गाउँ सहर

गण्डकी प्रदेशका मुख्यमन्त्री  पोखरेलले गरे पुम्दीकोटको अवलोकन

पोखरा । पुम्दीकोट कोट विकास समिति एवं बिशाल महादेव मुर्ति निर्माण समितिले पोखरा महानगरपालिका वडा नं २२ मा रहेको पुम्दीकोटमा निर्माण गर्दै गरेका पर्यटकीय एवं धार्मिक संरचनाको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले  अवलोकन गरेका छन् ।

विकास समितिले मुख्यमन्त्री पोखरेल सहित सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार मन्त्री, कुमार खड्का, मन्त्री बिन्दु कुमार थापा लगायतका मन्त्री एवं सांसदहरुलाई स्वागत तथा सम्मान गरेको छ । पुम्दीकोटमा बिशाल महादेवको मुर्ति स्थापना भएसंगै बाँकी रहेका केही योजना पुरा गर्न प्रदेश सरकारको सहयोगको अपेक्षा सहित  पुम्दीकोटमा स्वागत तथा सम्मान गरिएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

पुम्दी भुम्दीको पुम्दीकोटमा निर्माण हुदै गरेको बिशाल महादेवको मुर्ति निर्माण सहितको अन्य भौतिक संरचना निर्माणमा गण्डकी प्रदेश सरकारले पुनः थप सहयोग गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । पुम्दीकोट प्रदेशकै पर्यटकीय एवं धार्मिक क्षेत्रको समेत नयाँ गन्तव्य भएकोले त्यसमा आवश्यक पुर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने उनले जनाए ।

विकासको लागि सरकार एउटा सहजकर्ता भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको विकासको एउटा आधार धार्मिक पर्यटन समेत भएको दाबी गरे । प्रदेशको बजेटसंगै थप बजेट आवश्यक परेमा संघीय सरकारसंगको समन्वयमा केही रकम निकासा गर्न पहल गर्ने मुख्यमन्त्री पोखरेलले बताए ।

प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पुम्दीकोटको बृहत विकाससंगै पुम्दी भुम्दीको सडक निर्माणमा करिब ५५ करोड लगानी आवश्यक भएको बताए । सवैको साथ र सहयोगले अर्थ मन्त्री भएकोमा सवै प्रति आभार व्यक्त गर्दै मन्त्री बरालले आफु स्थानीय भएको नाताले पनि बिशाल महादेवको मुर्ति सहितको थप भौतिक पूर्वाधार निर्माणमा पहल गर्न मुख्यमन्त्री सहितका अन्य मन्त्री समक्ष आग्रह गरे ।

पुम्दीकोट कोट विकास समिति एवं बिशाल महादेव मुर्ति निर्माण समितिका अध्यक्ष उद्योगपति चन्द्रकान्त बरालले उक्त परियोजनामा हाल करीब २५ करोड लगानी भएको र करीब ४५ करोडको उक्त  परियोजना सम्पन्न गर्न  सवैको साथ र सहयोग आवश्यक भएको अध्यक्ष बरालले बताए । ं                                                                                  

कांग्रेस संसदीय दलका सचेतक ओमकला गौतमले पुम्दीभुम्दीमा निर्माण हुदै गरेको बिशाल महादेवको मुर्ति निर्माण अभियानलाई सफल पार्न प्रदेश सरकारले अपनत्व बहन गर्नुपर्नेमा जोड दिइन् ।

 मनो रेल सहितको ग्रिनरी पार्क, पार्किङ, तार वार, रेलिङ, स्मृति पार्क लगायतका भौतिक संरचना निर्माण गर्नेे लक्ष्य समितिले राखेको छ । रातको समयमा ताण्डव नृत्य प्रर्दशन गरी एक रात पर्यटकलाईं पुम्दीकोटमै बसाल्ने अभियानमा रहेको उपाध्यक्ष हिमलाल बरालले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत