खाने गर्छन् । धुवाँ, मासु र रक्सी एकै ठाउँमा भएपछि यो निकै खतरनाक हुने चिकित्सकहरुको भनाइ छ । यसरी खाँदा १५ गुणाभन्दा बढी क्यान्सर हुने सम्भावना रहने बताउँछन् । चुरोटले अन्न नलीदेखि मलद्वारसम्म क्यान्सर बनाउने भनाइ छ ।
  9. दसैँको बेला मासु प्रयोग गर्दा, उमालेर र सामान्य तरिकाले पकाएर मात्रै खानुपर्ने सुझाव छ । फ्रिजमा माइनस १८–३० डिग्री सेल्सियससम्म तापक्रममा भण्डारण गर्ने, पकाएको मासु फ्रिजमा राख्ने र खाने बेलामा दोस्रो पटक नतताउने । 
  10. मासु राख्दा कि त भुटेर राखिन्छ, कि त फ्रिजमा राख्ने गरिन्छ । यी दुवै तरिका हानिकारक हुने, फ्रिजमा राख्दा कडा सङ्क्रमण फैलिन सक्ने उच्च खतरा हुने र भुटेर राख्दा अपच र पेटमा अन्य समस्या उत्पन्न हुन सक्ने उनको भनाइ छ । 
  11. मुख्य रुपमा पोलेका, तारेका, रसायन प्रयोग गरी प्रशोधन गरिएका मासुले क्यान्सर रोग हुन सक्ने भएकाले यी कुरामा ध्यान पुर्याउन चिकित्सकहरुले सुझाव दिएका छन् । 
  12. मृगौला रोगी, कोलस्ट्रोल, युरिक एसिड र रगतमा चिल्लो मात्रा बढी भएकाले रातो मासु खाँदै नखाँदा राम्रो हुन्छ । रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र रसायन मिसाएर पकाउँदा कार्सिनोजेनिक उत्पादन भई स्वास्थ्यलाई हानि पुग्ने बताउँछन् ।
  13. मासुसँगै हरियो तरकारी, सागसब्जी र गेडागुडी खाने, गुणस्तरयुक्त खानेतेल र मसला प्रयोग गर्ने ।

स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, वडादशैंको गाउँ सहरको शुभकामना ।

गाउँ सहर संवाददाता

तपाईँको मत