राजनीति

सकियो रास्वपाको पहिलो महाधिवेशन, यी हुन् निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य

काठमाडाैं । नयाँ नेतृत्व र नीति तय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को पहिलो महाधिवेशन सकिएको छ । 

चितवनको भरतपुरमा गत आइतबारदेखि सुरु भएकाे  महाधिवेशन शुक्रबार पदाधिकारी चयन गर्दै सकिएको हो । 

सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। उपसभापति महिलातर्फ सोबिता गौतम विजयी भएकी छन्। उनले ७८९ मत ल्याएकी छन्।

महामन्त्री पदमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। उनले ६७३ मत ल्याएका छन्। त्यस्तै, सह-महामन्त्री खुलातर्फको निर्वाचनमा असिम शाह र हरि ढकाल विजयी भएका छन्। शाहले ४७१ र ढकालले ४१० मत प्राप्त गरेका छन्।

सह-महामन्त्री (महिला) तर्फ निशा डाँगी विजयी भएकी छन्। उनले ७३७ मत प्राप्त गरेकी छन्।

नवनिर्वाचित पदाधिकारीको शुक्रबार नै शपथ ग्रहण भएको छ । महाधिवेशन अन्तर्गत पहिलो चरणमा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अब सभापति रवि लामिछानेले वरिष्ठ नेता १,उपसभापति १, महामन्त्री १, प्रवक्ता १, सह प्रवक्ता ३, कोषाध्यक्ष १ र सह कोषाध्यक्ष २ गरी १२ जना पदाधिकारी मनोनीत गर्नेछन् ।  

त्यस्तै ५१ जना केन्द्रीय सदस्य पनि सभापति लामिछानेले मनोनयन गर्नेछन् । रास्वपाको विधान अनुसार १५१ सदस्यीय केन्द्रीय समिति हुनेछ । त्यसबाहेकक सात प्रदेशका सभापति पदेन सदस्य रहनेछन् । 

पार्टी गठन गरेको चार वर्षमा पहिलो महाधिवेशन सम्पन्न गरेर रास्वपाले नयाँ नेतृत्व र नीति तय मात्र गरेको छैन, संस्थागत मान्यता समेत पाएको छ । 

छोटो अवधिमा असीमित सफलता र जनसमर्थन पाएको रास्वपालाई अव पार्टीलाई लोकतान्त्रिक मूल्य, मान्यता र विधि  पद्धतिमा हिँडाउने चुनौती थपिएको छ । अरूलाई प्रश्न र खबरदारी गर्दै उदाएको यो पार्टी अव जवाफ दिने ठाउँमा पुगेको मात्र छैन, जनताका आम अपेक्षा सम्बोधन गर्ने जिम्मेवारी समेत पुरा गर्नुपर्ने अवस्थामा पुगेको छ ।

खुला तथा समावेशी समूहबाट निर्वाचित केन्द्रीय सदस्यहरू
राष्ट्रिय खुला समूहबाट ३२ जना सदस्यहरू निर्वाचित भएका छन्। जसमा डा. स्वर्णिम वाग्ले, सोविता गौतम, शिशिर खनाल, सागर ढकाल, डा. तोसिमा कार्की, रञ्जु दर्शना, मनिष झा, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, विपिन कुमार आचार्य, रमेश प्रसाईं, विराज भक्त श्रेष्ठ, निशा डाँगी, इन्दिरा राना मगर, गणेश पराजुली, पुकार बम, जगदीश खरेल (ललितपुर), सुलभ खरेल, यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने, अस्मित पोखरेल, रिमा विश्वकर्मा, राजुनाथ पाण्डे, राजीव खत्री, समीक्षा बास्कोटा, गणेश कार्की, खगेन्द्र सुनार, असिम साह, हिमेश पन्त, जगदीश खरेल (दोलखा), गीता चौधरी र लिमा अधिकारी आचार्य रहेका छन्।

समावेशी समूहअन्तर्गत खस/आर्य कोटाबाट १० जना निर्वाचित भएका छन्। निर्वाचित हुनेहरूमा सुशान्त वैदिक, सुदीप ढकाल, हेमराज भट्ट, प्रदीप विष्ट, डिल्लिश्वर कार्की 'रोहन', प्रकृति ढकाल, टिका संग्रौला 'ज्वाला', क्रान्तिशिखा धिताल, जमुना शर्मा र सुशिला कार्की पोख्रेल छन्।

आदिवासी/जनजाति समूहबाट ९ जना निर्वाचित भएका छन्। जसमा मिलन लिम्बु, शंकर श्रेष्ठ, मिङ्मा डण्डु शेर्पा, महेश लामा, कृष्णमान श्रेष्ठ, आशिका तामाङ, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ र कुसुम महर्जन रहेका छन्।

गाउँ सहर संवाददाता

तपाईँको मत