खेल

नेपाललाई जितका लागि वेस्ट इन्डिज ‘ए’ काे विशाल लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ ले जारी टि २० सिरिजको तेस्रो खेलमा नेपाल सामू विशाल लक्ष्य पेश गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिजले  ओपनर जोनसन चार्ल्सको शतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो ।

चार्ल्सले अविजित रहँदै ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गर्दै ११९ रन बनाए । १७औ ओभरको पाचौँ बलमा एक रन लिँदै उनले शतक पुरा गरेका थिए । दोस्रो विकेटका लागि उनले आन्द्रे फ्लेचरसँग मिलेर १४५ रनको विशाल साझेदारी समेत गरेका थिए । 

ओपनर एलिक अथान्जेको विकेट सस्तैमा लिएको नेपालले दोस्रो विकेटका लागि चौथो ओभरको पहिलो बलमा नेपालले पहिलो सफलता पाएको थियो । एक रन लिने क्रममा जोनसन चार्ल्सले नन-स्ट्राइकर एन्डमा फर्काइदिएपछि अथान्जे १० बलमा १७ रन बनाएर रनआउट भए । तर त्यसपछि चार्ल्स र आन्द्रे फ्लेचर मिलेर विशाल साझेदारी गरेसँगै वेस्ट इन्डिज विशाल योगफल तर्फ अग्रसर भएको थियो ।

सो साझेदारी १६औ ओभरमा सागर ढकालले फ्लेचरको विकेट लिएर तोडेका थिए । फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्का सहित ५३ रन बनाएर दीपेन्द्र सिंह ऐरीद्वारा लङ-अनमा क्याच आउट भएका थिए ।   

चौथो नम्बरमा क्रिजमा पुगेका फाबिएन एलेन ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन बनाएर करण केसीको बलमा दीपेन्द्रद्वारा नै क्याच आउट भए । किमो पल ७ बलमा १३ रन बनाएर नटआउट रहे । 

नेपालका लागि करण केसी र सागर ढकालले एक–एक विकेट लिए । नेपालले ६ वटा बलरको प्रयोग गरेको थियो । गुलशन झाले ४ ओभरमा २४ रन दिनुबाहेक अन्य बलर महँगो सावित  हुन पुगे । करणले ४ ओभरमा ५४ रन खर्चिए भने कमल सिंह ऐरीले ४ ओभरनै बलिङ गर्दै ५३ रन दिए । 

यस्तै सागर ढकालले ४ ओभरमा ४१ रन दिए । विवेक यादव र कुशल मल्लले समान दुई-दुई ओभरमा क्रमस: २८ र २६ रन खर्चिए ।      

नेपालले आज टोलीमा ४ परिवर्तन गरेको छ । कप्तान रोहित सँगै कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्द पनि बेन्चमा छन् । करण केसी, विवेक यादव, विनोद भण्डारी र कमल सिंह ऐरी टिममा आएका छन् ।

वेस्ट इन्डिजले पेस बलर ओसेन थोमस बाहिर राख्दै अलराउन्डर फाबियन एलनलाई पहिलो पटक टोलीमा राखेको छ ।

सिरिज हाल १-१ को बराबरीमा छ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो ।

दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् ।

नेपाली टोली :

अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल मल्ल, गुलशन झा, करण केसी, विवेक यादव, कमल सिंह ऐरी, लोकेश बम, सागर ढकाल, विनोद भण्डारी

गाउँ सहर संवाददाता

तपाईँको मत