समाज

जसले संस्थागत समूह बनाई मिर्गौला पीडितको उपचार गर्न भन्दै पैसा उठाएर ठग्थे

पर्वत । मिर्गौला पीडितको उपचारमा समस्या भएको भन्दै विभिन्न ठाउँमा चन्दा उठाएर ठगी गर्दै आएका तीनजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–९ पश्चिम स्ट्यान्ड बस्ने ३४ वर्षीया एलिजा बस्नेत, ३२ वर्षीय टेकबहादुर बस्नेत र हल्दिबारी गाउँपालिका–१ का ४४ वर्षीय धनबहादुर सेन्चुरी रहेका छन्। उनीहरूलाई बिहीबार पोखरा महानगरपालिका–२६ विजयपुरमा रहेको न्यु हाई वे स्टाफ होटेल एन्ड लजबाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार उनीहरूले युनिक स्वयंसेवक नेपाल केन्द्रीय कार्यालय धरान सुनसरी नामको संस्था दर्ता गरी सोही संस्थाको रसिद प्रयोग गरी रकम उठाउने गरेको पाइएको छ। उनीहरूले पाल्पाको साबिकको झडेवा गाविस–५ घर भई हाल माथगढी गाउँपालिका–४ बस्ने मिर्गौला पीडित ३५ वर्षिय चूडाबहादुर रुचालको उपचार गर्ने भनी पोखरामा चन्दा उठाउँदै गरेका छन् भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो। पक्राउ परेकी एलिजा संस्थाकी अध्यक्ष र अन्य दुईजना सदस्य रहेको पाइएको पनि प्रहरीले बताएको छ।

‘झापामा संस्था सञ्चालन गरेर मिर्गौला पीडितलाई हो भन्दै धेरै जनाका नाममा चन्दा उठाइसकेका रहेछन्। उनीहरुबारे शंका लागेको सूचना प्रहरीले पाएपछि हामीले फलो गरिरहेका थियौँ‚’ सूचना अधिकारी हमालले भने, ‘जहाँ बढी भिडभाड भएका सहरहरू छन्‚ त्यही गएर मिर्गौला पीडितको उपचारमा समस्या भएकोले बचाइदिन अनुरोध गर्दै पैसा उठाउने गरेको अनुसन्धानबाट खुलेको छ।’

पक्राउ परेकाहरूले यस अघि विभिन्न १२ जना बिरामीको नाममा चितवन, तनहुँ, दैलेख, सुनसरी, रुपन्देही, नवलपरासी, कास्की, पाल्पा, स्याङ्जालगायतका जिल्लाहरूबाट अनुमतिबिना नै चन्दा संकलन गरेको अनुसन्धानबाट खुलेको छ। चन्दा संकलनका लागि समूह–समूह बनाई भाडामा दैनिक १० वटा अटो ट्याम्पो समेत लिई देशका मुख्य–मुख्य सहरमा पुग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेका पनि डिएसपी हमालले बताए।

उनीहरू बस्दै आएको होटेलको कोठामा खानतलासी गर्दा चन्दा उठाउन प्रयोग भएका रसिद, पर्चासहित नगद चार लाख ६ हजार ४०६ रुपैयाँ बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद अनुमति लिई उनीहरूका विरुद्ध चन्दा ऐन–२०३० अन्तर्गत अनुसन्धान गरिरहेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत