गाउँ सहर

काँधमा भिर्ने सेताे डाेराेमात्रै हाेइन जनै, धार्मिक र वैज्ञानिक महत्व यस्ताे छ

आज जनै पूर्णिमा अर्थात रक्षा बन्धन । श्रावण शूक्ल पूर्णिमाकाे दिन जनैपूर्णिमा वा रक्षाबन्धनको नामले प्रचलित छ । बाँयाबाट दाँया काधमा काँचो धागोको डोरी लगाउने गर्छन । यो धागोलाई जनै भनिन्छ । जनै धार्मिक कारणले महत्वपुर्ण मानिन्छ । बायाँ काँधबाट छड्के पारी दायाँहातमुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै वा यज्ञोपवित भनिन्छ । खासगरी हिन्दूका सोह्र संस्कार मध्ये एक उपनयन वा ब्रतवन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ ।

हरेक चाडबाडका आ–आफ्नै महत्व र सन्दर्भ हुन्छ । जस्तै, कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनै–पूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षेत्री पुरुषहरूले हिन्दू परम्परा अनुसार यज्ञोपवित अर्थात् जनै लगाउने चलन रहिआएको छ ।

बाल्यकालपश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू–पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री–मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, ‘रक्षा’ र ‘बन्धन’ । संस्कृत शब्दावलीको अनुसार यसको अर्थ ‘सुरक्षाको गाँठो’ हुन्छ । यो चाड दाजुभाइ–दिदी–बहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो । यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदी–बहिनी या दाजुभाई मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ ।

यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

जनै लगाउने कुरा उप्कायो भने हिजोआजका सनातनी युवाले भन्ने गर्छन्– जिउमा फाल्तु धागो किन लगाउने ? धागो लगाउँदा के पाइन्छ ? हिन्दु धर्ममा जनैको विशेष स्थान छ तर अब यसका वैज्ञानिक कारणबारे पनि खोज अनुसन्धान गरिएको छ ।

जनैको निर्माण काँचो धागो जोडेर हुन्छ जसमा तीन फेरो हुने गर्छ । तीन फेरोलाई क्रमशस् ब्रह्मा, विष्णु र महेशको प्रतिक मानिन्छ। धार्मिक दष्टिबाट जनै धारण गर्नाले शरीर शुद्ध र पवित्र मानिन्छ ।

शास्त्र अनुसार दाहिने कानमा आदित्य, वसु, रुद्र, वायु, अग्नि, धर्म, वेद, आप, सोम र सूर्य लगायतका देवताहरू बस्छन् । त्यसैले दिशापिसाबको बेला जनै दाहिने कानमा राख्दा राखिन्छ ।

दिशापिसाब पछि जब हातगोडा धोएर मुख कुल्ला गरिन्छ तब मात्र जनै कानबाट निकाल्नुपर्छ । यसो गर्नुको अर्थ शरीरमा नाइटोमाथिको भाग धार्मिक क्रियाका लागि पवित्र मानिन्छ तर नाइटोमुनिको भाग भने अपवित्र मानिन्छ ।

दाहिने कानलाई जननेन्द्रिय र अण्डकोषको अभिन्न सम्बन्ध रहेको हुन्छ । पिसाब फेर्दा वीर्यपतनको पनि सम्भावना हुन्छ । त्यसैले पिसाब गर्दा जनैलाई कानमा घुसारेमा वीर्यनाश हुन पाउँदैन । त्यति मात्र होइन लगातार स्वप्नदोष भयो भने पनि दाहिने कानमा जनै बेर्दा समस्या समाधान हुने विश्वास छ ।

दिसापिसाब गर्दा जनैलाई दाहिने कानमा दुई फन्का कसेर बेर्नुपर्छ । कानको पछाडि हुने दुईवटा नसाको सम्बन्ध आन्द्रा हरूसँग हुन्छ । यसरी कानको नसा कस्दा आन्द्रामा दबाब पर्छ र दिसा सहजै निस्कन्छ । त्यति मात्र होइन कब्जियत, अम्लीयता, पेटका रोग, पिसाबसम्बन्धी रोग, रक्तचाप समस्या, मुटुरोगहरू लाग्न पाउँदैनन् ।मलमूत्र त्यागेपछि तत्कालै जनै कानबाट खोल्नुहुँदैन । पहिला आफु राम्ररी सफा हुनुपर्छ अनि मात्र जनै उतार्नुपर्छ । यो सफाइले व्यक्तिलाई रोगबाट पनि बचाउँछ ।

परिवर्तित परिपेक्ष्यमा चुँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षेत्रीमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान जो कोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवित अर्थात् जनै अरुलाई लगाईदिन र आफूले पनि लगाउन सक्छन् । स्मरणरहोस्, मन्त्रिएका यज्ञोपवितहरूको धारण गर्नाले सभिथा अर्थात् सूर्य भगवानको प्रत्यक्ष उर्जा प्राप्त गर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र अध्यात्मिक सार्मथ्यको वृद्धि हुने विश्वास छ ।

आजको दिनको मन्त्रः
‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।’

अर्थात्
‘जुन रक्षा (काँचो धागो)ले दानवहरूका महान राजा बलीलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्छु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।’

गाउँ सहर संवाददाता

तपाईँको मत