अर्थतन्त्र

नेपाली अर्थतन्त्र खस्कँदै, २ खर्बको क्षति

काठमाडौं । कोरोना भाइरस महामारीका कारण नेपाली अर्थतन्त्र खस्कँदै गएको छ । नेपाली अर्थतन्त्रमा १ खर्ब ९८ अर्ब १८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । राष्ट्रिय योजना आयोगले गरेको महामारीको प्रभाव सम्बन्धी अध्ययनले प्रारम्भिक अनुमानले यस्तो देखाएको हो । 

आयोगले चैतदेखि असारसम्म गरेको अध्ययन प्रतिवेदनले सबैभन्दा बढी प्रभाव उत्पादनमूलक उद्योगमा परेको देखाएको छ भने सेवामूलक उद्योग समेत प्रभावित छन् । अर्थतन्त्रको हरेक क्षेत्रमा असर परेको राष्ट्रिय योजना आयोग सदस्य डा. रामकुमार फुयालले बताएका छन् । 

अर्थतन्त्रको दोस्रो क्षेत्र (निर्माण, उद्योग र विद्युत, ग्याँस तथा पानी) लगाएतमा असर परेको छ । आयोगले महामारी कारण भएको क्षति कुल गार्हस्थ्य उत्पादन( जीडीपी) मा पुग्न सक्ने क्षतिको आधारलाई अनुमानित गरेको छ । 

महामारीका कारण कृषि क्षेत्रभन्दा गैरकृषि क्षेत्रमा धेरै असर देखिएको छ । गैर–कृषि क्षेत्रमा १ खर्ब ५५ अर्ब ९७ करोडले ह्रास आउँदा कृषि क्षेत्रको मूल्य अभिवृद्धि ९ अर्ब ६४ करोडले प्रभावित बनेको छ । चैतदेखि असारसम्म गरिएको अध्ययनले महामारीअघिको जीडीपीको  उत्पादकमूल्यमा ३९ खर्ब ४ अर्बबाट असारसम्ममा ३७ खर्ब ६ अर्बमा झरेको देखाएको आयोगले जनाएको छ । महमारीले कृषि क्षेत्रमा कुल १९ अर्ब क्षति पुगेको छ । तरकारी, दूध, पुष्प, कुखुरा, मासु, अण्डा, माछासहितको क्षेत्रमा गरिएको अध्ययनले  शत प्रतिशतसम्म असर परेको अध्ययनले देखाएको छ । 

बजार अभाव तथा अन्य समस्याका कारण कुखुराको मासुमा सबैभन्दा बढी ६ अर्ब ७५ करोड क्षति भएको अध्ययनले देखाएको छ । त्यस्तै दूधमा २ खर्ब ७० करोड, तरकारी बालीमा २ अर्ब ३९ करोड, अण्डामा १ अर्ब ३५ करोडको क्षति भएको देखिन्छ । चिया, अन्य मासु, पशुपंक्षीको दाना तथा कच्चा पदार्थ, पशुपक्षीको औषधि, पशुपक्षिको खोप, माछामा १८ अर्ब ९० करोड बराबरको क्षति पुगेको अध्ययनले देखाएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत