अर्थतन्त्र

शववाहन खरिदका लागि ४० लाख सहयोग संकलन

लेखनाथ । नागरिक परोपकार समन्वय संस्था कास्कीले शववाहन खरिदका लागि सञ्चालन गरेको अर्थ संकलन अभियान अन्तर्गत ४० लाख रुपैंया संकलन भएको छ । अभियान अन्तर्गत पोखरा २६ को बुढिबजारमा आयोजित ११ औं श्रृङखलाको कार्यक्रममा करिब २ लाख रुपैंया थप संकलन भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कास्कीका संयोजक बैन बहादुर अधिकारी क्षेत्रीले मानिसलाई बाँचुञ्जेल जीवनका विभिन्न कालखण्डमा सम्मान गरेजस्तै मृत्यूपछि पनि सम्मानजनक अन्त्येष्टि गर्न तन मन र धनले सहयोग गर्न अनुरोध गरेका थिए ।

यसैगरि पोखरा २६ का वडाअध्यक्ष नारायण प्रसाद बरालले भौतिक विकासमात्र विकास नभई मानव संसाधनको विकास पनि विकासको अभिन्न अंग भएको बताउँदै मानिसलाई कसरी बचाउन सकिन्छ र मृत्यूपर्यन्त पनि कसरी परम्परा संस्कार अनुसार लैजान सकिन्छ भन्नेतिर जानु पनि एक प्रकारको विकास भएको बताएका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष जानुका अधिकारी, लायन्स क्लवको तर्फबाट शैलेन्द्र मोहन भटराई लगायतले अभियानमा सवैको साथ र सहयोग चाहिनेमा जोड दिएका थिए ।

अभियान मार्फत १ करोड रुपैयाँ संकलन गर्ने संस्थाको लक्ष्य रहेको संस्थाका अध्यक्ष राजेन्द्र ओझाले बताए ।  उक्त रकम मध्ये ४० लाख शववाहन गरिद गर्न खर्च गरिने र ६० लाख शववाहन सञ्चालनका लागि कोषको स्थापना गरिने ओझाले जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत