जनै हराएको मान्छे
- रामबाबु सुवेदी
- १४ भदौ बिहीबार, २०८० | ०९:१८:०० मा प्रकाशित

भुईँभरी आलमारिको कपडा छरिएको छ। र्याकको सामान सबै छरिपस्ट छ। वरिपरि सरसफाई नभए झै देखिन्छ। कोठामा बाकस भरिका सबै सामान बाहिर निकालिएको छ। लाग्छ कि केही बहुमूल्य वस्तु हराएको हुनुपर्छ। श्याम असिन पसिन छ। आतुर छ अनि चिन्तित पनि छ।
श्याम हतार हतार गर्दै साझको समयमा घरमा केही खोज्दै छ। उ हस्याङ्ग्फस्याङ गर्दै यता उता भौतारिन्छ अनि कहिले बाकसमा त कहिले अलमारिमा केही आफ्नो बहुमूल्य वस्तु हराए झैँ खोज्दै गर्छ। गर्मीमा चिटचिट पसिना उसको निधारबाट आँखीभौ अनि गाला छुँदै बग्छ। सिलिङ्गमा फेन घुमिरहे पनि उसको शरीरको गर्मी झन बढ्दै गएको हुन्छ मानौँ उ एकदम तनाबमा भएर केही सुनको गरगहना हराए झैँ गर्छ।
यो सब छेउमा बसि कपाल कोर्दै सबै दृश्य नियालिरहेकी उसकी स्वास्नी रम्भाले हैरान भएझैँ गर्छे। उ बारम्बार सोध्छे "हैन स्वामी जिउ आज साँझबाट बिचार गरिरहेकी छु हजुर घरी सुत्ने कोठामा घरी पूजा कोठामा अनि घरी भान्साघरमा केही खोजिरहनु भएको छ। हैन के हरायो?"
"कति कराएकी त? एकछिन नबोल न। या आफैँलाई दिक्क लागि सक्यो। २० पटक भयो होला एउटै कुरा सोधेकी। कति गनगन गर्नुपर्या हो? खोज्न सघाउने केही होइन।"
(काईयो कपालमा सिउरेर जुरुक्क उठदै रम्भा श्यामतर्फ अगाडि बढ्छे।) "ल भन्नू न के भयो बिहानबाट नियालिरहेकि छु हजुरलाई। हैन भन्नै न हुने के चाहिँ हराएको हो? म सहयोग गर्छु स्वामी ज्यु हजुरलाई।"
भनौँ कि नभनौँ भन्दै श्याम आफूले लगाएको टिसर्ट खोलेर खाटमा फ्याक्छ अनि पानी पिउने ईशारा गर्दै "पहिला पानी ख्वा न रम्भा" भन्छ।
रम्भा हतारमा भान्सामा पुगि आउछे अनि आफ्नो सलले अनुहारको पसिना पुछ्दै एक ग्लास पानी श्यामको हातमा राखिदिन्छे। उ भन्छे "कति गर्मी है बाबा। आज त पंखा खोल्दा पनि तातो हावा फ्यालिरहेको छ।
हातको पानीको ग्लास स्माउदै श्याम घुटघुट पिउछ अनि रम्भातर्फ हेर्दै भन्छ "रम्भा सुन त। दिउँसो ससुरा बाले फोन गर्नु भएको थियो। भोलि जनै पूर्णिमा आउनु है ज्वाईंसाब भन्नू भएको छ। जनै उतै फेर्ने अरे। बिहान खाना खाने गरेर पुग्नु भन्नू भएको छ।"
"ए होर? मलाई पनि आमाले भन्दै हुनुहुन्थ्यो बुवाले ज्वाईंलाई फोन गर्नुहुन्छ भोलि यतैनाउनु सपरिवार भन्दै।" रम्भा आफ्नो माइतिको कुरा सुनाउदै गर्दा एकछिन गर्मिलाई बिस्कुन लगाएर आनन्द मान्दै भन्छे।
"अनि पोहोर साल पनि जाँदा मेरो सानो खिसी भएन। अर्को साल त जनै लाएर जान्छु सोचेको आज फोन आउँदा पो झसङ्ग भए। अब यति रातिको समयमा म कहाँ लिन जाउँ?" श्याम हतारमा भन्छ।
"किन तनाब लिनु भएको अनि? आखिर अहिले के खोज्नु भयो हजुरले यति मरिहत्ते गर्दै? (हातका औँलामा हेर्दै) कतै औँठी त झार्नु भएन? खै हातमा देख्दिन त। हराउनु भयो बाबा?"
