गाउँ सहर

आजदेखि चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल, कुन कुन खाद्यमा छुट ?

फाइल : तस्बिर

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

दसैं, तिहार र छठपर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पाेरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । सुपथ मूल्य पसलबाट खाद्य व्यापार कम्पनीले दाल, चामल, पिठो, चिउरा, तेल, नुन, फापर, सिमी, खसीबोकामा छुट दिएको छ । साल्ट ट्रेडिङले नुन र चिनीलगायतका खाद्यवस्तु र दुग्ध विकास संस्थानले घिउ र पनिरमा छुट दिएको छ ।

खाद्य व्यापार कम्पनीले फापर, सिमी भटमासको तेल, चामल र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ । यसैगरी, पिठो, चिउरा, तोरीको तेल, सनफ्लावरको तेल, दालमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ ।

दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो ५० रुपैयाँ र पनिरमा प्रतिकिलो २० रुपैयाँ छुट दिएको छ । साल्ट ट्रेडिङले चिनीमा ५ रुपैयाँ र नुनमा २ रुपैयाँ छुट दिएको छ । खाद्य व्यापार कम्पनीले देशका विभिन्न ३९ जिल्लाको ४३ वटा स्थानबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

यस्तै, साल्ट ट्रेडिङ कर्पाेरेसनले ३२ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ । साल्ट ट्रेडिङको सुपथ मूल्य पसलबाट नुन प्रतिकिलो १८ रुपैयाँमा र चिनी प्रतिकिलो ७९ रुपैयाँमा पाइनेछ । साल्ट ट्रेडिङका अनुसार चिनी प्रतिव्यक्ति २ किलो र नुन ६ किलोसम्म किन्न पाइनेछ ।

दुग्ध विकास संस्थानका अनुसार प्रतिकिलो १ हजार रुपैयाँ पर्ने घिउलाई ५० रुपैयाँ छुट गरी ९ सय ५० मा बिक्री गरिनेछ । डिब्बामा भएको घिउ अहिले १ हजार २० रुपैयाँमा बिक्री गरिँदै आएको छ । अब भने ५० रुपैयाँ छुट दिएर ९ सय ७० मा बिक्री गरिनेछ ।

पनिर २ सय ग्राममा ५ रुपैयाँ, ५ सय ग्राममा १० र एक किलोमा २० रुपैयाँ छुट दिइएकाे छ । काठमाडौंमा डीडीसीको सपुथ पसल लैनचोर, खुमल्टार र न्युरोडबाट सहुलियतमा बिक्री गर्नुका खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङको पसलसँग समन्वय गरेर सँगै संस्थानको उत्पादन छुट दिइने व्यवस्था मिलाइएकाे छ ।

खाद्य व्यापार कम्पनीले काठमाडौं उपत्यका थापाथाली, सूर्य विनायकलगायतका चार स्थानबाट सुपथ पसल सञ्चालन गर्नेछ । यसैगरी, साल्ट ट्रेडिङले काठमाडौं उपत्यकाका कालिमाटी, कोटेश्वर, सतुंगल, जावलाखेल, भक्तपुर गरी ६ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । यस्तै, तीनवटा घुम्ती सेवा सञ्चालन हुनेछ । यसैगरी, खाद्य व्यापार कम्पनीले अनलाइनमार्फत पनि सहुलियत दिएर उपभोक्ताको घरमा खाद्यवस्तु प¥याउने जनाएको छ ।

सरकारले दसैं तिहार र छठजस्ता पर्वमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने हुँदा बजार निजी व्यापारीको मनपरी मूल्यलाई नियन्त्रण गर्न सरकारले दसैं तिहार छठपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरसनमार्फत सुपथ पसल सञ्चालन गर्दै आएको छ ।

चाडपर्वमा उपभोक्तालाई राहत दिने उद्देश्यले सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको हो । सुपथ मूल्य पसल १ असोजदेखि २४ कात्तिकसम्म सञ्चालन हुनेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेसन, दुग्ध संस्थानमार्फत सुपथ मूल्य पसल सञ्चालन हुनेछन् ।

चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत बढी हुँदा निजी क्षेत्रले खाद्यवस्तुमा अस्वाभाविक मूल्य बढाएर उपभोक्ता ठग्न सक्ने भन्दै सरकारले बजार मूल्य नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

मन्त्रालयका अनुसार दसैं तिहार र छठपर्वमा अत्यावश्यक वस्तुमा छुट दिनका खाद्य कम्पनीलाई १ करोड ७५ लाख र कर्पाेरेसनलाई १ करोड ५० लाख रुपैयाँ छुट्याएको छ ।

सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत