गाउँ सहर

विवेकशील साझा पार्टीले कोभिड-१९ नियन्त्रणमा सघाउ पुर्‍याउन जारी गर्‍यो परिपत्र

कोभिड-१९ को दोस्रो लहरले निम्त्याएको असामान्य परिस्थितिका सन्दर्भमा विवेकशील साझा पार्टीले जारी परिपत्र यस्ताे छः

  1. मिति २०७७ वैशाख १२ गतेदेखि स्थिति सामान्य नभएसम्म विवेकशील साझा पार्टीका सबै तहगत समितिका भौतिक उपस्थितिमा २५ जना भन्दा धेरै सहभागी हुने कुनै पनि कार्यक्रम नगर्नरनगराउन यो सर्कुलर जारी गरिन्छ। साथै, नियमित अन्य पार्टीका गतिविधिहरुमा पनि प्रभावकारी रूपमा मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र बेला बेलामा मिचिमिची हात धुने लगायतका सबै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरिन्छ।
  2. पार्टीका पूर्व घोषित समारोहहरू र तहगत समितिका नियमित बैठकहरू भर्चुअल माध्यमबाट मात्र गर्नुपर्नेछ। मातहतका समिति र सदस्यहरूको स्वास्थ्य अवस्था लगायत स्थिति अद्यावधिक गरी समितिमा जानकारी गराउनुपर्नेछ।
  3. कोरोना सङ्क्रमित व्यक्ति वा व्यक्तिको परिवारप्रति समानूभुतिपूर्ण व्यवहार गर्दै पार्टीको स्रोत र क्षमताले सम्भव भएको सहयोग गर्नुपर्ने हरेक तहगत समिति र सदस्यको दायित्व हुनेछ।
  4. सबै आङ्गिक सङ्गठन तथा पार्टीका समितिहरूलाई जनचेतनामूलक कार्यक्रम संचालन गर्न, रक्तदान, निको भएका सङ्क्रमितको प्लाज्मा दान, एम्बुलेन्स लगायतका अत्यावश्यक वस्तुरसेवा प्रदानमा सहजीकरण गर्न स्वस् स्फूर्त नेतृत्व लिन निर्देश गरिन्छ। आफूसँग उपलब्ध भएका भवन, सवारी साधन, सञ्चार उपकरण वा कुनै पनि सामाग्री सरकारले आव्हान गरेमा वा स्थानीय स्तरमा आवश्यक परेमा उपलब्ध गराउन प्रोत्साहित गरिन्छ।
  5. आफ्नो नजिकका आइसोलेसन सेन्टर तथा क्वारेन्टाइनहरुमा आवश्यक स्रोत र व्यवस्थापनमा पार्टी सदस्यको रूपमा तथा जिम्मेवार नागरिकको रूपमा सतर्कतापूर्वक सहभागी हुन प्रोत्साहित गरिन्छ।
  6. पार्टीका तहगत समिति अथवा आङ्गिक सङ्गठनसँग उपलब्ध कोष एवं खुल्ला आव्हानबाट आर्थिक स्रोत जुटाई कोरोना विपत् भरि (कम्तीमा बन्दाबन्दी अवधिमा) आवश्यक परेका पार्टी सदस्य, सदस्यका परिवार र आम नागरिकलाई दैनिक खाद्यवस्तु, स्वास्थ्योपचार लगायत जीवनयापनका आधारभूत आवश्यकता परिपूर्ति गर्न मद्दत गर्न अनुरोध गरिन्छ।
  7. सहयोगापेक्षी, बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई घर-समाजमा सेवा प्रदान तथा स्वास्थ्य सुरक्षामा विशेष प्राथमिकता दिन विवेकशील नागरिकको रूपमा नेतृत्व लिन प्रोत्साहित गरिन्छ।
  8. हरेक सदस्यहरूलाई अनलाइन माध्यमबाट वा सबै स्वास्थ्य मापदण्ड अपनाएर तहगत समितिको क्षेत्राधिकारभित्रका सरकारी एवं सार्वजनिक अधिकारीहरू (खास गरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, मजदुर, सरसफाइकर्मी) लाई पार्टीका तर्फबाट आवश्यक सबै सहयोग गर्नका साथै सम्बन्धित सरकारी कार्यालय कार्यक्रमहरूको सूक्ष्म अवलोकन गर्दै आवश्यक परेमा ‘सूचनाको  हकु को प्रयोग गरी जबाफदेही बनाउन प्रोत्साहित गरिन्छ।
  9. सम्भावित बन्दाबन्दीको अवस्थामा पनि नागरिकलाई सहायता हुने अभियानहरू सञ्चालन गर्न तथा डिजिटल रूपमा पार्टीका गतिविधिहरू सामाजिक सञ्जालहरूमा सक्रियतापूर्वक शेयर गर्न सबै सदस्यहरूलाई प्रोत्साहित गरिन्छ।
  10. कोभिड-१९ नियन्त्रण तथा रोकथाम सम्बन्धमा नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्ड, नेपाल सरकार तथा सम्बन्धित मन्त्रालयले जारी गरेको निर्देशन तथा यो परिपत्र कडाइका साथ पालना गर्नु, गराउनु र सम्पूर्ण सदस्यहरू माझ सञ्चार गर्नु सबै तहगत समितिहरू, आङ्गिक सङ्गठनहरू र पार्टी सदस्यहरूको दायित्व हुनेछ।

सादर सहित,

दिपक उप्रेती

विवेकशील साझा पार्टी

गाउँ सहर संवाददाता

तपाईँको मत