गाउँ सहर

विश्वका ३०० नगरको सञ्जालमा कागेश्वरी मनोहरा, ब्लुमबर्गको युथ क्लाइमेट एक्सन फण्डमा छनोट

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका ब्लुमबर्ग फिलान्थ्रोपिजद्वारा सञ्चालित प्रतिष्ठित युथ क्लाइमेट एक्सन फण्ड (Youth Climate Action Fund–YCAF) को नयाँ विश्वव्यापी समूहमा छनोट भएको छ। विश्वभरका सयौं नगरपालिकामध्ये छनोट भएसँगै कागेश्वरी मनोहराले अन्तर्राष्ट्रिय स्तरमा दिगो विकास, वातावरण संरक्षण र युवा सहभागिताप्रतिको आफ्नो प्रतिबद्धता स्थापित गरेको नगरपालिकाले जनाएको छ।

यस कार्यक्रममार्फत कागेश्वरी मनोहरा नगरपालिका विश्वका ३०० नगरहरूको अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध भएको छ। कार्यक्रमले स्थानीय सरकार र युवाबीचको सहकार्यलाई सुदृढ गर्दै जलवायु परिवर्तनका चुनौतीहरूको स्थानीय स्तरमै समाधान खोज्ने लक्ष्य लिएको छ।

कार्यक्रमको औपचारिक सुरुवातका लागि आयोजित Youth Climate Action Fund Mayoral Kickoff भर्चुअल कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्कीले सहभागिता जनाएका थिए। कार्यक्रममा विभिन्न देशका छनोट भएका नगर प्रमुखहरूले कार्यक्रम कार्यान्वयन, अनुभव आदानप्रदान तथा आगामी योजनाबारे छलफल गरेका थिए।

नगर प्रमुख कार्कीले विश्वव्यापी कार्यक्रममा कागेश्वरी मनोहरा छनोट हुनु नगरपालिकाको दिगो विकास, वातावरण संरक्षण तथा युवामैत्री नीतिप्रतिको प्रतिबद्धताको सम्मान भएको बताउँदै यसले स्थानीय युवाहरूलाई जलवायु परिवर्तनका चुनौती समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि नगरपालिकाको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाकी प्रमुख अस्मिता गजुरेललाई ‘सिटी लिड (City Lead)’ तोकिएको छ। उनले ब्लुमबर्ग फिलान्थ्रोपिज, साझेदार संस्था तथा सम्बन्धित निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन, युवा समूहको सहभागिता सुनिश्चित गर्ने, साना अनुदान वितरण प्रक्रिया सहजीकरण, अनुगमन, प्रतिवेदन तयारी तथा समग्र समन्वयको जिम्मेवारी सम्हाल्नेछन् ।

नगरपालिकाका अनुसार आगामी चरणमा युवाहरूबाट प्रस्तावित जलवायुमैत्री तथा नवप्रवर्तनात्मक परियोजनालाई साना अनुदान (Small Grants) मार्फत सहयोग गरिनेछ। साथै वातावरण संरक्षण, फोहोर व्यवस्थापन, हरित पूर्वाधार विकास, वृक्षारोपण, जलवायु अनुकूलन तथा नगरपालिकाका जलवायु प्राथमिकतासँग सम्बन्धित कार्यक्रमहरू युवा सहभागितामा सञ्चालन गरिनेछ।

नगरपालिकाले यस उपलब्धिले अन्तर्राष्ट्रिय सम्बन्धलाई थप मजबुत बनाउनुका साथै स्थानीय तहमा युवा नेतृत्वमार्फत जलवायु परिवर्तनका चुनौतीहरूको समाधान खोज्ने अभियानलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरेको छ।

युथ क्लाइमेट एक्सन फण्ड विश्वभरका १५ देखि २४ वर्ष उमेर समूहका युवाहरूलाई स्थानीय सरकारमार्फत आर्थिक सहयोग, प्राविधिक मार्गदर्शन तथा अन्तर्राष्ट्रिय सञ्जालसँग जोडेर जलवायु परिवर्तनसम्बन्धी स्थानीय कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गर्ने विश्वव्यापी पहल हो।

गाउँ सहर संवाददाता

तपाईँको मत