शिक्षा

कक्षा १२ का विद्यार्थीलाई कोरोना खोप उपलब्ध गराउन निर्देशन, होम सेन्टरबाटै परीक्षा

काठमाडौं । कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि खोपको व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

कक्षा १२ को परीक्षालगायतका विभिन्न विषयमा संसदीय समितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो । समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

समितिकी सभापति जयपुरी घर्तीले भनिन्, '४ लाख विद्यार्थी छन् । उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव छ । साउन ३१ गतेबाट परीक्षा हुने भएकाले अझै समय छ ।' बढी विद्यार्थी भएका विद्यालयमा परीक्षा सञ्चालन गर्न कठिनाइ हुने अवस्थामा केन्द्रको संख्या बढाउन पनि सरकारलाई समितिले सुझाव दिएको छ ।

कक्षा १२ मा २८ जनाभन्दा कम विद्यार्थी भएका विद्यालय संख्या १ हजार , ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३ सय , १ सयभन्दा कम विद्यार्थी भएका विद्यालय संख्या ३ हजार ४ सय र ५ सयभन्दा बढी विद्यार्थी भएका संख्या विद्यालय ८९ रहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेबाट भदौ ९ गतेसम्म कक्षा १२ का परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । कोरोना महामारीका कारण यसपटक होम सेन्टर (विद्यार्थीले पढेकै विद्यालय) मा नै परीक्षा लिइने व्यवस्था गरिएको छ । यसअघि देशभरका सीमित परीक्षा केन्द्रमा मात्रै परीक्षा सञ्चालन हुँदै आएको थियो । जेठमा हुने कक्षा १२ को परीक्षा निषेधाज्ञाका कारण स्थगित गरिएको थियो । करिब ४ लाख परीक्षार्थी परीक्षाको प्रतिक्षामा छन् ।

होम सेन्टरबाटै परीक्षा

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भने, “अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ ।

कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा  निकाल्ने तयारी भएको तर १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिन लागेको  सदस्य सचिव अर्यालले जानकारी दिए ।

उनका अनुसार कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका एक हजार विद्यालय छन्, ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३००,  एक सयभन्दा कम विद्यार्थी भएका तीन हजार ४०० र ५०० भन्दा बढी विद्यार्थी भएका विद्यालय ८९ वटा छन ।

गाउँ सहर संवाददाता

तपाईँको मत