श्याम झोकिदै भन्छ "ह्या आफूलाई के चिन्ता परेको छ उ भने आफ्नै कुरा गर्छे। औँठी त मैले तलाई राख्न दिएको हैन? दुई महिना अगाडी। औँलाबाट झरेर झन्डै हराएको थियो बिर्सिस रम्भा?"
"छ्या म पनि कति हुस्सु भएछु है। भुसुक्कै बिर्सिएँछु। अनि आखिर के खोज्नु भएको यहाँ?" रम्भा मलिन श्वरमा प्रश्न राख्छे।
"पोहोर साल ससुराली बाट आउदा जनै लाउनु दिनुभएको थियो बुवाले। त्यस साल जनै लाउदा मलाई ज्वाइँ साब अर्को साल सम्म लाउने हो है यो जनाई। यसपाली त थिएन शरीरमा अर्को साल यहि हेर्न पाईयोस। यो त हाम्रो संस्कार अनि पहिचान हो भन्नू भएको थियो।"
उ थप भन्छ " मैले त्यही जनै एउटा बट्टामा हालेर राखेको थिए अर्को साल चाहिन्छ भनेर। अहिके धुईंपताल लाएर खोजिसके कति भेटिँदैन। राखेको त यही थिए।"
श्यामको कुरा सुनेर रम्भा खित्का छाडदै हाँस्छे अनि हाँसो सम्हाल्न नसकेर भुईंमा थचक्क बस्छे। उसको सल ले मुख छोप्दै श्यामको अनुहार हेर्दै झन खित्का छाडेर हास्छे। त्यो देखेर श्यामलाई लज्जाबोध हुन्छ अनि उ पनि रिसाएको भाव परिवर्तन गरेर मुसुमुसु हाँस्छ। दुबै जोडले हाँस्छन्।
"धत बाबा हजुरले पनि के के न हराउनु भयो होला भनी चिन्ता लिएको थिए मैले। तर हजुर त हराएको जनै पो खोज्नु हुँदै रहेछ। कति हास्नु" श्यामको कुम मा शिर निहुराउदै उ मुसुमुसु हाँसिरहन्छे।
"अब हेर न रम्भा नलाउ पोहोर साल नै त्यति भनाई खाइएको छ। लगाउ भेटिँदैन। अब भोलि बिहान कसरी जाने होला ससुराली। जनै कहाँ बाट ल्याउनु?" श्याम चिन्तित हुँदै रम्भाको सहानुभूति खोज्छ।
"छिमेकी दाईको मा होला नि त सोध्नु न। कि म सोधिदिउँ?" रम्भा आस्वस्त पार्दै भन्छे।
"नाईं नाईं न सोध अस्ति भर्खरै मलाई जिस्काउँदै थिए। हैन हौ श्याम भाई खान चाहिँ सबै किसिमको मासु खान्छौ अनि यो अन्तिममा जनै लाउने नाटक किन गर्छौ? उनले यसरी सोध्दा म निशब्द भएको थिए। अब नसोध त्यसैले।" श्याम गम्भीर हुँदै भन्छ।
"अनि अब भोलि उतै घर गएर लगाउनु न त। आखिर जनै हराई आल्यो। (मुसुमुसु हाँस्दै) नया पनि यती राती नजिकको पसलमा पाईंदैन। भोलि बिहान हिँड्नु पर्छ। हुँदैन?"
"खै रम्भा। उफ... (लामो सास फेर्दै) अब उपाय पनि त छैन नि। यसपाला पनि फेरि ससुरा बा को भनाई खाने परियो।" श्याम रम्भाको मुख हेर्दै बचाईदेउ है बेलैमा भन्ने भाव दर्साउछ।
रम्भा श्याम तर्फ हेर्दै भन्छे "हैन त्यति धेरै सोच्न पर्दैन नि बाबा, आखिर बहुमूल्य केही हराएको छैन हराएको त जनै न हो। भोलि लगाएर राम्ररी जनैपुर्णिमा मनाउनु पर्छ। जाउ अब खाना खाउ। खाना पनि सेलायो होला।"
हुन त श्यामको सामान्य जनै हराएको हो तर त्यो जनै हराउनु संगै हाम्रो संस्कृति र धार्मिक महत्वको मन्त्र द्वारा सुसज्जित आस्था अनि विश्वासको ठूलो महत्व बोकेको एउटा निष्ठा पनि हराउँदै गएको छ। एक विशेष कर्म विस्तारै लोपोन्मुख हुँदै गएको आभास हुन्छ। यहाँ धेरै जनै हराएका मान्छे भेटिन सकिन्छ। समाजमा जनैको महत्व त्यसै अनुसार हराउँदै गएको छ। श्याम त प्रतिनिधि पात्र मात्र हो।
प्रतिकृया दिनुहोस