स्वास्थ्य

कास्कीमा कोरोना संक्रमण बढेपछि न्यूनिकरणका लागि कार्यालयहरु प्रदान गरिँदै

पोखरा । कास्कीमा कोरोना संक्रमण बढेपछि न्यूनिकरणका लागि कार्यालयहरु प्रदान गरिन थालेका छन् । महानगरको वडा नं २७ ले प्रयोग गरिरहेको साविक लेखनाथ नगरपालिकाको कार्यालयलाई पोखरा महानगरपालिकाले एक सय बेडको कोरोना युनिट निर्माण शुरु गरेको छ ।

महानगर अन्तरगतको शिशुवा अस्पताल मातहत रहने गरी उक्त भवनमा एकसय बेडको कोरोना आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो ।

आइसोलेसन वार्ड बनाउन महानगरले अक्सिजनको व्यवस्थापन र पाइपलाइनका लागि २५ लाख रुपैयामा बोलपत्र आब्हान गरेको छ । भवन बाहिरका केही संरचना परिवर्तन गर्न ८ लाख ५० हजार रुपैयाँको अर्को बोलपत्र प्रकाशित गरेको छ । वडा कार्यालयलाई अन्यत्र सारेर महानगरले जेठको दोश्रो हप्ताभित्र संचालन गर्ने गरी निर्माण कार्यलाई अघि बढाएको हो ।

साविक लेखनाथ नगरपालिकाको ३६ रोपनी क्षेत्रफलको उक्त जग्गामा महानगरले यसअघि महानगर अस्पताल र विशिष्टीकृत बाल अस्पताल बनाउने गरी निर्णय गरेको थियो ।

यसै  गरी नेपाली काँग्रेस कास्कीले पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउन दिने र एम्बुलेन्स संचालन सम्बन्धी निर्णय बारे जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी गराएको छ ।

सरकारलाई आवश्यक परेमा पोखरा ४ स्थित चिप्लेढुङ्गा र पोखरा ३० स्थित खुदीमा रहेको पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइसाेलेशन वार्ड बनाउन दिने बारेमा पार्टीले गरेको निर्णय जानकारी गराएको हो ।

कास्की काँग्रेसले संक्रमितलाई अस्पतालसम्म पुग्न कठिनाइ हुने गरेको र महंगो रकम तिर्नुपर्ने अवस्था रहेकाले पार्टीले जेठ १ गतेदेखि एम्बुलेन्स संचालन गर्ने निर्णय गरेको जानकारी गराउँदै प्रशासनसँग अनुमति पनि लिएको छ ।

नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट र प्रवक्ता नवीन सिग्देल मङ्गबार जिल्ला प्रशासन कार्यालय कास्की पुगेर कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई पार्टीको निर्णय जानकारी गराएका  थिए । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस को नयाँ भेरियण्टबाट सिंगो मानव समुदायमै गम्भीर संकट पैदा भइरेको मानवीय क्षति कल्पना भन्दा बाहिर गईरहेको परिप्रेक्षमा लेखनाथ उद्योग वाणिज्य संघले क्वारेन्टिन व्यवस्थापनको लागि जग्गा तथा भवन निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ ।

त्यसको असरको कारणले   दैनिक जसो करिब दश हजारको हाराहारीमा नयां सक्रमितहरु थपिदै गएको र सयौँको संख्यामा मानवीय क्षति भइरहेको छ । यसै बिच नेपाल सरकार, प्रदेश सरकार  र स्थानीय तहहरु बाट भाइरस नियन्त्रणको लागि  गरीएको  निषेधाज्ञालाई सहयोग पुर्याउनु हुन आम जनसमुदाय समक्ष अनुरोध गरेको छ ।  

माहामारीको कारण अक्सिजन समेत नपाई छट्पटिई रहेका बिरामीहरुलाई अक्सिजनको अभाब बाट हुन सक्ने क्षती लाई न्यूनिकरण गर्न आ—आफ्नो घर तथा उद्योग व्यवसायमा रहेका अक्सिजन सिलिन्डरहरु स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईदिनु हुन हार्दिक अपिल गर्दै , महामारी नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन आवश्यक परेको खण्डमा यस संघले संचालन गदै आएको महोत्सबस्थलमा स्वास्थ मापदण्ड पुरा गरी करिब २५ कोठा भएको कृषि उपज खरिद बिक्री केन्द्र खाली गराई क्वारेन्टाइन व्यवस्थापनको लागि जग्गा तथा भवन निःशुल्क रुपमा उपलब्ध गराउन सकिने संघले जनाएको छ ।

यसै गरी गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनले आफ्नो कार्यालय भवनमा १० बेडको आइसोलेसन तयार गरेको छ ।

पेट्रोलियम क्षेत्रमा क्रियाशिल मजदुर र तिनका परिवार वा अन्य त्यस्ता विपन्न वर्गका संक्रमितहरुलाई महानगरको स्वास्थ्य महाशाखासँग समन्वय गरेर राखिने बताइएको छ ।

कोरोना संक्रमण भएका विपन्न परिवार वा डेरामा बस्नेहरुलाई समस्या देखिएकाले उनिहरुको प्रयोजनका लागि आइसोलेसन तयार गरिएको एशोसियसनका अध्यक्ष राजन गोगंजुले जानकारी दिए ।

एशोसियसनको पोखरा महानगरपालिका १४ चाउथेमा रहेको भवनलाई आइसोलेसन सेन्टर बनाइएको हो । जटिल प्रकृतिका संक्रमितका लागि नभै कोभिड देखिएका तर घर वा डेरामा परिवार सहित बस्न नमिल्नेका लागि प्रयोग गर्ने गरी तयारी बनाइएको उनले बताए ।

कार्यालयमा अहिले १० बेड सहित १५ दिनलाई पुग्ने खाद्यान्न तथा प्रारंभिक मेडिसिन र माक्स, सेनिटाइजर, तातोपानीको व्यवस्था गरिएको छ । कार्यालयमै किचन र मनोरन्जनका सामाग्रीहरु समेत राखिएको अध्यक्ष गोगंजुले जानकारी दिए ।

पहिलो चरणमा १० बेड निर्माण गरिए पनि कार्यालयको क्षमता २० बेडसम्म राख्न सकिने गरिने विस्तार गरिएको समेत अध्यक्ष गोगंजुले बताए । संभव भए अक्सिजन सिलिण्डरको समेत व्यवस्था मिलाईने उनले उल्लेख गरे ।

गाउँ सहर संवाददाता

तपाईँको मत