राजनीति

श्रमजीवीहरूकाे राहत र सहयाेगका लागि विशेष आर्थिक प्याकेज घाेषणा गर्न कांग्रेसकाे माग

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरूकाे राहत र सहयाेगका लागि विशेष आर्थिक प्याकेज घाेषणा गर्न माग सरकारसँग माग गरेको छ । 

सभापति शेरबहादुर देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थामा सरकारकाे सम्पूर्ण ध्यान काेभिड-१९ काे राेकथाम र उपचारमा केन्द्रित गर्न माग गरेका हुन् ।

देउवाले कोरोना भाइरस नियन्त्रणका लागि मित्रराष्ट्र र संघ–संस्थाहरुबाट आएका विभिन्‍न सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न पनि माग गरेका छन् । 

दलका नेताहरु र मन्त्रीसमेतले विदेशबाट आएको अक्सिजन सिलिन्डर र विभिन्न स्वास्थ्य सामग्रीमा आफ्नो पोस्टर टाँसेर प्रचारबाजी गरेपछि कांग्रेसले ध्यानाकर्षण गराएको हो ।

देउवाले कोभिड-१९ को रोकथाम, उपचार र राहतमा केन्द्रित हुन आग्रह गर्दै दातृ निकायको सहयोग दुरुपयोग नगर्न भनेका छन् । 'देशको हरेक गाउँ/नगरपालिका र वडा तहसम्म पीसीआर परीक्षणको व्यवस्था गर्न, संक्रमण रोक्न सशक्त सचेतना अभियान संचालन गर्न, ग्रामीण र दुर्गम क्षेत्रका संक्रमित नागरिकहरुलाई समेत उपचारको सुविधा सुनिश्चित गर्न,' विज्ञप्तिमा छ,'निषेधाज्ञालाई व्यवहारिक र प्रभावकारी तर जनअधिकार र जनताका आवश्यकतालाई केन्द्रविन्दुमा राखी आवश्यकता अनुसार कार्यान्वयन गर्न तथा विदेशी मित्रराष्ट्र र संघ–संस्थाहरुबाट आएको सहयोगको दुरुपयोग र पार्टीकरण बन्द गर्न माग गर्दछु ।' त्यस्तै सभापति देउवाले खोपलगायत स्वास्थ्य सामाग्री खरिद र आपूर्तिमा देखिएका अनियमितता र भ्रष्टाचारको निष्पक्ष जाँचको लागि पनि सम्बन्धित निकायहरुसँग माग गरेका छन् ।

कोरोनाविरुद्धको खोपको तत्काल आपूर्ति, देशभर आवश्यकता अनुसार आईसीयु बेड, अक्सिजनको व्यवस्था र निम्न आय भएकाहरुलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न समेत सभापति देउवाले माग गरेका छन् ।

कांग्रेसको तर्फबाट प्रधानमन्त्रीलाई पेस गरेको १५ बुँदे ज्ञापन–पत्रलाई गम्भीरताका साथ लिन र कोभिड–१९ विरुद्ध खोपको तत्काल आपूर्ति, देशभर आवश्यकताअनुसार आईसीयु वेड र अक्सिजन व्यवस्था र निम्न आय भएकाहरुलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न पनि माग गरेका छन् ।

गाउँ सहर संवाददाता

Tau Prasad Gurung लेख्नुहुन्छ १४ जेठ, २०७८ १:४० pm

माँग गरेर पाईन्छ र ? त्यै पनि को संङ्ग माँग्ने ? देशमा सरकार छ र ?

तपाईँको मत